पथरी, मोरङ– मोरङ भाउन्नेका १० वर्षका दिवस पुरीलाई पनि शनिबार कहिले आउलाजस्तो लाग्छ । शनिबार उनी आमासँग निगुरो खोज्न जान्छन् र चारवटा शनिबार जम्मा गरेको पैसाले बोर्डिङको शुल्क तिर्छन् ।


ADVERTISEMENT


पुरी मात्रै हैन उमेरले डाँडो काटेकाहरु पनि निगुरो टिपेर खाद्यान्न जोहो गर्दै आएका छन् । ६८ वर्षीया फुलमाया धिमाल विगत चार दशकदेखि निगुरोबाट नै जीवन धानिरहेकी छन्। महेन्द्र राजमार्गको मोरङ खण्डमा पर्ने कानेपोखरीदेखि बेतना सिमसार आसपासको जङ्गलमा पाइने जङ्गली साग निगुरोले उनीहरुको दैनिक घरखर्च र नौ महिनाका लागि खाद्यान्नको जोहो निगुरोकै कारणले हुने भएकाले १० वर्षीय पुरी एकाबिहानै निगुरो खेज्न जङ्गलतिर हानिएका हुन् ।


ADVERTISEMENT

# # #


पहिले पहिले निगुरो खोजेर गाउँगाउँमा डुलेर बेच्थे उनी । तर अहिले जति निगुरो टिपे पनि ठेकेदारले किनेर लान्छन्, उत्साही हुँदै जीउ, अनुहार चाउरी परिसकेकी फुलमायाले भनिन् ।

त्यस्तै, मोरङ भाउन्नेका ७० वर्षीय मङ्गलसिंह तामाङ र उनकी जीवन सङ्गीनी सोममायाको दिनचर्या अचेल निगुरो टिप्नमा नै बित्ने गरेको छ । महेन्द्र राजमार्गको भाउन्ने–लक्ष्मीमार्ग सडकखण्डमा सङ्कलन भएको निगुरो विराटनगर, धरान र विर्तामोडसम्म पुग्ने गरेको छ । ठेकदार कुमार राना भन्छन् “मागअनुसार आपूर्ति गर्न सकेका छैनौँ । अघिल्ला वर्ष काठमाडौँ, पोखरासमेत जाने निगुरो हाल कम सङ्कलन भएकै कारण उता पठाउन सकेका छैनौँ ।”

यहाँ सङ्कलन भएको यतै खपत हुने रानाको भनाइ छ । महेन्द्र राजमार्गको मोरङ खण्डमा पर्ने कानेपोखरीदेखि बेतना सिमसार आसपासको जङ्गलमा पाइने जङ्गली साग निगुरोले झण्डै ४५० परिवारको दैनिक घरखर्च मात्र चलेको छैन, आठ÷नौ महिनाका लागि खाद्यान्नको जोहो पनि निगुरोको कै आम्दानीले गरिदिएको छ ।

सो क्षेत्रबाट दैनिक रु ८० हजारको निगुरोको व्यापार हुने गरेको थोक बिक्रेता बताउँछन् । सामान्यतया महिला र पाकाले दैनिक १०० मुट्ठा र बालबालिकाले ५० मुट्ठा निगुरो खोज्छन् र ठेकेदारलाई रु १०÷१५ का दरले बिक्री गर्छन् । त्यही निगुरो ठेकेदारले मुट्ठा फुटाएर चार मुट्ठालाई पाँच मुट्ठा बनाउँछन् अनि प्रतिमुट्ठा २० का दरले बेच्छन् ।

श्रीमानले कान्छी ल्याएपछि जीवनबाट निराश हुनुभएकी डाँगीहाट–४ मोरङकी ४८ वर्षीय पद्मामाया गुरुङ निगुरोको सहारामा जीवन धानिरहेकी छन् । पद्मामाया भन्छिन्, “दैनिक ५०÷६० मुट्ठा निगुरो खोज्छु । १० देखि २० रुपैयाँ मुट्ठाले बिक्री हुन्छ । दालभातका लागि भौँतारिएर हिँड्नु परेको छैन ।” १४ वर्षीय छोरा देवराज गुरुङले आमा पद्मामायालाई भरपुर सहयोग गरेका छन् ।गोपालप्रसाद पोखरेल रासस
–––––