एजेन्सी – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग (आइपीएल) ले आफ्नो जीवन नै परिवर्तन गरेको बताएका छन् । दिल्ली क्यापिटल्समा आवद्ध सन्दीपले आइपीएल खेलेदेखि आफूले पछाडी फर्केर हेर्नु नपरेको बताएका हुन् ।


ADVERTISEMENT


शनिबार राती किंस-११ पञ्जावविरुद्धको जितपछि पत्रकार सम्मेलनमा कुरा गर्दै १८ वर्षीय सन्दीपले आफूलाई यस स्थानमा ल्याउन मदत पुर्याएकोमा नेपाल क्रिकेटलाई समेत धन्यवाद दिए । आइपीएलले धेरै कुरा सिकाएको उनले बताए ।


ADVERTISEMENT

# # #


‘म नेपाल क्रिकेटलाई धेरै धन्यवाद दिन चाहन्छु । त्यहाँ मैँले केही वर्षदेखि राम्रो गरिरहेको छु । त्यसै कारणले दिल्लीको टिमले मलाई आइपीएलका लागि स्थान दिएको हो ।’ उनले भने, ‘त्यहीँबाट मेरो जीवन पूर्ण रुपमा परिवर्तन भयो । किनभने मैँले दिल्लीका लागि गत वर्ष तीन खेल खेल्ने मौका पाएको थिएँ र राम्रो पनि गरेको थिएँ । त्यसपछि मैँले आजसम्मको यात्रामा पछि फर्केर हेर्नुपरेको छैन ।’

यस्तै उनले गत वर्षको भन्दा यो वर्ष बढी खेल खेलेर आगामी वर्ष सबै खेलमा आफू पर्ने अपेक्षा गरे । ‘गत वर्ष मैँले दिल्लीका लागि तीन खेल मात्रै खेलेको थिएँ । तर यो वर्ष ७–८ खेल खेल्नेमा ढुक्क छु ।’ सन्दीपले भने, ‘यसरी खेल्दै गएमा मेरो खेल अझ सुध्रिन्छ । त्यसकारण म आशा गर्छु, अर्को वर्ष सबै १४ खेल खेल्नेछु ।

नेपाली क्रिकेटको पछिल्लो सफलताका सहयात्री बनेका सन्दीप अहिले विश्व फ्रेन्चाइज क्रिकेटका एक महत्वपूर्ण हिस्सा बनेका छन् । गएको एक वर्षमै उनले विश्वभरिका टी-२० लिगहरु खेलेर आफ्नो छाप छाडिसकेका छन् ।

पञ्जावविरुद्धको जितपछि बोल्दै दिल्ली क्यापिटल्सका कप्तान श्रेयस ऐयरले सन्दीप एकदमै आत्मविश्वासी भएको बताए । ‘उनी एकदमै आत्मविश्वासी छन् । गत वर्ष पनि जब उनी रन खर्चिन्थे, त्यसपछि उत्कृष्ट लयमा फर्किन्थे,’ सन्दीपको प्रशंसा गर्दै कप्तान ऐयरले भने, ‘पक्कै पनि सिनियर स्पिनर अमित मिश्राले उनलाई सहयोग गरिरहेका छन् । आफ्ना थुप्रै अनुभवहरु उनी सन्दीपसंग बाँडिरहेका हुन्छन् । तर, सन्दीप एकदमै निडर र  सकारात्मक छन् ।’

शनिबार पञ्जावविरुद्ध जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका सन्दीपले टी–२० क्रिकेटका ‘हार्ड हिटर’ मानिने क्रिस गेल, लोकेश राहुल र साम करनको विकेट लिँदै दिल्लीलाई खेलमा फर्काएका थिए ।

पञ्जाबविरुद्ध सन्दीपको पहिलो विकेट लोकश राहुलको थियो । पहिलो बलमा सन्दीपलाई छक्का हानेका उनले दोस्रो बल डट खेल्दै तेस्रोमा चौका हाने । तर सन्दीप हतारिएनन् । लगत्तै चौथो बलमा लोकेशलाई विकेटकिपर रिसभ पन्तबाट स्टम्पिङ गराएर उत्कृष्ट पनरागमन गरे ।

सन्दीपको दोस्रो ओभर भने निकं महंगो साबित भयो । उनलाई ‘युनिभर्स बोस’ को उपमाबाट परिचित वेष्ट इण्डिजका क्रिश गेलले उक्त ओभरमा चार चौका हिर्काए । त्यसपछि तेस्रो ओभरको पहिलो बलमा नै सन्दीपलाई छक्का प्रहार गरेर हाबी हुने प्रयास गरेका थिए । तर, सन्दीपको पुनरागमन अघि टिक्न सकेनन् । सन्दीपले दोस्रो बलमा नै कोलिन इन्ग्रामको हातबाट उत्कृष्ट क्याच दिलाएर गेललाई मैदान बाहिर पठाए । त्यही ओभरमा उनले साम करनलाई समेत शून्य रनमा ‘कट एण्ड बोल्ड’ गर्दै तीन विकेट हासिल गरे ।

गेल र राहुलको विष्फोटक ओपिनिङ जोडीलाई पेवेलियनको बाटो देखाएपछि दिल्ली खेलमा फर्किएको थियो । सन्दीप खेलमा स्टाइलिस्ट प्लेयर अफ दि म्याच चुनिएर भारु एक लाख रुपैयाँ प्राप्त गरे ।