काठमाडौं – इन्डियन प्रिमियर लिग क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले एक रनको रोमान्चक जित हात पारेको छ । आइतबार राति भएको खेलमा बैंग्लोरले चेन्नइ सुपरकिंग्सलाई १ रनले हराएको हो ।


ADVERTISEMENT


चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६१ रन बनाएको थियो । १६२ रनको लक्ष्य पछ्याएको चेन्नइले ८ विकेटको क्षतिमा १६० रन बनाउन सक्यो । यस जितबाट २ अंक थपेको बैंग्लोरले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ ।


ADVERTISEMENT

# # #


बैंग्लोरलाई हराउनका लागि चेन्नईलाई अन्तिम ओभरमा २६ रन बनाउनुपर्ने थियो । महेन्द्रसिंह धोनी र शार्दुल ठाकुर क्रिजमा थिए । उमेश यादव बलिङमा थिए । पाँच बलसम्म धोनी २४ रन बनाउन सफल पनि भए । तर अन्तिम बलमा शार्दुल ठाकुर रनआउट भएपछि चेन्नाईले बैंग्लोरलाई नतिजा सुम्पिन बाध्य भयो ।

धोनी ८४ रनमा अविजित रहे । उनले ३५ बलमा अर्धशतक पूरा गरे । आईपीएलको जारी सिजनमा यो उनको तेस्रो अर्धशतक हो । बैंग्लोरको तर्फबाट डेल स्टेनले २९ र उमेश यादवले ४७ रन दिएर २(२ विकेट लिए । नवदीप सेनी र युजवेन्द्र चहलले एकएक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरका लागि पार्थिव पटेलले ५३ रन बनाएका थिए । उनले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । जारी सिजनमा यो उनको दोस्रो अर्धशतक हो । उनी म्यान अफ दि म्याच पनि चुनिए ।

दीपक चहरले २५, रविन्द्र जडेजाले २९ र ड्वेन ब्राभोले ३४ रन दिएर २/२ विकेट लिए । इमरान ताहिरले एक विकेट लिए । आइतबार नै भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले कोलकाता नाइटराइडर्सलाई ९ विकेटले हराएको छ ।