काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन कार्गोकी प्रोपाइटर मधुकुमारी चौधरी र उनका पति भारतीय नागरिक विनोदकुमार गुप्तासहित ३ जना विरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ ।


ADVERTISEMENT


कम्पनीले १० वर्षदेखि कर छली गरेर प्राप्त गरेको रकम आफ्नो र कर्मचारीको खातामा जम्मा गरेको, घर जग्गा र अन्य कम्पनीमा लगानी गरेको देखिएको भन्दै विभागले मधुकुमारी चौधरी र उनका श्रीमान विनोदविरुद्ध २२ करोड ९५ लाख ४९ हजार २ सय रुपैयाँ विगो दावी गरी विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको कसूरमा अभियोगपत्र दायर गरेको हो । विभागले उनीहरु दुबै जनालाई जनही २ वर्ष कैद गर्न पनि माग गरेको छ ।


ADVERTISEMENT

# # #


राजस्व चुहावट गरी गैरकानूनी आर्जनमा सहयोग गरेको अभियोगमा विभागले भारतीय नागरिक विरेन्द्र महतोविरुद्ध पनि २२ करोड ९५ लाख ४९ हजार २ सय विगो कायम गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ । उनलाई पनि दुई वर्ष कैद सजाय गर्न माग दावी गरिएको छ । विभागले गैरकानूनी आर्जनबाट बढे बढाएको सबै सम्पत्ति जफत गर्न पनि माग गरेको छ ।

हिमालय कार्गोले तिर्नुपर्ने २०६५/६६ देखि २०७४/७५ सम्म्मको राजस्व चुहावट गरी उनीहरुले गैरकानूनी रकम आर्जन गरेर अन्य व्यवसायमा लगानी र बैंकमा वचत गरेका थिए । कार्गोका सञ्चालकले मधुकुमारी र उनका पतिले भारतीय नागरिक विरेन्द्र महतोसमेतको मिलेमतोमा २३ करोड ९५ लाख ६८ हजार १ सय ३१ रुपैयाँ गैरकानूनी आम्दानी गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ ।

त्यो रकममध्ये आफू र आफ्नो फर्मका कर्मचारीको नाममा बैंकमा १० करोड १० लाख २० हजार ९ सय ४१ लुकाइ राखेका थिए । त्यस्तै २०६५ सालपछि काठमाडौं र भक्तपुरका विभिन्न डाउँमा घर जग्गामा ८ करोड ३० लाख ३० हजार ८ सय, मधुकुमारी एकल सञ्चालक रहेको मंगला रियलस्टेटमा २ करोड, एप्पल पोलिमर्स प्रालिमा २ करोड ५० लाख लगानी गरेको देखिएको विभागको अनुसन्धानबाट देखिएको छ ।

त्यस्तै मधुकुमारी चौधरीको विभिन्न बैंक तथा वित्तीय संस्थाको सेयरमा ४ लाख ९७ हजार ४ सय ५९ रुपैयाँ लगानी गरेको सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानबाट देखिएको छ ।

त्यस्तै विभागले मधुकुमारीको नाममा रहेको हिमालयन कार्गोलाई पनि कसूरको गाम्भीर्य हेरी दर्ता खारेजसम्मको कारबाही गर्न पनि माग गरेको छ ।