काठमाडौँ– आईसीसी अण्डर १९ वल्र्डकप क्रिकेटको एसियाली छनौटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । आज चीर प्रतिद्धन्दी मलेसियालाई ५ विकेटले हराउँदै नेपालले विश्वकप छनौटको संभावना बलियो बनाएको हो ।


ADVERTISEMENT


मलेसियाले प्रस्तुत गरेको ५९ रनको सामान्य चुनौती नेपालले ९ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा आसिफ सेखले २३ रनको योगदान गरे । प्रनित थापा मगरले नटआउट १८ रन बनाए । रोहित पौडेलले चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए ।


ADVERTISEMENT

# # #


मलेसियाबिरुद्ध पनि अघिल्ला क्रमका ब्याट्सम्यान भने चल्न सकेनन् । ओपनर सन्दिप सुनार ६, आदिल खान ५ र दिपेन्द्रसिंह ऐरी ४ रनमा आउट भए । अनिल शाहले खातै खोल्न सकेनन् । मलेसियाका साफिजुद्धिनले नेपालको ३ विकेट लिए । यसअघि कप्तान संदिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ५ विकेट चट्काएपछि मलेसिया २५ दशमलव ५ ओभरमा ५८ रनमा समेटिएको थियो ।

सिंगापुर क्रिकेट क्लबको मैदानमा टस जितेको नेपालले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको मलेसिया नेपाली बलर सामु निरीह बन्यो । नेपाली बलरको घातक बलिङ सामु उसका कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । ८ दशमलव ५ ओभर बलिङ गरेका लामिछानेले आफ्नो स्पेलमा १ मेडन राख्दै १७ रन खर्चेर महत्वपुर्ण ५ विकेट हात पारे ।

पवन सर्राफले ३ तथा सन्दिप सुनार र किशोर महतोले समान एक–एक विकेट हात पारे । नेपालले आफ्नो तेस्रो खेलमा पर्सि अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।