– रञ्जित तामाङ, अध्यक्ष, अखिल क्रान्तिकारी


ADVERTISEMENT


नेकपाले पार्टीका जिल्ला अध्यक्ष र सचिवहरुको एकता टुंगाएको छ । विद्यार्थी संगठनको एकता प्रक्रिया चाहिँ कहाँ पुग्यो ?


ADVERTISEMENT

# # #


हामी अनेरास्ववियु र अखिल क्रान्तिकारीको एकता प्रक्रियालाई अन्तिम रुप दिने तयारीमा छौँ । पार्टीले निर्माण गरेको कार्यदल अनुसार संगठनको नाम, संगठनको संख्या, राजनीतिक र शैक्षिक प्रतिवेदन तयार गरेर पार्टीलाई बुझाइसकेका छौँ । पार्टीको अब बस्ने बैठकले जनवर्गीय संगठनहरुको अन्तिम निर्णय दिने भएको हुनाले हामी एकताको अन्तिम तयारीमा बसेका छौँ । त्यसका अलवा नियमित शैक्षिक गतिविधिहरुमा, समाजमा देखा परेका र राष्ट्रको ज्वलन्त विषयमा हामी आफ्नो धारणा राख्ने, खबरदारी गर्ने, प्रश्न गर्ने र दबाब दिने लगायतका कामहरु गरिरहेका छौँ ।

कसरी टुंगिन्छ एकता ?

एकता एउटा विधिबाट नै टुंगिन्छ । किनभने पार्टी एकताको टुंगो लगाउँदा पनि एउटा निश्चित विधिबाट टुंगो लगाइयो । विगतमा तत्कालीन नेकपा एमालेको सोपानक्रमको नेतृत्व र तत्कालीन माओवादीको सोपानक्रमको नेतृत्वको बीचमा नीतिगत समझदारी गरी एकता हुनुभन्दापूर्व जुन अवस्थाको पार्टी थियो, त्यही तप्काका पार्टी र नेतृत्वलाई पहिलो र दोस्रो नेतृत्वको रुपमा अगाडी बढाउने र ६ महिनादेखि एक वर्षभित्रमा अधिवेशन गर्ने भनेर पार्टीले एउटा नीतिगत निर्णय गरेको थियो । जनवर्गीय संगठनमा पनि यही नीति र यही विधि ‘कपी पेस्ट’ हुन्छ भन्ने हामीले बुझेका छौँ । त्यसले गर्दा अहिले भएका अध्यक्षहरुबाट नै एकताको अधिवेशन नगर्दासम्म नेतृत्वको रुपमा रहने सम्भावना मैँले बढी देखेको छु ।

त्यो भनेको पार्टीको जस्तै दुईजना अध्यक्ष ?

होइन, दुईजना मध्येबाट सिनियर जो छ, ऊ अध्यक्ष र अर्को सहअध्यक्ष बन्ने हुनसक्छ । मलाई लाग्छ, अनेरास्ववियु क्रान्तिकारी तत्कालीन माओवादीको एकमात्र निर्वाचित संगठन हो । हामीले संगठनको नाममा पनि अनेरास्ववियु भन्ने राख्दैछौँ । त्यसकारण नामपनि अनेरास्ववियु नै राख्ने र नेतृत्व पनि पूरानै अनेरास्ववियुलाई दिने भन्ने कुराले एकताको भावनालाई समेट्न सक्दैन । त्यसकारण यसको स्वभाविक रुपले साटासाट हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । मेरो नेतृत्वको कमिटी लोकतान्त्रिक विधि र पद्धती अनुसार नै आएको हो र यसको कार्यवधि पनि बाँकी छ । यस अर्थमा प्राकृतिक नियमको सिद्धान्त भनेजस्तै नेतृत्व स्वभाविक रुपमा नै अनेरास्ववियू क्रान्तिकारीले पाउनु पर्ने हाम्रो दलिल छ । नेतृत्वले पनि यसबारेमा विचार गरेर निर्णय गर्छ भन्ने मेरो अपेक्षा हो ।

भनेपछि, एकतापछिको संयुक्त बिधार्थी संगठनको नेतृत्व तपाईँले हाँक्नुहुन्छ ?

म स्वभाविक रुपले तयार छु । दुईवटा संगठनलाई एकतावद्ध बनाएर संगठनात्मक सोपानक्रमलाई एकतावद्ध गराउने, भावनात्मक रुपले गराउने र शैक्षिक क्षेत्रका तमाम विषयमा यो संगठनलाई पविर्तनकारी संगठनको रुपमा उभ्याउने र ६ महिनादेखि एक वर्षको अवधिमा एकताको अधिवेशन गरिदिएर एउटा जुझारु नयाँ पुस्तालाई संगठन हस्तान्तरण गर्ने अवसर मिल्यो भने म त्यसको लागि सबै हिसाबले तयार छु ।

पार्टी नेतृत्व र संगठनका नेताहरुसंग यो बिषयमा कुरा भईरहेको छ ?

एकता भइसकेपछि पार्टी नेतृत्वसंग पनि हामीले यिनै विषयमा कुरा राखेको छौँ । अनेरास्ववियुका साथीहरु पनि नवीना कम्रेड र ममध्ये एकजना हुनुपर्छ भन्नेमा सकारात्मक हुनुहुन्छ । उहाँहरु पनि रञ्जित तामाङ वा क्रान्तिकारीको नेतृत्व आउँदा कुनै आपत्ति छैन भनिरहनु भएको छ । लोकतान्त्रि विधिबाट आएकाले हाम्रो नेतृत्व नै सबल हो भन्ने हाम्रोतर्फका साथीहरुको पनि दाबी छ । हाम्रो संगठनको तर्फबाट पदाधिकारी समितिको बैठक नै बसेर यो एकता प्रक्रियामा मलाई नै अगाडि सार्ने र यसको विकल्प नखोज्ने भनेर औपचारिक निर्णय भएको छ ।

कहिलेसम्ममा टुंगिन्छ त एकता प्रक्रिया ?

मलाई लाग्छ यो महिनाभित्र टुंगिन्छ । आगामी जेठ ३ गते सम्म सम्पूर्ण रुपमा एकता प्रक्रिया टुंगिन्छ ।

अन्य संगठनको हकमा के हुन्छ ?

पार्टी एकता भएपछि पूरानो मनोविज्ञानको आधारबाट जनवर्गीय संगठनको कहीँ न कहीँ भागबण्डा हुन्छ । जस्तै पार्टीमा पनि ७७ वटा जिल्लामा भागबण्डा गरियो । त्यसले गर्दा जनवर्गसंग जोडिने युवा, विद्यार्थी, महिला संगठनको हकमा पनि त्यस्तै भागबण्डा हुन्छ । पूर्व माओवादी केन्द्र र पूर्व एमालेबीच युवा एकातर्फबाट, विद्यार्थी एकातर्फबाट वा मजदुर र विद्यार्थी एकातर्फबाट वा महिला र विद्यार्थी एकातर्फबाट वा दुई दुई अध्यक्ष बाँडेर पनि टुंगिनसक्छ ।

पार्टी एकता हुँदा दुबै अध्यक्षले हामी अन्तर्घुलित भयौँ भन्नुभएको थियो । एउटै विद्यार्थी संगठन भएपछि पनि त्यस्तै बनाउन सक्नुहुन्छ ? 

यो चुनौतिको कुरा हो । उहाँहरुले दुईवटा फरक फरक आन्दोलनलाई एक ठाउँमा उभ्याउनु भयो । यसमा हाम्रो पुस्ता अत्यन्तै आदर र सम्मान व्यक्त गर्दछ । दुईवटा पार्टीलाई एकतावद्ध गराईसकेपछि यसरी अन्तर्घुलित गरिनु पर्यो कि दुईवटा नदी मिसिँदा पानी छुट्याउन सकिँदैन, त्यसरी नै घुलन बनाउनका लागि अत्यन्तै फराकिलो छातीको आवश्यकता छ । यो  सफल भयो भने नेपालको राजनीतिमा उहाँहरुको छवि अझै माथि जानेछ । यसलाई भोलिको पुस्ताले पनि जहिल्यै सम्मान गर्नेछ । व्यवहारिक रुपमा अन्तर्घुलित गरेर एउटा संस्कृतिको विकास गर्ने चुनौति छ । तर, मलाई लाग्छ उहाँहरुको यो अन्तर्घुलनको संस्कारलाई नै समातेर हाम्रो पुस्ताले भोलिको पार्टीलाई अगाडि बढाउँछ । संगठनमा पनि हामी उहाँहरुको पदचाप पछ्याउछौं ।

संगठनको नेतृत्व सम्हाल्नका लागि यसकारण म योग्य छु भन्ने दाबी के छन् तपाईसंग ?

पहिलो कुरा त मैँले अघिपनि भनिहालेँ, हामी निर्वाचित भएर आएका हौँ । दोस्रो कुरा, अनेरास्ववियु भन्ने नाम राखिसकेपछि यसको नेतृत्वको दाबी पनि भइहाल्यो । तेस्रो कुरा, अनेरास्ववियु र क्रान्तिकारीभित्र नवीना कम्रेड र मपछाडीको जुन पंक्ति छ, त्यो भित्रपनि हामीले अर्को पुस्ताको नेतृत्व खोज्दाखेरि सर्वसम्मत हुने सम्भावना देख्दैछौँ । अर्को कुरा मैँले संगठनमा डेढ वर्ष नेतृत्व गरेँ । देशभरिको संगठन परिचालनको अनुभव पनि मसंग छ । सबै कार्यकर्ताको मनोविज्ञानलाई कसरी केन्द्रिकृत गर्ने भन्ने कुरा मैँले बुझेको छु । शिक्षाक्षेत्रका तमाम नीतिगत होस् या अन्य वस्तुगत घटनाक्रमहरुको सन्दर्भमा निर्णय कसरी अगाडि बढाउनुपर्छ भन्ने कुरामा म अभ्यस्त छु । यसकारण एकतावद्ध भइसकेपछिको संगठनलाई पनि नेतृत्व दिनका लागि मसंग सबैप्रकारको अनुभव छ । यही भएर नै मेरो दाबी हो ।

अहिले विद्यार्थी संगठनको मूल मुद्दा के हो ?

मूल मुद्दा अहिले शैक्षिक रुपान्तरण कै हो । निजीकरण र व्यापारिकरणलाई निस्तेज गर्ने, सरकारको स्वामित्वलाई बढाउने, शिक्षालाई जनताको पहुँचमा पुर्याउने, संविधानले भनेको भावना अनुरुप शिक्षामा राज्यको दायित्वलाई बढाउने र शैक्षिक बेरोजगार जनशक्ति राज्यको चुनौतिको रुपमा रहेको छ । यसलाई चुनौति होइन अवसरमा बदल्नका लागि आज हामीले ‘टेक्निकल’, ‘ननटेक्निकल कलेज’लाई शैक्षिक बेरोजगार उत्पादनको कारखाना होइन, दक्ष र योग्य जनशक्ति उत्पादनको कारखाना बनाउनका लागि हामीले कलेजमा परम्परागत विद्यार्थी आन्दोलन होइन, रचनात्मक र सिर्जनशील आन्दोलनलाई अगाडि बढाउनुपर्छ । राजनीति फोहोरी खेल हो भनेर आज जसरी भ्रम फैलाइएको छ, त्यसलाई चिर्नका लागि राजनीतिलाई फोहारी होइन, सफा बनाइनुपर्छ । सत्तालाई स्वेच्छाचारी हुन नदिनका लागि यसले खबरदारी गर्नुपर्छ । यसले प्रश्न उठाउनु पर्छ, दबाब दिनुपर्छ । अहिलेको हाम्रो मूल विषय यही हो ।

विकास र समृद्धिको नाराका साथ तपाईको माउ पार्टी अहिले सरकारमा छ । यो बेला विद्यार्थी संगठन र तपाईहरुको भूमिका के हुन्छ ? 

हामी गुण र दोषका आधारमा निर्णय गर्छौँ । सरकारका राम्रा कामहरुलाई सराहाना गर्छौँ र त्यसको कार्यान्वयनको पक्षमा दबाब सिर्जना गर्छौँ । सरकारले कहिल्यै निर्णय लिन नसक्दा, निर्णय राम्रो गर्न नसक्दा र त्यसले आम जनतामा असजिलो पर्दा सरकारले गरेका त्यस प्रकारका निर्णयहरुको हामी विरोध, दबाब र खबरदारी गर्छौँ । समाजको सबैभन्दा गतिशील युवा विद्यार्थी भएको हुनाले पार्टी पंक्तिले पनि  युवा विद्यार्थीको विषयमा निर्णय गर्दा एक पटक ठण्डा दिमागले सोच्नुपर्छ । म बिश्वस्त छु, यस बिषयमा पार्टी नेतृत्वले सही निशाना चुकाउनुहुने छैन ।