‘विष्णु पौडेलले सेटिङ मिलाएबापत ८ आना जग्गा बक्सिस पाएका हुन्’


ADVERTISEMENT


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मिन विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थालेको गम्भिर आरोप लगाएका छन् ।


ADVERTISEMENT

# # #


मंगलबार रिपोर्टर्स क्लबमा बोल्दै उनले भ्रष्टाचार, कुशासन, हत्या, हिंसा, बलात्कार, असंवैधानिक कदमहरु अहिले छताछुल्ल भैरहेको बताए । उनले भने, ‘दुर्वशा ऋषिले खान्न भन्दाभन्दै लड्डु खाएजस्तै ओलीजी पनि सबै खानुभयो ।’ अर्थमन्त्रीको जिम्मेवारी बहन गरिसकेको व्यक्ति विष्णु पौडेलले सबै सेटिङ मिलाएबापत बालुवाटार प्रकरणमा ८ आना जग्गा बक्सिस पाएको विश्वकर्माको आरोप छ ।

‘मैले सुने अनुसार उहाँले सबै सेटिङ मिलाएकोले त्यो ८ आना जग्गा बक्सिस पाउनु भएको हो ।’ उनले भने, ‘अनि कसको नाउमा राखौं भनेर सोध्दा उहाँले आफ्नो नाममा राख्दा नराम्रो सन्देश जान्छ र अर्काको नाममा राख्दा सुरक्षित नहुने भएकोले छोराको नाममा राख्नुभएको हो अरे ।’

ललिता निवासलाई मोही कायम गर्न लाखौं/करोडौं खर्चिएका भूमाफीयाहरुले विष्णु पौडेलको कारण आफूहरु फसेको गुनासो गरेको पनि उनले स्पष्ट पारे ।

नैतिकताको आधारमा पनि विष्णु पौडेलले यो प्रकरणमा राजीनामा दिनुपर्ने उनको भनाई छ । उनले भने,‘सरकारी जग्गा हडप्न किर्ते गर्नेहरु, गैरकानूनी ढंगले सरकारी जग्गाहरु कब्जा गर्ने सबैजना दण्ड, सजायको भागीदार हुनुपर्छ ।’ समाजको रोल मोडल भएकोले विष्णु पौडेललाई यो प्रकरणमा दोब्बर, तेब्बर र विशिष्ट ढंगको सजाय गर्नुपर्ने पनि विश्वकर्माले माग गरे ।

उक्त ललिता निवासको जग्गा प्रकरणमा वर्तमान सरकारले हिजोबाट एक्कासी आफ्नो तातो खरानी प्रतिपक्षी दलतर्फ फालेको पनि उनले आरोप लगाए । उनले भने, ‘यसभन्दा अघिपनि ३३ केजी सुन तस्करी प्रकरणमा अनुहार हेर्दा आफ्नै मान्छे परेपछि ओलीजीले बाजेको सेकुवा बन्द गराउनुभयो । नेता विश्वकर्माले अपराधीकरणलाई संरक्षण गर्नेतर्फ लागेको बताए ।

उनले यो जग्गा प्रकरणमा यदि कृष्णप्रसाद भट्टराईपनि दोषी भए मरणोपरान्त दण्ड, सजाय गर्नुपर्ने बताए । उनले भने, ‘किसुनजी, गिरिजा प्रसाद कोइराला, मनमोहन अधिकारी वा शेरबहादुर देउवा जो हुन्, सबैको बारेमा गहिरो छानबिन गरियोस् ।’

आफ्नो पार्टीका सभापति एवम् संसदीय दलका नेता देउवाले वार्डडबडी काण्डमा पनि ठूलो दृढ विश्वासका साथ उक्त प्रकरणमा संलग्नलाई कारबाही होस भनेर आवाज उठाउँदा उनीमाथि नै हिलो छ्याप्ने काम भएको विश्वकर्माले स्मरण गराए ।