– प्रदीप गिरी


ADVERTISEMENT


यस नीति तथा कार्यक्रममा छलफल हुने क्रममा सम्मानीय प्रधानमन्त्रीले बाहिर कुनै कुराकानीमा टिप्पणी गर्नुभएको कतै पढेँ । ‘खोइ, नीति तथा कार्यक्रममाथि गम्भीर छलफल होला भनेको, खाली हावा कुरा मात्रै भए, हलुका कुरामात्रै भए’ भन्नु भएछ । नभन्दै सारा बहस ‘राष्ट्रपतिले मेरो सरकार किन भन्नु भयो ?’ भन्नेमा केन्द्रित भएको देख्दा प्रधानमन्त्रीको पीडा यथार्थ हो जस्तो लागेको छ मलाई पनि । यो राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु आफैमा आपत्तिजनक हो भन्ने कुरा कमसेकम मलाई लाग्दैन ।


ADVERTISEMENT

# # #


मेरो पार्टीले त्यसलाई संशोधन नै गर्ने भनेको छ । संशोधन गर्ने भन्ने विषयमा पक्ष वा विपक्षलाई एउटा कुरा भन्न चाहन्छु, तपाईहरुलाई प्रधानमन्त्रीको पढाइका विषयमा कतिलाई थाहा छ कुन्नी ! जेल बस्दाका वर्षौँ वर्ष यत्तिकै बिताउनु भएको छैन । उहाँजस्तो सूचना भएको, जानकारी भएको व्यक्ति मैँले राजनीतिक जीवनमा कमै देखेको छु । लगभग अर्को गणेशमानजी हुनुहुन्छ उहाँ । हेर्दाखेरि केही नजानेजस्तो, तर नबुझेको शास्त्रै छैन उहाँले । त्यसैले भाषा र शब्दका विषयमा अविधा, व्यञ्जना र लक्षणा भन्ने हुन्छ । मेरो प्रधानमन्त्री कसले भन्यो भन्दा चर्चा नहुने, त्यहाँ चर्चा हुने ?

यसका बारेमा स्पष्टिकरण दिनुहुने प्रधानमन्त्रीले अलिकति विचार गर्नुपर्छ । राष्ट्राध्यक्षले बेलायतको परम्परा अनुसार, भारतको परम्परा अनुसार वा अन्य गणतन्त्र भएको मुलुकका परम्परा अनुसार पनि ‘मेरो सरकार भन्न सक्थ्यो । तर, यहाँ सवाल के पर्यो भने देश एउटा गुणत्मक र नयाँ व्यवस्थामा आएको छ । यस अवस्थामा सबैले गणतन्त्र, गणतन्त्र भनेका छन् । अब यो नयाँ परिस्थित अनुसार मुलुकले कस्तो राष्ट्रपति खोजेको छ, कस्तो प्रधानमन्त्री खोजेको छ ? सादगी, सरलताका जीवन मूल्यको, समाजवादमा कुनै सम्बन्ध छ कि छैन, त्यो हेरिनुपर्छ ।

अगाडि गाडी, पछाडि गाडी, माथि हेलिकोप्टर, तल पानीजहाज यसरी भुईंमा टेक्दै नटेक्ने अवस्थाका मन्त्री, प्रधानमन्त्रीहरु जसलाई उहाँकै पार्टीका विवेकशील सदस्यले पनि बारम्बार संकेत गरेर भन्दैछन्, ‘यो त राजा र महाराजालाई पनि लज्जित गर्ने व्यवहार हाम्रो भयो नि !’ एक पटक, एकदिनका लागि पनि गृहमन्त्री हुँदै नहुनुपर्ने, गृहमन्त्री भयो कि कालो सिसा भएको जीप, अगाडि गाडी, पछाडि गाडी, माथि हेलिकोप्टर, तल पानी जहाज चढ्नै पर्ने । अब एक पटक पूर्व गृहमन्त्रीको प्रभाव भएपछि त वर्तमानको हुने नै भयो ।

प्रधानमन्त्रीलाई झन् के भन्ने ? अगाडि साइरन, पछाडि साइरन । मैँले बुझेसम्म त्यो देखेर वा पीडित भएर मान्छेले बिल्कुलै संसदीय शब्दकाप्रति पनि आपत्ति गरेका हुन् है प्रधानमन्त्रीज्यू । शब्द त्यती खतरनाक छैन । तर, शब्दलाई मैँले माथि भनेजस्तै सन्दर्भमा हेर्दा सम्बन्धित मान्छेमा चित्त दुख्छ । चित्त दुखेका साथीहरुलाई पनि म चित्त नदुखाउन अनुरोध गर्छु ।

पत्रको एक ठाउँमा राष्ट्रपतिज्यूले के भन्नु भएको छ भने, ‘यति राम्रो प्रतिपक्षी दलसंग सबै दलहरुका बीचमा सहकार्य र विश्वास भएको वातावरण नै थिएन ।’ यो दृष्टि नपुगेको जस्तो छ । मैँले के देखेको छु भने सत्तापक्ष र प्रतिपक्षबीच यति नराम्रो सम्बन्ध नै थिएन । प्रधानमन्त्री र विपक्षीको नेताको कोठा संगसंगै राखिएको छ । यिनीहरुको भेट भइराखोस् भनेर राखेको होला । अहिलको परिस्थितमा एउटाको बैठक सिंहदरबारमा, एउटाको बैठक संसद भवनमा राखेको हुन्छ । त्यसैले विपक्षका नेतालाई चित्त बुझाउन भएपनि यो संशोधनमा भोटिङ नगराइकन यो कुरा मानिदिनुस् भन्ने कुरा प्रधानमन्त्रीलाई मेरो अनुरोध छ ।

मलाई यो कार्यक्रममा मन परेका कुरा धेरै छन् । एउटा छ ३८ नम्बरको बुँदा । प्रत्येक दिन यस सरकारले (मेरो सरकार) एक कदम चालेकै हुन्छ भनेको छ । यो अत्यन्त गम्भीर वक्तव्य हो । एक कदम नै चाल्नुपर्छ प्रत्येक दिन । एक हजार कोश लामो यात्रा अझ भनौँ एक हजार लीको (कोश भन्दा लामो ली हुँदो रहेछ । त्यसलाई चीनमा ली भन्दा रहेछन्) यात्रा पनि एक स्टेपबाट सुरु हुन्छ भनेर कुनै जमानामा लाओजीले भनेका रहेछन् । हो एक कदमबाट थाल्नुपर्छ । दिनको एक कदम प्रयाप्त छ । तर कदम कता चालिँदैछ ? पूर्वतिर कि पश्चितमतिर ? समाजवादोन्मुख कि दलालवादोन्मुख ? यो बडो प्रश्न छ । त्यसैले एक कदम चालेकोको पूर्ण समर्थन गर्छु म ।

पानी जहाज मुलुकलाई चाहिएको छ, नचाहिएको होइन । तर, एउटा भएको हवाइ जहाजको त बिजोग छ । पहिले नेपाल एयरलाइन्सका २०–२५ वटा जहाज चलाउँ न ! त्यसपछि रेल, पानी जहाज पनि चलाउँला । नचलाउने कुरै छैन । तर म चुनौति दिन चाहन्छु, संसदमा मात्रै ह्वीप लागु नहुने गरी गोप्य ढंगले थाहा होस् त, पानी जहाजको प्रस्ताव कतिलाई मान्य छ ?

यस्तै आगामी वर्षलाई वृक्षारोपणको वर्ष भनेको छ । नेपाली कांग्रेसका कर्मठ कार्यकर्तालाई अनुरोध गर्न चाहन्छु, यो वृक्षारोपण हामीले विपीको स्मृतिमा गरेका थियौँ । त्यसैले यदि संशोधन प्रस्ताव राख्न मिल्छ भने वृक्षारोपणलाई गम्भरितापूर्वक राखौँ हामी । एकदम राम्रो प्रस्ताव छ यो । यसलाई मुक्त कण्ठले प्रशंसा गर्छु तर, पानीजहाजको कुरा छ । पानी जहाज जनताको चाहना हो भनिएको छ । साँच्चै जनताको चाहना हो ? अक्सर राष्ट्रपति र प्रधानमन्त्रीले के गर्छन् भने आफ्नो चाहनालाई जनताको चाहना भनेर बुझ्छन् । आफ्नो चाहनालाई जनताको चाहना भनेर बुझ्न थालेपछि बडा मुस्किल हुन्छ ।

पानी जहाज मुलुकलाई चाहिएको छ, नचाहिएको होइन । तर, एउटा भएको हवाइ जहाजको त बिजोग छ । त्यो बिजोग गर्ने श्रेय अलि हामी पनि लिन्छौँ भने धमिजा काण्ड, लाउडा काण्ड, वाइडवडी काण्ड । अरे बाबा, १० वटा हवाइजहाजको प्रतिस्पर्धामा हाम्रो नेपाल एयरलाइन्स त चलिदिओस् । पहिले नेपाल एयरलाइन्सका २०–२५ वटा जहाज चलाउँ न ! त्यसपछि रेल भनौँ, त्यसपछि पानी जहाज पनि चलाउँला । नचलाउने कुरै छैन तर, क्रमिकताका अनुसार ।होइन भने जनताको चाहनाका बारेमा त्यसलाई मार्क्सवादी शैलीमा मनोगत पात्र पाराले बात नगरौँ । वस्तुगत पाराले वात गरौँ ।

आज मुलुकलाई वृद्धिदरका आधारमा होइन, तथ्याङ्क र मिथ्याङ्कका आधारमा होइन, विदेशमा खटिरहेका नेपालीलाई फिर्ता गर्ने आधारमा हुनुपर्यो ।

थाहा छ, यो लोकतान्त्रिक वक्तव्य होइन । तर, म चुनौति दिन चाहन्छु, छोड्दिनुस् जनमत संग्रह गर्ने हावादारी कुरा हुन्छ, यो संसदमा मात्रै ह्वीप लागू नहुने गरी गोप्य ढंगले थाहा होस् त, पानी जहाजको प्रस्ताव कतिलाई मान्य छ ? हेरुँ त म । त्यसैले हे प्रधानमन्त्री महोदय, हे राष्ट्रपति महोदय, जनताको चाहना हजुरको चाहना हो । मेरो पूर्ण समर्थन छ । तर, अलि विस्तारै गरौँ । वृक्षरोपण छिट्टै गरौँ ।

संसारमा विकास भन्ने शब्द धेरै पटक आएको छ । विकासजस्तै मिल्दोजुल्दा एउटा शब्द म भन्न चाहन्छु । त्यस शब्दलाई ‘प्रगति’ भनिन्छ । प्रगति बहुआयामिक हुन्छ । विकासलाई तथाकथित ‘ग्रोथ रेट’बाट नाप्न सकिन्छ । ‘ग्रोथ रेट’ ६ बाट ७ हुँदै भोलि १२ पनि पुग्न सक्छ ।

विकासको जुन अवधारणा छ, त्यसका बारेमा वर्तमान सरकारले, नेपाल सरकारले, ज्यूँदो सहिद केपी ओलीको सरकारले वा शहादतबाट उम्किएका प्रचण्डको सरकारले विचार गरोस् । विकासको एउटा मोडल संसारभरिमा असफल भइसकेको छ । जसलाई विकास भनिन्छ । विकासका लागि विदेशी ऋणले श्रीलंकाजस्ता देशलाई नाजुक बनाइसकेका छन् । विकासको अर्को मोडल साधारण गुगल गर्ने व्यक्तिले पनि थाहा पाउँछ, ‘अल्टरनेटिभ डेभेलपमेन्ट’ । समय थोरै छ, तपाईले ‘अल्टरनेटिभ डेभेलपमेन्ट’को लाइनमा सोच्नुहोस् । जहाँ वृद्धिदर होइन, रोजगारको चिन्ता गरिन्छ ।

नेपालका ती लाखौँ विदेशिएका मानिसलाई कुन योजनाबाट स्वदेश फिर्ता गर्नुहुन्छ ? भनिएको छ, ५ लाख रोजगारी खडा गर्छु । त्यो खडा गर्नका लागि योजना खोज्नुहोस्, १० वर्षपछि नेपालको अनुकरण विश्वले गर्नेछ । कुनै समय गौतम बुद्ध लोकप्रिय भएजस्तै वर्तमान सरकारका नेता पनि कमसेकम तेस्रो विश्वमा लोकप्रिय हुन्छन् । प्राविधिक वा आर्थिक भाषामा भन्दा, आज मुलुकलाई वृद्धिदरका आधारमा होइन, तथ्याङ्क र मिथ्याङ्कका आधारमा होइन, ती विदेशमा खटिरहेका नेपालीलाई फिर्ता गर्ने आधारमा हुनुपर्यो ।

एउटा कवि छन् मिन बहादुर विष्ट भन्ने । लाहुरे कुरामा तिनले लेखेका थिए, ‘क्या रखा हें साला पहाडमें’ । एउटा पहाडे गाउँको, प्राकृतिक सम्पदा भएको गाउँको युवा दिल्ली पुग्दा, चौकिदारी गरेर यस्ता कुरा भन्न थालेको थियो । आज मध्युपूर्वमा, प्रचण्ड गर्मीमा काम गरिरहेका मान्छेलाई जुन योजनाले नेपाल फर्काउन सक्छ, त्यो योजना हुन्छ समाजवाद उन्मुख । त्यो योजना हुन्छ प्रगतीमुखी । अहिले प्रगति र योजना बनाउन हामी विनाशको बाटोमा जाँदैछौँ । प्रधानमन्त्री महोदय, अर्थमन्त्री महोदय, यसका बारेमा सोचिदिनुस् ।

(नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य गिरीले सोमबार प्रतिनिधिसभामा सरकारका नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा राखेको धारणा)