कञ्चनपुर – रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लीयपन अधिक रहेको पाइएको छ । माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लीयपन बढेको हो ।


ADVERTISEMENT


माटोबाट बालीले लिएको भन्दा बढी खाद्यतत्वको आपूर्ति हुन नसक्दा र माटोमा अम्लीयपन बढ्दा बाली बिरुवामा विभिन्न खाद्यतत्वको कमीका कारण उत्पादनमा ह्रास आउन थालेको र यसबाट फलफूल, तरकारी र अन्नबालीको उत्पादनमा वर्षेनी ह्रास आउने गरेको छ ।


ADVERTISEMENT

# # #


माटो बिरुवाको खाद्यतत्वको भण्डार भएकाले माटोमा हुने अम्लीयपनले उर्वराशक्तिमा ह्रास आएको विभिन्न परीक्षणले देखाएको छ । माटोको उर्वराशक्तिमा दिगोपना ल्याउने र बिरुवाको सन्तुलित पोषण प्रक्रिया अपनाउने योजना बनाउनु आवश्यक भएको माटो तथा मल प्रयोगशाला सुन्दरपुरका निमित्त वरिष्ठ माटोविज्ञ प्रकाशकुमार पन्तले बताए । प्राङ्गारिक र रासायनिक मलको सन्तुलित प्रयोगबाट मात्र माटोको उर्वराशक्ति र उत्पादन दिगो हुनसक्ने भए पनि यसतर्फ किसानले चासो दिन सकेका छैनन् ।

बिरुवालाई आवश्यक पर्ने नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम म्याग्नेसियम, सल्फर, नाइट्रोजन र सुक्ष्म तत्वका रुपमा रहेका फलाम, ताँबा, वोरोन, म्याङगानिज, मोलिब्डेनम क्लोरिनजस्ता खाद्यतत्वको आपूर्ति गर्न माटोमा प्राङ्गारिक पदार्थ हुनु आवश्यक रहेको उनले बताए । माटोको अम्लीयपन हटाउन प्रतिकट्ठा खेतमा ८० किलोदेखि ९० किलो कृषि चुनको प्रयोग गरे माटोको अम्लीयपन हटाई तटस्थमा ल्याउन सकिने उनको भनाइ छ ।