सुशीला रेग्मी, बेझाड– रामपुर नगरपालिकाभित्र लालपुर्जा वितरण प्रक्रिया अगाडि बढ्न सकेको छैन् । व्यवस्थित घरघडेरी विकासका लागि सरकारले जग्गा दर्ता समिति आदेश जारी गरे पनि रामपुर नगरपालिकाभित्र लालपुर्जा वितरण प्रक्रिया अगाडि बढ्न नसकेको हो । सरकारले व्यवस्थित घरघडेरीका लागि लालपुर्जा वितरण गर्ने सम्बन्धमा जग्ग्गा दर्ता समिति गठन आदेश २०७५ जारी गरिसकेको छ ।


ADVERTISEMENT


प्रदेश नं ५ का सांसद युवराज खनालले पाल्पाका प्रजिअ वीरेन्द्रकुमार यादवसमक्ष छिटोभन्दा छिटो लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दै ध्यानाकर्षण गराएका छन् । यस विषयलाई गम्भीरतापूर्वक लिन र समयमा नै प्रक्रिया अगाडि बढाउन उनले प्रजिअ खनाललाई आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


सो अवसरमा प्रजिअ यादवले तत्काल प्रक्रियागत रुपमा अगाडि बढ्ने आश्वासन दिएका छन् । प्रजिअको संयोजकत्वमा सम्बन्धित क्षेत्रका मालपोत कार्यालय प्रमुख सदस्यसचिव, नापी कार्यालयका प्रमुख, वन कार्यालयका प्रमुख र रामपुर नगरपालिकाका प्रमुख सदस्य रहने गरी पाँच सदस्यीय समिति गठन भएको छ ।

रामपुर नगरपालिकाका ८५६ घरघडेरी लालपुर्जाविहीन छन् । सरकारले जग्गादर्ता समिति गठन आदेश २०७५ स्वीकृत गरे पनि अहिलेसम्म लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि नबढ्दा नगरवासी अन्योलमा छन् । विगतदेखिको अव्यवस्थित घरघडेरीको व्यवस्थापन गरी आफ्नो सम्पत्तिको मालिक आफैँ बन्न पाउने अधिकार सुनिश्चित गर्न नेपाल सरकारले रामपुर जग्गा दर्ता समिति गठन आदेश जारी गरेको हो ।

तत्कालीन भूमिसुधारमन्त्री दलबहादुर रानाको समयमा लालपुर्जा वितरण गर्ने सम्बन्धमा प्रक्रिया अगाडि बढे पनि विभिन्न कारणले बीचमै प्रक्रिया रोकिन पुगेको थियो । रोकिएको प्रक्रिया भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले अगाडि बढाएको छ । यसै आर्थिक वर्षमा रामपुर नगरपालिकाभित्र रहेका ८५६ घरघडेरीलाई लालपुर्जा वितरण गर्ने गरी अगाडि बढेको भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताइन् ।

तीन दशकअघि देखि लालपुर्जाको आशैआशामा निराश बनेका रामपुरवासीमा लालपुर्जाका लागि सरकारले जारी गरेको जग्गा आदेशले खुशियाली छाएको थियो । अन्य स्थानमा लालपुर्जा वितरण कार्य भइरहे पनि यहाँ प्रक्रियागत रुपमा अगाडि नबढ्दा नागरिकमा निराशा छाएको छ । रामपुर बजारमा ठूलाठूला घर, भवन धमाधम बन्ने क्रम जारी छ । उद्योग, व्यापार–व्यवसाय दिनानुदिन खुल्ने सङ्ख्या बढिरहेको अवस्थामा यस क्षेत्रका नागरिक लालपुर्जा नपाउँदा चिन्तित बनेका थिए ।

वि।सं २०३५र३६ देखि हालको रामपुर नगरपालिका–५ मा रहेको रामतुलसी मावि र वडा नं ६ को दरैठाँटी मावि सञ्चालनका लागि विद्यालयले घरघडेरी बिक्री गरेपछि सोही समयदेखि नै यहाँका स्थानीयवासीले भोगचलन गर्दै आइरहेका छन् । २०७१ साल वैशाख २५ गते रामपुर गाविसबाट रामपुर नगरपालिका घोषणा भई नगरवासीका रुपमा बसोबास गर्दै आएका यहाँका स्थानीयवासीले आफू बसोबास गरेको घरघडेरीको लालपुर्जा नपाउँदा किनबेचमा निकै चुनौती झेल्दै आएका छन् ।

सूर्यमुखी फूलको व्यावसायिक परीक्षण

यसैगरी, पूर्वखोला पाल्पामा सूर्यमुखी फूल खेतीको परीक्षण सफल भएको छ । पहिलो पटक यहाँ लगाइएको सूर्यमुखी फूल सफल भएपछि अब यसको व्यावसायिक खेती गर्ने कृषकको तयारी छ ।

गाउँपालिकाले सूर्यमुखी फूल खेतीका लागि ३० किलो बीउ सहयोग गरेको थियो । परीक्षणका रुपमा लगाइएको सूर्यमुखी फूल पहिलो वर्षमा नै आठ सय देखि एक हजार किलोसम्म उत्पादन लिन सकिने कृषक लक्ष्मण आचार्यले बताए ।

कम लगानी र मिहिनेतमा सूर्यमुखी फूलको व्यावसायिक खेती गरेर राम्रो आम्दानी लिन सकिन्छ । यसभित्र अन्य बालीहरु लगाएर कृषकले आयस्रोत बढाउन सक्नेछन् । बजारमा माग बढ्दो रहेकाले पनि बिक्रीका लागि कृषकले समस्या भोग्नु पर्दैन ।

पहिलो पटक लगाइएको खेती राम्रो भएपछि अर्को वर्ष गाउँपालिकाभित्र विस्तार गर्ने कृषि प्राविधिक सन्तोष कँडेलले बताए । पाल्पाको बगनासकाली गाउँपालिकाका कृषकले चार वर्षअघि देखि नै व्यावसायिक रुपमा सूर्यमुखी फूलको खेती गर्दै आइरहेका छन् । यस वर्षदेखि निस्दी गाउँपालिकामा पनि व्यावसायिक रुपमा यसको खेती शुरु भएको छ ।

सूर्यमुखी फूल खेतीभित्र पनि अन्य विभिन्न बाली लगाउन सकिने, कम लगानी, मिहिनेतमा यसको व्यावसायिक खेती गरेर यथेष्ट कमाउन सकिने कृषि प्राविधिकहरु बताउँछन् । उत्पादित वीउबाट तेल उत्पादन गरी मनग्य आम्दानी लिन सकिन्छ भने डाँठलाई दाउराका लागि प्रयोग गर्न सकिन्छ । अन्य खेतीको तुलनामा धेरै परिश्रम र झन्झट गर्न नपर्ने, एक पटकमा तेब्बर बाली उत्पादन लिन सकिने हुँदा राम्रो आम्दानीको स्रोतका रुपमा लिइन्छ ।

सूर्यमुखी फूललाई बाह्रै महिना फुलाउन सकिन्छ । फूलका कारण मौरीलाई चरन हुने अर्कोतर्फ वीउबाट तेल आउने भएकाले कृषकहरुको आकर्षण बढेको पाइएको छ । सौन्दर्यताका लागि केही बोट घरको आँगनको डिल, छेउछाउमा लगाउँदै आइए पनि यस खेतीबाट राम्रो आम्दानी लिने उद्देश्यले कृषकले अहिले व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् ।रासस