बलेवा– बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डिपिआर’ बनाइएको हो ।


ADVERTISEMENT


मध्यपहाडी लोकमार्ग र गोरुसिङ्गे, सालझण्डी ढोरपाटन मार्गको सङ्गम रहेको अर्नाकोटमा ट्वीनअटर विमान आउजाउ गर्नसक्ने विमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि ‘रियल पार्र्ट इञ्जिनीयरिङ कन्सल्टेन्सी’ले डिपिआर बनाएको इञ्जिनीयर गुरुप्रसाद अधिकारीले बताए । सात सय मिटर लामो रनवेसहित झण्डै एक किमी लामो मैदान बनाउन सकिने प्राविधिक टोलीले सुझाव दिएको छ । प्राधिकरणका प्राविधिकले अघिल्लो वर्ष स्थलगत अध्ययन गरेपछि कन्सल्टेन्सीमार्फत डिपिआर बनाउन दिएको थियो ।


ADVERTISEMENT

# # #


उक्त कन्सल्टेन्सीले बनाएको डिपिआर प्राधिकरणलाई हस्तान्तण गरिएको अधिकारीले बताए । “विमानका लागि ७०० मिटर लामो र १०० मिटर चौडाको रनवे, केही पार्किङ बनाउन सकिने सम्भावना छ”, अधिकारीले भने, “समुद्री सतहबाट दुई हजार मिटर उचाइमा भएकाले पर्यटकीय दृष्टिले पनि उत्तम छ ।” यो स्थान बुर्तिवाङ बजारदेखि पाँच किमी कच्ची सडकमा पुग्न सकिन्छ । ढोरपाटन सिकार आरक्षमा आउने साहसिक पर्यटक र घुम्न आउनेलाई पनि यो उपयुक्त हुने उनले बताए ।

आरक्षभित्र पनि दशकौँ अघि बनेको एयरपोर्ट छ । मर्मत र नियमित सञ्चालन नभएकाले यहाँ तारबार लगाएर मात्र राखिएको छ । अर्नाकोटमा विमानस्थल बनाएमा पदमार्गमार्फत डेढ घण्टामा ढोरपाटन पुग्न सकिने स्थानीय द्रोण कुँवरले बताए । “यहाँ विमानस्थल बनेमा ढोरपाटनसहित रुकुम, रोल्पा, म्याग्दी र डोल्पासम्मका बासिन्दाले यात्रा गर्न सक्नेछन्”, कुँवरले भने, “सडक सञ्जाललाई स्तरोन्नति गर्न सकियो भने बिरामीले काठमाडौँसम्म पुगेर उपचार गर्न पनि यो मार्ग प्रयोग गर्न सक्छन् ।”

ढोरपाटन नगरपालिकाले सुरक्षित सुत्केरी सेवाका लागि हेलिकोप्टरबाट उद्धार गर्ने नीति बनाएको छ । यो नीतिलाई पनि हवाईमैदान उपयोगी हुने स्थानीयवासीको मत छ । डिपिआरले रु दुई अर्बमा ट्वीनअटर विमान आउने स्तरीय हवाईमैदान बनाउन सकिने सुझाव पनि दिएको छ । प्रारम्भिक अध्ययनका लागि भने रु ४० लाख खर्च भइसकेको छ । यो स्थान सदरमुकाम बागलुङबजारदेखि १०० किमी पश्चिममा पर्छ । बागलुङमा दुई हवाईमैदान छन् । बलेवाको मैदानमा केही समय जहाज आउजाउ गरेर स्थगित अवस्थामा छ । प्राविधिक कारणले उडान स्थगन भएको छ । अर्को ढोरपाटनमा छ । उक्त मैदान अहिले बन्द छ । यहाँ सिकार आरक्षका लागि आउने पर्यटक आउजाउमा प्रयोग गर्थे । पछिल्लो समय हेलिकोप्टर लिएर आएका सिकारीले ब्लकमा पुगेर अवतरण गर्न थालेपछि यो विमानस्थल पनि अलपत्र जस्तै अवस्थामा रहेको छ ।

नमूना बन्दै सामुदायिक विद्यालय

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर विषयमा बेलाबेलामा चर्चा हुने गरेको छ । सामुदायिक विद्यालयमा शैक्षिक वातावरण नभएको कारण देखाउँदै निजी तथा आवासीय विद्यालयमा आफ्ना विद्यार्थी लैजानेको पनि ठूलै लर्को छ ।

विद्यालयमा शैक्षिक वातावरण बनाउन र विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन, सरकार, समुदाय, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यालय प्रशासन सबैको उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहेको हुन्छ ।

स्थानीय सरकार, समुदाय, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिको संयुक्त पहल हुने हो भने सामुदायिक विद्यालयलाई पनि नमूना बनाउन सकिन्छ भन्ने उदाहरण हो बागलुङ नगरपालिका–६ लहरेपिपलमा रहेको लहरेपिपल माध्यमिक विद्यालय । एक वर्ष पहिलासम्म विद्यार्थी सङ्ख्या पुर्याउन हम्मेहम्मे रहेको यो विद्यालयले चालू शैक्षिकसत्रमा मात्रै ११२ नयाँ विद्यार्थी भर्ना गराएको छ । भर्ना अभियान चलिरहेकाले विद्यार्थीको सङ्ख्या अझै बढ्ने प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीले बताए ।

नगरपालिकाले चालू आवमा नगरभित्र नमूना विद्यालय विकास कार्यक्रम ल्याएर विद्यालयलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको थियो । नगरको कार्यक्रमलाई कार्यान्वयन गर्ने क्रममा वडाध्यक्षले चासो दिएपछि विद्यालयको मुहार फेरिएको छ । विद्यालयमा भौतिक पूर्वाधार सुविधासम्पन्न गराउने काम अहिले धमाधम चलिरहेको छ ।

निजी विद्यालय बन्द

अभिभावकले आफ्ना बालबालिकालाई समुदायिक विद्यालयमा लगेपछि लहरेपिपलमा सञ्चालनमा रहेको निजी विद्यालय बन्द भएको छ । कक्षा ४ सम्म सञ्चालनमा रहेको उज्ज्वल तारा आवासीय प्रावि विद्यार्थीको अभावमा बन्द भएको हो । यो विद्यालयबाट झण्डै ८० विद्यार्थी लहरेपिपल माविमा भर्ना भएको प्रअ सुवेदीले बताए । सुवेदीले भने, “नगरपालिकाले नमूना विद्यालय बनाउने घोषणा गरेपछि विद्यालयको वातावरण नै नयाँ बन्दै गइरहेको छ ।”

शिक्षकलाई तहगत जिम्मेवारी

लहरेपिपल माविको शैक्षिक सुधारका लागि विभिन्न तहमा शिक्षकलाई जिम्मेवारी दिइएको छ । “प्रायः सामुदायिक विद्यालयका शिक्षक आफूले पूरा गर्नुपर्ने कक्षाबाहेक अन्य गतिविधिमा ध्यान दिएको कमै पाइन्छ”, वडाध्यक्ष खिमराज सापकोटाले भने “हामीले विद्यालयमा कार्यरत सबै शिक्षकलाई कुनै न कुनै जिम्मेवारी दिएका छौँ ।” विद्यालयमा कार्यरत शिक्षकमध्ये कार्यक्षमताको आधारमा तहगत संयोजक बनाइएको छ ।

विद्यार्थी आकर्षित गर्न गरिएका सुधार

खुला विद्यालय परिसरमा बुङ्बुङ्ती धुलो उड्ने गरेको खेल मैदानमा सामुदायिक वनसँग सहकार्य गरेर ढुङ्गा बिच्छ्याइएको छ । विद्यालय परिसरमा तारबार गरिएको छ । “पहिलेपहिले दिउँसोको खाजापछि विद्यार्थीलाई विद्यालयमा भेट्नै गाह्रो हुन्थ्यो”, कक्षा ६–८ संयोजक शिक्षिका पवित्रा कँडेलले भने, “विद्यालय परिसरमा तारबार गरिएको छ, विनाजानकारी विद्यार्थी बाहिर जान सक्दैनन्, जसका कारण सबै कक्षामा विद्यार्थी देखिन्छन् ।”

पानीको चरम अभाव रहेको लहरेपिपलमा केही ड्रमको व्यवस्था गरेर खानेपानी सहज बनाइएको छ । माध्यमिक र प्राथमिक तहलाई छुट्टाछुट्टै भवन र व्यवस्थापनमा राखेर पठनपाठन शुरु भएको छ । “साना कक्षाकोठा बालमैत्री बनाइएको छ, अपुग तीन शिक्षक करारमा नियुक्त गरेर पठनपाठनमा लगाएका छौँ ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर केसीले भने, “कमजोर विद्यार्थीलाई ट्युसन कक्षाको व्यवस्था गरिएको छ ।” पछिल्लो दुई वर्षयता वडा कार्यालयको पहलमा पुस्तकालय र कम्प्युटर कक्षाको व्यवस्थासमेत गरेकाले विद्यालयप्रति अभिभावक आकर्षित भएको वडाध्यक्ष सापकोटाले दाबी गए । रासस