काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर्समा आज नेपाली युवा स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले तीन पटकको विजेता चेन्नई सुपर किंग्ससंग भिड्दैछन् ।


ADVERTISEMENT


आजको विजेता प्रतियोगिताको फाइनल प्रवेश गर्ने भएकोले महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई र युवा कप्तान श्रेयस ऐयरको नेतृत्वमा रहेको दिल्ली ‘गर या मर’को स्थितिमा छन् । दिल्ली विशाखा पटनमस्थित वाइएसआर एसीए भीडीसीए क्रिकेट मैदानमा चेन्नईविरुद्ध जित जित हासिल गर्दै पहिलो पटक आइपीएलको फाइनलमा प्रवेश गर्ने दाउमा रहेको छ ।


ADVERTISEMENT

# # #


उसले एलिमिनेटरमा बुधवार सनराइजर्स हैदराबादलाई २ विकेटले हराएको थियो । आईपीएलको १२ वर्षको इतिहासमा दिल्लीको प्लेअफमा यो पहिलो जित थियो । समूह चरणमा पनि उत्कृष्ट खेल पस्किँदै आएको दिल्ली आफ्नो लयलाई निरन्तरता दिन चाहन्छ ।

यता तीन पटकको च्याम्पियन चेन्नई पनि कम छैन । यसअघि आइपीएलको ९ वटा संस्करणमा सहभागी भएको चेन्नईले ७ पटक फाइनलमा स्थान बनाएको छ । क्याप्टेन कुलले परिचित धोनीको कप्तानीमा रहेको चेन्नईको नजर आठौँ पटक आइपीएलको फाइनलमा स्थान बनाउनु रहेको छ ।

दिल्लीले यसअघि अन्तिमपटक २०१२ मा प्लेअफ खेलेको थियो । एमए चिदम्बरम स्टेडियममा भएको खेलमा चेन्नईसंगै पराजित भएको थियो । ७ वर्षपछि प्लेअफको यात्रा तय गरेको दिल्लीका लागि बदलाको अवसर रहेको छ । विशाखापटनममा भने उनीहरु पहिलो पटक एक आपसमा भिड्न लागेका हुन् । खेल नेपाली समय अनुसार पौन ८ बजे सुरु हुनेछ ।

टिममा पर्लान् सन्दीप ?

दिल्ली र चेन्नइको भिडन्तअघि नेपाली क्रिकेट समर्थकहरुको ध्यान भने सन्दीप लामिछानेले मौका पाउँछन् कि पाउँदैनन् भन्नेमा छ । कमजोर प्रदर्शनका कारण सन्दीप खेलमामा बेन्चमै सीमित भएका छन् ।

अहिलेसम्म ६ खेलबाट ८ विकेट लिएका सन्दीपले पछिल्लो पटक रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध खेलका थिए । जुन खेलमा महंगो बलिङ गरे र कुनै विकेट लिन सकेनन् । त्यसपछि दिल्लीले उनलाई प्लेइङ सेटमा राखेको छैन ।

आज खेलिने मैदान सामान्यतः ब्याटिङमैत्री मानिन्छ । तर, स्पिनरलाई फाइदा पुग्ने भएकाले सन्दीपले मौका पाउने सम्भावना पनि रहेको छ । आइपीएलमा चार जना विदेशी खेलाडीमात्रै मैदान उतार्न पाइने भएकाले टिममा पर्न सन्दीपले क्रिस मोरिस, किमो पउल र सेरफान रथरफोर्डजस्ता खेलाडीसंग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

पछिल्ला खेलमा राम्रो प्रदर्शन गर्न नसक्नु र अन्य खेलाडीको प्रदर्शनले पनि सन्दीपलाई टिममा पर्न गाह्रो पर्ने पक्का छ । तर, उनले चेन्नईविरुद्ध कुनैपनि खेल नखेलेकाले दिल्लीले उनलाई ‘सरप्राइजिङ प्याकेज’का रुपमा प्रयोग गर्न सक्छ ।