जनकपुर — सीता जन्मिएको दिनलाई अवसर पारेर मनाइने जानकी नवमीमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बिहान जनकपुर पुगेकी छिन् ।


ADVERTISEMENT


जानकी मन्दिरले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी भएर राष्ट्रपति भण्डारीले विशेष पूजाअर्चना गरेकी छिन् । जानकी नवमी महोत्सवको पहिलो दिन राम कथा प्रवचन, नवाह रामायण पाठ र साँझमा बधाई मंगलगान कार्यक्रम भइरहेको छ ।


ADVERTISEMENT

# # #


जानकी नवमीमा शोभा यात्रा, दुधमती शाही स्नान, रामायण मेला, राम र सीतालाई केन्द्रित गरी कवि गोष्ठी, रामायणमा आधारीत प्रश्नोत्तर प्रतियोगिता, मिथिला चित्रकला सम्बन्धी प्रदर्शनी, प्रादेशिक भाषाको सांस्कृतिक कार्यक्रमसहितको कार्यक्रमहरु भइरहेको छ ।

मन्दिरमा विशेष पूजाअर्चनापछि राष्ट्रपति भण्डारी, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले सम्बोधन गर्ने कार्यक्रम समेत तय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले बताए ।

पूजा अर्चनापछि राष्ट्रपति भण्डारीले प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको प्रशंसा गरिन् । उनले यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने उल्लेख गरिन् ।