काठमाडौँ – नेपाली सेनाद्वारा आयोजित राष्ट्रिय स्तरको दोस्रो ‘सीओएस हाई अल्टिच्युड ट्रिएड्भेन्चर कम्पिटिसन २०७६’ सम्पन्न भएको छ । सोमबार मुस्ताङ्गको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयमा बलाधिकृत रथी शरद कुमार गिरीको प्रमुख आतिथ्यमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।


ADVERTISEMENT


उक्त प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमलगायत २० टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ क्लाईम्विङ्ग १०० मिटर, रनिङ्ग ४.७५ किमि र साईक्लिङ्ग १५.३५ किमि गरी जम्मा २०.२ किमिको निर्धारित दुरी त्रिभुवन आर्मी क्लबको टिम ‘ए’ ले १ घण्टा १९ मिनेट ४२ सेकेण्डमा पुरा गरी प्रथम भएको थियो ।


ADVERTISEMENT

# # #


 यस्तै सशस्त्र प्रहरी बलले १ घण्टा १९ मिनेट ५२ सेकेण्डमा पुरा गरी द्वितिय र त्रिभुवन आर्मी क्लबको टिम ‘बी’ ले १ घण्टा २४ मिनेट १९ सेकेण्डमा पुरा गरी तेस्रो स्थान हासिल ग गरेको छ ।

महिलातर्फ सशस्त्र प्रहरी बलको टिमले १ घण्टा ४५ मिनेट ५४ सेकेण्डमा पुरा गरी प्रथम, हिमालयन गोर्टस टिमले १ घण्टा ५२ मिनेट ३० सेकेण्डमा पुरा गरी दोस्रो र त्रिभुवन आर्मी क्लबको टिमले १ घण्टा ५३ मिनेट १६ सेकेण्डमा पुरा गरी तेस्रो भएको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने पुरुष तर्फका टिमलाई क्रमशः नगद पुरस्कार ५० हजार, ३० हजार र २० हजार पाएका थिए । यस्तै महिला तर्फका टिमलाई क्रमशः नगद पुरस्कार १५ हजार, १० हजार र ५ हजारसहित ट्रफि, पदक तथा प्रमाण पत्रलगायत प्रदान गरिएको छ ।

यस किसिमको प्रतियोगिताले नागरिक-सैनिक सम्बन्ध सुदृढ एवम् प्रगाढ बनाउन मद्दत पुग्नुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको विकासमा समेत थप टेवा पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।

यसअघि प्रथम ‘सीओएस हाई अल्टिच्युड ट्रिएड्भेन्चर कम्पिटिसन’मा त्रिभुवन आर्मी क्लबको टिम ‘बी’ प्रथम, त्रिभुवन आर्मी क्लब कै टिम ‘ए’ द्वितिय र सशस्त्र प्रहरी बलको टिम ‘ए’ तृतिय भएका थिए ।