काठमाडौँ – नेपाल टेलिकमले चितवनको सौराहामा एफटीटीएच (फाइबर टु दि होम) सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


दूरसञ्चार कार्यालय सौराहामा आयोजित सो कार्यक्रममा मन्त्री बाँस्कोटाले एफटीटीएच सेवामार्फत उपलब्ध भ्वाइस सुविधा प्रयोग गरी रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई टेलिफोन कल गरी सेवाको औपचारिक शुभारम्भ गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले यो वर्ष धेरै आयोजनाहरु कार्यान्वयनको क्रममा रहेकाले नेपाल टेलिकमका लागि समृद्धिको वर्ष हुने बताए । उनले सरकारको डिजिटल नेपालको लक्ष्यलाई साकार बनाउनका लागि कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र कम नाफा हुने स्थानमा समेत कम्पनीका सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताए ।

यस्तै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सरकारका नीतिलाई साकार बनाउनका लागि आगामी दिनमा समेत ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको पहुँच पुर्याउनका लागि सदैव अग्रणी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै प्रदेश सभा सदस्य कृष्ण खनालले प्रविधिलाई जनतासँग जोड्न टेलिकमले खेलेको भूमिकाको सराहना गरे भने रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले सेवा सुविधा चुस्त दुरुस्त रुपमा प्रदान गर्न अनुरोध गरे ।

????????????????????????????????????

सौराहामा हाल जडित एफटीटीएचको क्षमता १ हजार २४ लाइनको रहेको छ र निकट भविष्यमा आवश्यकता बमोजिम क्षमता अभिवृद्धि गरी वितरण गर्ने कार्यक्रम रहेको छ । हाललाई यो सुविधा सौराहाको हात्तिचोकदेखि ठमेल बजार क्षेत्रसम्म, भरतपुर महानगरपालिका अन्तर्गत वडा नम्बर २ र ३ को नारायणगढ बजार क्षेत्र तथा वडा नम्बर १० का क्षेत्रहरुमा उपलब्ध गराइने छ ।

यस्तै बछ्यौली र ब्रिडिङ सेन्टरमा एक महिनाभित्र उपलब्ध गराइने छ । निकट भविष्यमा भरतपुर महानगरपालिका वडा नम्बर ११ र १२, गैडाकोट नगरपालिका र टाँडी बजार क्षेत्रमा समेत एफटीटीएच सेवा उपलब्ध गराउने योजना रहेको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख दीपक कुमारले जानकारी दिए ।

नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत ब्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । ब्यक्तिगत तर्फ ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका प्याकेज उपलब्ध छन् । त्यसैगरी कर्पोरेटतर्फ १० एमबीपीएस र २० एमबीपीएसको प्याकेज उपलब्ध छन्

एफटीटीएच सेवा लिने ग्राहकहरुलाई एक सय मिटरसम्म फाइबर र ३ महिनाको लागि भ्वाइस सेवा समेत निःशुल्क उपलब्ध हुनेछ । त्यसैगरी ३ महिना वा सो भन्दा बढी अवधिको लागि एकमुष्ट एफटीटीएच सेवा लिने सेवाग्राहीलाई सीपीई निःशुल्क उपलब्ध टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले मुलुकका विभिन्न शहरी क्षेत्रमा एफटीटीएच सेवाको वृहत विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरण गरिरहेको छ ।