काठमाडौं – तनहुँ भानु नगरपालिका ८ बगालेगाउँकी २४ वर्षीया रचना रेग्मी मम्प्स (घाँटीमा डल्लो आउने) रोगबाट पीडित थिइन् । एक त गर्भवती अवस्थामा त्यसमाथि घाँटीमा डल्लो पलाएपछि उनलाई निकै पीडा भयो ।


ADVERTISEMENT


राजधानीका १ निजी र २ सरकारी अस्पताल पुग्दा पनि निको भएन । त्यसपछि निकै निराश बनेकी रेग्मी आफन्तको सहयोगले नेपाल प्रहरी अस्पताल पुगिन् । यहाँ आएपछि निकै सुधार भएको र अस्पतालको सेवा धेरै राम्रो रहेको प्रतिक्रिया दिँदै उनले भनिन्, “कुनैपनि अस्पतालले जोखिम लिन चाहेनन् अनि यता आएर उपचार सुरु गरियो, अहिले धेरै राम्रो भएको छ ।”


ADVERTISEMENT

# # #


नेपाल सरकार मन्त्रीपरिषद्को २०७४ जेठ ४ गतेको निर्णयले २०७४ कात्तिक २६ गतेबाट प्रहरी अस्पतालमा औपचारिक रुपमा नागरिकको लागि स्वास्थ्य उपचार सेवा प्रदान गर्न थालिएको हो । यसअघि प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी र तिनका परिवारको मात्र उपचार हुँदै आएको थियो । अस्पतालमा हाल आकस्मिक, वहिरङ, अन्तरङ (बेड भर्ना), प्याथोलोजी, रेडियोलोजी, आइसियु, हेमोडायलाइसिस र सर्जरी लगायतका सेवा प्रदान गरिन्छ ।

उपचार लिने आउने नागरिकको संख्या ह्‍वात्तै बढेबाट पनि नेपाल प्रहरी अस्पतालको स्वास्थ्य सेवाप्रति नागरिकको आकर्षण बढेको पुष्टी हुन्छ । सेवा सुरूवातदेखि बैशाख मसान्तसम्म कूल १० हजार ३ सय ५९ जना नागरिकले सेवा प्राप्त गरेका छन् । अस्पतालमा डेन्टलतर्फ १ हजार ३ सय ६३, नाक(कान(घाँटीतर्फ ७ सय ६, इमरजेन्सीतर्फ २ सय ९३, आँखातर्फ ४ सय ६६, मेडिसिनतर्फ १ हजार ८ सय २६, नेफ्रोतर्फ ९६ जना, न्यूरोतर्फ ७ जनाले सेवा लिएका छन् ।

यसैगरी गाइनोतर्फ ९ सय ६९, अर्थोपेडिकतर्फ १ हजार २ सय ३४, बालरोगतर्फ २ सय ३५, मानसिकतर्फ १ सय ६६, छालारोगतर्फ ७ सय ४०, सर्जिकलतर्फ ७ सय ५०, ल्याब्रोटरीतर्फ २ हजार ७०, फिजियोथेरापीतर्फ ५ सय ५६ जना, रेडियोलोजीतर्फ २ हजार, ९ सय २६ जना सेवाबाट लाभाञ्वित भएका छन् । साथै अन्तरंगसेवातर्फ जनरल वार्डमा १ सय ३७ र आइसियूतर्फ २८ गरी जम्मा १ सय ६५ जनाले बेड भर्ना भई उपचार सेवा प्राप्त गरेका छन् ।

पूर्व तथा बहालवाला प्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले विसं २०४० चैत २६ गते अस्पतालको स्थापना भएको हो । अहिले अस्पतालको सेवा वृहद स्वरुपतर्फ फैलँदो छ । सुरुमा २५ शैयाबाट सेवा प्रारम्भ भएको अस्पतालमा हाल १ सय ५० शैया छन् । ३ सय शैयाको अत्याधुनिक अस्पताल बनाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

अस्पतालको सेवा विस्तार र गुणस्तर वृद्धिका सम्बन्धमा अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापा भन्छन्, “अस्पतालको ल्याव अन्तर्राष्ट्रिय आइएसओ स्टायाण्डर्डको छ । वरिष्ठ चिकित्सकहरूबाट स्तरीय सेवा उपलब्ध गराइन्छ । उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल कटिबद्ध छ । यसका लागि अन्य अस्पतालबाट विशेषज्ञ चिकित्सक ल्याएर समेत सेवा प्रदान गरिन्छ ।”

प्रहरी अस्पतालमा चिकित्सक, नर्स र अन्य कर्मचारी समेत गरी प्राविधिकतर्फ ५ सय ३६ र प्रशासनतर्फ १ सय ६ जना गरी जम्मा ६ सय ४२ जना प्रहरी कर्मचारी कार्यरत छन् । मानव स्वास्थ्य जस्तो संवेदनशील र अपरिहार्य सेवा आधुनिकतातिर उन्मुख छ । अस्पतालको सेवालाई गुणस्तरीय बनाउने पहल हुँदै आएको छ ।

यसका लागि सीमित दक्ष जनशक्ति र बजेटको परिधि जस्ता चुनौती छन् । यस्ता चुनौती सामना गर्दै उपचार सेवा थप भरपर्दो र स्तरीय बनाउने सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्तारसूचना अधिकारी प्रहरी नायव महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेल भन्छन्, “अस्पतालको साधन स्रोत विज्ञताले धेरै नागरिकलाई समेत राम्रो र प्रभावकारी ढंगले सेवा प्रदान गर्न सकिन्छ भनेर सेवा सुरु गरिएको हो । सेवाप्रति नागरिक आकर्षित भइरहेको अवस्थामा थप जनशक्ति र साधन स्रोतको व्यवस्थापन गरी अझै प्रभावकारी सेवा प्रदान गर्न नेपाल प्रहरी प्रयासरत छ ।”

प्रहरी कर्मचारी र तिनका परिवारको स्वास्थ्यको धरोहर बन्दै आएको प्रहरी अस्पताल अब नागरिकको समेत आशाको केन्द्र बनेको छ । अस्पतालबाट स्वास्थ्य सेवा पाउँदा नागरिक खुसी छन् । अस्पतालको उपचार शुल्क सामान्य नागरिकको पहुँचमा छ । अन्य सरकारी अस्पताल सरह र कुनै त त्यो भन्दा पनि थोरै शुल्कमा अस्पतालले सेवा दिइरहेको मेडिकल डाइरेक्टर डा. थापाको भनाई छ ।
नेपाल प्रहरीले विभिन्न प्रदेशमा पनि नागरिकलाई सेवा पुर्‍याउने लक्ष्य लिएको छ । सेवा विस्तार गरी विकटका जनतालाई स्वास्थ्य सेवा सहज बनाउन प्रहरीको प्रयास छ । डीआइजी पोखरेल भन्छन्, “प्रदेशका लागि पनि आवश्यक जनशक्ति र साधनस्रोत व्यवस्थापन गर्ने योजना बनाईसकेका छौं ।”

स्त्री तथा प्रसुती रोगतर्फ सर्वसाधारण महिला विरामीको चाप बढ्दो छ । अस्पतालको राम्रो वातावरण, प्रहरीको अनुशासन र स्वतस्स्फूर्त सेवाबाट अस्पतालको सेवा नागरिकले एकदमै मन पराएको स्त्री तथा प्रसुती रोग बिभागका प्रमुख प्रहरी नायव महानिरीक्षक डा.आशा सिंह बताउँछिन् । सेवालाई गुणस्तरीय र विश्वासिलो बनाउदै उत्कृष्ट अस्पतालको रुपमा स्थापित गर्न अस्पताल टीम सदैव सक्रिय रहेको उनको भनाई छ । अस्पतालको सेवा निकै मन पराएर नागरिकको चाप बढेपछि डा. सिंह उत्साहित देखिन्छिन् ।

अस्पतालमा उपचार गर्न आएका बिरामीहरूले अस्पतालको सेवा धेरै राम्रो र आर्थिक रुपमा सस्तो भन्दै खुसी व्यक्त गर्ने गरेको अस्पतालमा कार्यरत प्रहरी नायव उपरीक्षक डा. नवीनकुमार रौनियारको अनुभव छ । प्रहरी अस्पतालमा नागरिकको पनि उपचार हुन्छ भन्ने थाहा थिएन । त्यसैले पहिलोपल्ट आएको भन्ने विरामीहरूको संख्या दैनिक थपिने गरेको डा. रौनियारको भनाई छ ।

अस्पतालमा हुन नसक्ने उपचारको लागि रिफर गर्न खोज्दा यहीं नै उपचार गरिदिए हुन्थ्यो भन्ने धेरैले चाहना राख्ने गरेको अनुभव अस्पतालमा कार्यरत प्रहरी नायव उपरीक्षक डा. सविता सिंहको छ ।

सेवा प्रभावकारी भए पनि देशका कुना कुन्दराका सेवाग्राहीका लागि अस्पतालको पहुँच कठिन छ । विकट स्थानमा समेत स्वास्थ्य सेवा पहुँच होस् भन्ने सदीक्षा नेपाल प्रहरीको छ । यस्तो सदीक्षा पुरा गर्न समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्पतालले विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली खटाएर देशका विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । कालिकोट लगायतका दुर्गम र बृद्धाश्रम जस्ता स्थानमा शिविर सञ्चालन गरिएको छ । ती शिविरमा आवश्यकता र अस्पतालको क्षमता अनुसार निस्शुल्क औषधी समेत वितरण गर्ने गरिन्छ ।

शिविरको उपचार सेवाले समाजमा सकारात्मक सन्देस र नागरिकलाई खुसी दिएको कालिकोट शिविरमा खटिनुभएकी डा। सविता सिंहको अनुभव छ । साझेदारी कार्यक्रम लागू भएपछि निःशुल्क शिविरबाट दुई हजार पाँच सय भन्दा बढी सेवाग्राही लाभाञ्वित भएका छन् । शिविरबारे प्रतिक्रिया दिँदै कालिकोट पलाँता गाउँपालिका–९ थिर्पुका बर्जबहादुर बम भन्छन्, ‘कुनाकन्दरामा औषधी प्रयोग गर्न नसकेको अवस्थामा औषधी पाएर सवै सन्तोष भया, खुशी भया । भविष्यमा पनि पाउने आशा राख्या ।’ अर्का सेवाग्राही नरेन्द्र बम भन्छन्, ‘उपचार गर्न सदरमुकाम जाँदा खर्च लाग्छ । यहीँ उपचार पाएकोले खुशी छौं ।’