एजेन्सी – ५ जुन २०१९ । यो त्यो दिन हो, जुन दिनबाट भारतीय क्रिकेट टिमले २०१९को एकदिवसीय विश्वकपको यात्रा सुरु गर्दैछ । पहिलो खेल दक्षिण अफ्रिकाविरुद्ध इङ्गल्याण्डको साउथेम्पटनमा खेल्दैछ । विश्वकपको मिति नजिकिँदै गर्दा भारतीय क्रिकेट प्रशंसकहरु ट्रफी घर ल्याउने सपना देखिरहेका छन् । यस परिस्थितिमा उनीहरुका लागि ट्रफीभन्दा ठूलो खुसी अर्को कुनै छैन ।


ADVERTISEMENT


सपना देख्न जति सजिलो हुन्छ, त्यसलाई विपनामा परिणत गर्न त्यती नै अप्ठ्यारो हुन्छ । भारतीय क्रिकेट प्रशंसक र खेलाडीका लागि विश्वकप ट्रफी पनि त्यही अप्ठ्यारो सपना मध्येको एक हो । तर, भारतसंग त्यसलाई सहज तुल्याउन सक्ने एउटा शक्ति छ, त्यो शक्तिलाई दुनियाँ विराट कोहलीका नामले चिन्दछ ।


ADVERTISEMENT

# # #


‘विश्वका नम्बर एक टेष्ट ब्याट्सम्यान, नम्बर एक दिवसीय ब्याट्सम्यान र नम्बर एक टी-२० ब्याट्सम्यान हुन् विराट कोहली’ उनको यस्तो तारिफ इङ्गल्याण्डका पूर्व कप्तान माइकल वानले त्यतिबेला गरेका थिए, जतिबेला २०१७ मा भारतले इङ्गल्याण्डविरुद्ध एकदिवसीयमा ३५१ रनको चुनौतिलाई सहज रुपमा भेट्टाएको थियो । हालै एक कार्यक्रममा इङ्गल्याण्डकै अर्का पूर्वअलराउन्डर र २०१९ विश्वकप कपका ब्राण्ड एम्बेस्डर एन्ड्रिउ फ्लिन्टफले विराट कोहली सचिन तेन्दुल्करभन्दा पनि उत्कृष्ट खेलाडी रहेको बताएका थिए ।

यिनै खेलाडी र कप्तान कोहलीमाथि भारतका करोडौँ क्रिकेट प्रशंसकको भरोसा अडिएको छ कि भारतले फेरि एक पटक विश्वकप जित्नेछ । तर, यो उचाईँमा पुग्न विराटका लागि त्यति सहज भने पक्कै छैन ।

तेस्रो मौका

विराट कोहलीका लागि यो तेस्रो विश्वकप हुनेछ । उनले पहिलो पटक सन् २०११ मा विश्वकप खेलेका थिए । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको भारतले त्यसवर्ष विश्वकप जित्दा विराट २१ वर्षका युवा थिए ।

उक्त विश्वकपमा बंगलादेश विरुद्ध शतक प्रहार गरेका उनले वीरेन्द्र सहवागसंग मिलेर २०० रनको साझेदारी गरे । यस्तै फाइनलमा श्रीलंकाकाविरुद्ध कोहलीले गौतम गम्भीरसंग मिलेर ८५ रनको साझेदारी गरे । जुन भारतलाई दोस्रो पटक एकदिवसीय विश्वकप जित्नका लागि महत्वपूर्ण साबित भयो ।

तेस्रो पटक विश्वकप खेल्न लागेका कोहली नेतृत्वको टिम भारतलाई तेस्रोपटक विश्वकप जित्ने सुन्दर अवसर रहेको छ । यसअघि भारतले विश्वकपको तेस्रो संस्करण (सन् १९८३) मा उपाधी जितेको थियो ।

पछिल्लो समय कोहली निकै लयमा रहेका छन् । उनको ब्याटबाट रनको वर्षा भइरहेको छ । विशेषज्ञहरु भन्छन्, कोहली आफ्नो जीवनकै उत्कृष्ट फर्ममा रहेका छन् । उनीहरु भारतको टिम उत्कृष्ट रहेको र टिममा अनुभव र युवा जोशको मिश्रण रहेको बताउँछन् । भारतलाई तेस्रो पटक विश्वकपको च्याम्पियन बनाउनका लागि कोहलीले आफ्नो लयलाई इङ्गल्याण्डमा देखाउन जरुरी छ ।

टिममा महेन्द्र सिंह धोनी पनि रहेका छन् । जसले सायद आफ्नो अन्तिम विश्वकप खेल्दैछन् । के कोहलीको टिम २०१९को विश्वकप जित्ला ? त्यो भने आगामी जुलाई १४ मा मात्रै थाहा हुनेछ ।