काठमाडौं – शाही युवा शक्ति, नेपालले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्नेगरि सरकारले मिडिया काउन्सिलसम्बन्धी विद्येयक ल्याउन लागेको भन्दै तत्काल उक्त विद्येयक खारेजीको माग गरेको छ ।


ADVERTISEMENT


शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति, नेपालले यस्तो माग गरेको हो । लोकतन्त्रको आवरणमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मिडियालाई नै नियन्त्रण गर्नेगरि विद्येयक ल्याउन लागेको अध्यक्ष पशुपति खड्काले आरोप लगाए ।


ADVERTISEMENT

# # #


खड्काले भने, ‘निरंकुश ओली सरकारविरुद्ध सम्पूर्ण नेपाली जनतालाई हामी सडकमा उत्रिनको लागि यही मञ्चबाट आग्रह गर्दछौं । अहिले आन्दोलन नगरे मुलुक झन एकपछि अर्को गरि ठूलो अप्ठ्यारो र भूमरीमा फस्छ ।’

उनले अहिले पनि जनताको चाहना भनेको मुलुकमा राजसंस्था पुनःस्र्थापना होस् भन्ने नै भएको सुनाए । खड्काले थपे, ‘विदेशीको इशारामा लादिएको यो गणतान्त्रिक व्यवस्था देश र जनताको लागि धेरै महँगो सावित भैसक्यो । अब देशले यो व्यवस्था धान्न सक्दैन् । त्यसैले राजसंस्था चाहिन्छ । राजा भनेको मुलुकको अभिभावक हो । अहिले मुलुक र हामी नेपाली जनता राजा नहुँदा टुहुरो भएका छौं ।’

उनले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित रहेर आफ्ना संगठनका सदस्यहरुले गतिविधि गर्दापनि ओली सरकारले निरंकुशता लादेर अपहरण शैलीमा गिरफ्तार गरेकोमा गम्भिर आपत्ति जनाए । उनले भने, ‘श्रीमान गम्भिर गीत बजाउँदा गणतान्त्रिक सरकार थर्कमान भएर मुकदर्शक भयो । र, हाम्रो संगठनका पश्चिमाञ्चल प्रमुख प्रित्तम केसी र रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र विश्वकर्मालाई जबर्जस्ती अपहरण शैलीमा पक्राउ गरि मुद्दा चलाइएको छ । यो सरकारको कायरता हो । हामी हाम्रो आन्दोलनका कार्यक्रमहरुलाई झनै सशक्त बनाउँछौं । यो विदेशीको ईशारामा चल्ने सरकारसँग एक ईन्च पनि डराउँदैनौं ।’

खड्काले सम्पूर्ण नेपाली जनताले अब आफ्नो मोवाईलको ‘रिङ-टोन’ मा श्रीमान गम्भिर नेपाली राष्ट्रिय गान राख्नुपर्ने र हरेक चोकमा यो धुन गुञ्जाउनुपर्ने बेला आएकोले सोहीअनुसारको अपिलसमेत गरे ।

कार्यक्रममा संगठनका महासचिव कृष्णराज थापाले सरकारले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निःशर्त रिहाई गर्नुपर्ने माग गरे ।