काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लामो समयदेखि सत्ता र पार्टी नेतृत्वमा एउटै अनुहार दोहोरिँदा राजनीतिप्रति जनताको विश्वास कमजोर बनेको बताए ।
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री, मन्त्री तथा पार्टी नेतृत्वमा रहेकाहरू पटक–पटक त्यही भूमिकामा फर्किरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको टिप्पणी गरे ।
यस्तो प्रवृत्तिले सबै राजनीतिक दल र नेता उस्तै हुन् भन्ने धारणा जनतामा विकास भएको र त्यसैको परिणाम भदौ २३ र २४ गतेको परिस्थिति बनेको उनको भनाइ छ । थापाले पछिल्लो समय समाजका विभिन्न क्षेत्रमा अत्यधिक राजनीतिकरण भएको उल्लेख गर्दै सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म हरेक विषयलाई राजनीतिक दृष्टिले हेर्ने प्रवृत्ति बढेको बताए ।
राजनीतिक दल र नेतृत्वप्रतिको असन्तुष्टि लामो समयदेखि ‘भुसको आगो’ जस्तै भित्रभित्रै बढिरहेको भन्दै उनले त्यसको असर कुनै एउटा दलमा मात्र नभई समग्र राजनीतिक नेतृत्वमाथि परेको धारणा राखे । दुई ठूला दल मिलेर बनेको दुई तिहाइ बहुमतको सरकारले समेत जनताको बदलिँदो मनोभावना र असन्तुष्टिलाई समयमै बुझ्न नसकेको उनले बताए । त्यसैको परिणाम भदौ २३ र २४ गतेको घटना भएको उनको भनाइ छ ।
थापाले उक्त घटनाबाट कांग्रेससहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता प्रभावित भएको स्मरण गर्दै त्यसबाट पाठ सिकेर कांग्रेस विशेष महाधिवेशनमा गएको बताए ।
विशेष महाधिवेशनपछि निर्वाचनमा गएको कांग्रेसले अपेक्षित परिणाम हासिल गर्न नसके पनि अब १५औँ महाधिवेशनमार्फत विगतका कमजोरीको समीक्षा गरेर नयाँ राजनीतिक यात्रामा अघि बढ्नुपर्ने उनले बताए । जनतामा बढेको राजनीतिक वितृष्णा र दलहरूप्रतिको अविश्वास हटाउन कांग्रेसले नेतृत्व, व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्नेमा थापाले जोड दिए ।
















