काठमाडौ। बैशाख शुक्ल पूर्णिमाका दिन आज २५ सय ६३ औं बुद्धजयन्ती विविध कार्यक्रम गरी मनाईदैछ । बुद्धजयन्तीका अवसरमा मुलुकभरका बुद्धबिहार, मठ तथा गुम्बाहरुमा बिहानैदेखि धार्मिक कार्यक्रम, प्रार्थनाका साथै बुद्ध सम्बन्धी प्रवचनहरु भइरहेका छन् । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्दछन् । लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्षअघि बैशाख शुक्ल पूर्णिमाकै दिन सद्धार्थ गौतमको जन्म भएको थियो । लुम्बिनीमा शाक्यवंशीय राजा शुद्धोधन र रानी मायादेवीका पुत्रका रुपमा बैशाख शुक्ल पूर्णिमाका दिन जन्मिएका राजकुमार सिद्धार्थ गौतमले भारतको बोधगयामा लामो तपस्यापछि बुद्धत्व प्राप्त गरेपछि गौतम बुद्धको नामले विश्वभार प्रख्यात हुनुभएको हो । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो । ३६ वर्षको उमेरमा सारनाथमा उहाँले पहिलोपटक पाँच जना शिष्यलाई प्रवचन दिनुभएको थियो । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौं अवतार मान्दछ । यसैकारण बैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् । यस अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातु सहित प्रभातफेरि एवम् शोभा यात्रा निकालिन्छ । प्रभातफेरि र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामी’, ‘धम्मम् शरणम् गच्छोमी’ र ‘सङ्गम् शरणम् गच्छामी’ को नारा लगाइन्छ । विशेषगरी काठमाडौंको स्वयम्भूनाथ, बौद्धनाथ स्तुपा लगायत मुलुकका विभिन्न गुम्बा तथा बिहारमा बुद्ध धर्मावलम्बीको घुइँचो लागेको छ ।


ADVERTISEMENT