काठमाडौं – २ नम्बर प्रदेशका गाउँ तथा सीमा क्षेत्रहरुमा गैरकानुनी ढँगले सञ्चालित फ्रि डिसका सेवाहरु प्रदेश सरकारले तत्काल बन्द गराउने भएको छ ।


ADVERTISEMENT


यसअघि हिमालय पोष्टमा गैरकानुनी फ्रि डिसबारे समाचार प्रकाशन भएपछि २ नम्बर प्रदेश सरकारका प्रवक्ता एवं सूचना मन्त्री ज्ञानेन्द्र यादवले हिमालय पोष्टसंग कुरा गर्दै फ्रि डिस प्रयोगलाई चाँडै नियन्त्रण गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि हिमालय पोष्टमा प्रकाशित यो समाचार हेर्नुहोस् –
गैरकानुनी ‘फ्रि डिस’ले भड्काउँदै जनताको मन : च्यानल विदेशी, देशलाई नै पो बिर्से की ?

‘सीमा क्षेत्रका गाउँ बस्तीहरुमा प्रयोग भईरहेको फ्रि डिसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ मन्त्री यादवले हिमालय पोष्टसँग भने, ‘२ नम्बर प्रदेशबाट तत्कालै फ्रि डिस हटाईन्छ ।’ काममा कुनै ढिलाई नै नगरी २ नम्बर प्रदेशबाट फ्रि डिसको सेवा र प्रयोगलाई रोक्ने मन्त्री यादवको प्रतिवद्धता छ ।

‘‘फ्रि डिस प्रयोग गर्नु गैरकानूनी हो’’ मन्त्री यादवले थपे, ‘‘यसले एकातिर देशको राजश्वमा खलल पुगेको छ, अर्को घातक कुरा त यस्ता गतिविधीले राष्ट्रियता माथि नै खतरा बढिरहेको छ ।’’ देश भित्रका सञ्चारका माध्यम र सूचनाहरुमा जनताको पहुँच तोड्ने गरी फ्रि डिस सञ्चालन भईरहेकाले यसले राष्ट्रियतामा नै प्रश्न उब्जाएको प्रदेश सरकारले निष्कर्ष निकालेको छ ।

गैरकानुनी फ्रि डिसले पारिरहेको असरबारे अध्ययन गर्न मन्त्रालयले अध्ययन टोली नै बनाएर काम अघि बढाउने बताईएको छ । यस्तै, फ्रि डिस प्रयोग नगर्न यसका नकारात्मक प्रभावबारे जानकारी दिँदै जनतामा जनचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गर्ने तयारी भईरहेको मन्त्री यादवले जानकारी दिए ।

प्रहरी भन्छ, ‘आदेश चाहियो तत्कालै रोक्छौं’

प्रदेश नम्बर २ का प्रहरी प्रमुख  डीआईजी हरि बहादुर पालले समेत फ्रि डिस गैरकानूनी रुपमा सञ्चालन भईरहेको भन्दै यस्लाई रोक्न प्रहरी तयार रहेको बताएका छन् ।

‘‘२ नम्बर प्रदेशमा गैरकानूनी फ्रि डिस प्रयोग बढिरहेको छ’’ डिआईजी पालले हिमालय पोष्टसंग भने ‘‘मन्त्रालय वा सम्बन्धित निकायबाट आदेश आउना साथ यसलाई हटाउन सहयोग गर्न प्रहरी तयार छ ।’’