काठमाडौँ– भारतको १४ औं राष्ट्रपतिमा बिहारका गर्भनर ७१ वर्षीय रामनाथ कोविन्द निर्वाचित भएका छन् । उनी सत्तारुढ भारतीय जनता पार्टीका दलित नेता हुन् ।


ADVERTISEMENT


गत सोमबार भएको मतदानमा झण्डै ९९ प्रतिशत मत खसेको थियो । बिहीबार बिहान एघार बजेबाट मतगणना सुरु भएको थियो भने पााच बजे सकिएको थियो । कोविन्द झण्डै दुई तिहाई मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।


ADVERTISEMENT

# # #


को हुन् कोविन्द ?

१९४५ अक्टोबर १ मा उत्तरप्रदेशको कानपुरमा जन्मेका कोविन्दका बुवा किसान थिए। कानपुर विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका कोविन्दले लामो समय वकालतमा बिताएका छन्।

कानपुर विश्वविद्यालयबाट स्नातक गरेपछि उनी भारतीय प्रशासन सेवामा जागिर खान दिल्ली गएका थिए। आइएएसको परीक्षामा दुई पटक फेल भएका कोविन्द तेस्रो पटकमा उर्तिण भएका थिए तर उनी प्रशासनको जागिर खान गएनन्, वकालतमा आए।

उनले भारतीय प्रधानमन्त्री मोरारजी देसाईको स्वकीय सचिवसमेत बनेर काम गरेका छन्। २०१५–२०१७ सम्म उनी भारतीय राज्य बिहारका गर्भनर थिए। उनले सन् १९९१ मा भारतीय जनता पार्टीको सदस्यता लिएका थिए। १९९८देखि २००२ सम्म उनी भाजपाको दलित मोर्चाका अध्यक्ष बनेर काम गरे। १९९४ मा उनी उत्तरप्रदेशबाट राज्यसभामाको सदस्यमा नियुक्त भएका थिए। उनी दुई कार्यकाल राज्यसभाको सदस्य भए।

उत्तर प्रदेशमा बहुजन समाजवादी पार्टीकी अध्यक्ष एंव पुर्वमुख्यमन्त्री मायावतीलाई टक्कर दिन सक्ने नेताका रुपमा कोविन्दलाई लिने गरिन्छ। उनले शिक्षाका क्षेत्रमा गरेको कामको तारिफ गर्नेहरु पनि धेरै छन्।

सन् २०११को जनगणनामा २० करोड १४ लाख विभिन्न जातका दलित समुदाय भारतमा बस्छन्। त्यो भारतको कुल जनसंख्याको १६।६ प्रतिशत हो। भारतका चार राज्यमा दलितहरु बसोबास गर्छन्। त्यसमध्ये उत्तरप्रदेशमा सबैभन्दा धेरै २०।५ प्रतिशत, पश्चिम बंगालमा १०।७, बिहारमा ८।२ र तमिलनाडुमा ७।२ प्रतिशत दलितको बसोबास छ।

दलितका मुद्दामा प्रतीपक्षीलाई जवाफ दिनकै लागि भाजपाले कोविन्दलाई राष्ट्रपतिमा अघि सारेको थियो। भाजपाले कोविन्दलाई उम्मेदवार बनाउने भएपछि कंग्रेस आई गठबन्धनले पनि दलित महिला मिनाकुमारलाई उम्मेदवार छानेको थियो। दलितभित्र पनि कोविन्द कोली समुदायका हुन्।

जितसँगै उनी भारतमा दलित समुदायबाट राष्ट्रपति हुने दोस्रो व्यक्ति भएका छन्। यसअघि आरके नारायण दलित समुदायबाट भारतको पहिलो राष्ट्रपति बनेका थिए।