भद्रपुर– झापाको अर्जुनधारा नगरपालिका–५ मा मानव वस्तीको बीचमा बच्चासहित जङ्गली हात्तीको बथान दिउँसै आएपछि त्रास फैलिएको छ । भारततिरबाट आएका छ वटा हात्ती आज बिहानदेखि सो वडास्थित ध्यानबहादुर भारतीको उखुबारीमा बसेका छन् ।


ADVERTISEMENT


हात्ती बसेको उखुबारीको वरिपरि दुई दर्जन घर छन् भने डेढ सय विद्यार्थी अध्ययन गर्ने एउटा आधारभूत विद्यालय छेउमै छ । हात्ती दिउँसो बास बस्ने र राति आहारका लागि सक्रिय हुने गर्दछ ।


ADVERTISEMENT

# # #


हात्तीबाट मानव वस्ती र विद्यालयमा क्षति नपुगोस् भनेर डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णु घिमिरेको नेतृत्वमा वन कार्यालयको टोली हात्ती रुग्न खटिएको छ भने सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै टोली विद्यालय र बस्तीको सुरक्षाका लागि परिचालन गरिएको छ ।

करीब ३०० मिटरको दूरीमा रहेको श्री आधारभूत विद्यालयमा पढिरहेका डेढ सय विद्यार्थीलाई विद्यालय हाताबाहिर ननिस्कन र गाउँलेलाई हात्तीसँग नजिस्किन आग्रह गरिएको डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले बताए । हात्ती हेर्न सर्वसाधारणको भीड बढ्दै गएको र कुनै कारणवश हात्तीको बथान त्यहाँबाट बिच्किएमा बस्ती र विद्यालयमा पस्ने जोखिम भएको हुँदा सुरक्षाकर्मीहरु परिचालन गरिएको उनले बताए ।

झापामा भारतबाट बर्खायाममा आहाराको खोजीमा सयौँको बथानमा जङ्गली हात्ती बाहुनडाँगी हुँदै नेपाल पस्ने गर्छन् । हात्तीले दिनहुँ बालीनाली खाएर क्षति पु¥याउने गरेको छ भने हालसम्ममा हिंस्रक आक्रमणमा परेर दर्जनौँ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । रासस