– आबिद हुसेन


ADVERTISEMENT


जतिबेला ३० मे मा क्रिकेट विश्वकपको उद्घाटन खेलमा इङल्याण्ड र दक्षिण अफ्रिका लण्डनको ऐतिहासिक ओवल मैदानमा उत्रिए, त्यतिबेला ६ सय किलोमिटर टाढा रहेको स्कटल्याण्डको शहर एडिनवर्गमा २८ वर्षीय स्कटिश क्रिकेटर सफयान शरीफ २१ मार्च २०१८ को घटना सम्झिरहेका थिए ।


ADVERTISEMENT

# # #


यो त्यो दिन थियो, जुन दिन स्कटल्याण्ड विश्वकप छनोट प्रतियोगितामा समूह चरण पार गर्दै दोस्रो चरणमा पुगेर वेष्ट इण्डिजको सामना गर्दै थियो । यो त्यही दिन थियो, जुन दिन स्कटल्याण्डको विश्वकप खेल्ने सपना खराब अम्पायरिङ र वर्षाले चकनाचुर गरिदिएको थियो । जसको परिणाम स्कटल्याण्ड ५ रनले पराजित हुँदै विश्वकपमा छनोट हुन असफल भयो ।

‘विश्वकप छनोट प्रतियोगिता राम्रोसंग आयोजना गरिएको थियो ।’ उक्त खेलमा म्यान अफ दी म्याच चुनिएपनि टिमलाई जित दिलाउन नसकेका शरीफले बीबीसीसंग कुरा गर्दै भने, ‘तर, डीआरएस वा अन्य दोस्रो सुविधाको कमी थियो । यस्ता स-साना कुराको अभावले पनि कसैको सपना र नतिजामा बाढी ल्याउन सक्ने रहेछ ।’

प्रतियोगितामा उत्कृष्ट बलिङ गरेका शरीफको इशारा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को २०१५ को त्यो निर्णयप्रति थियो, जसमा क्रिकेटको यो सर्वोच्च संस्थाले विश्वकपमा सहभागी हुने टिमको संख्या घटाइदिएको थियो । जसको प्रत्यक्ष असर स्कटल्याण्ड, नेदरल्याण्ड, नेपाल र युएईजस्ता एशोसियट देशलाई परेको थियो ।

बीसीसीआईको स्वार्थ !

आईसीसीले आयोजना गर्ने च्याम्पियन्स ट्रफी, टी-२० विश्वकप र एकदिवसीय विश्वकपको प्रशारण अधिकार नै उसको आम्दानीको प्रमुख स्रोत हो । यही आम्दानी आइसीसीले आफ्ना सदस्य राष्ट्रलाई बाँड्ने गर्छ । सन् २००७ देखि २०१५ सम्म यो आम्दानी एक अर्ब डलरभन्दा बढी थियो । त्यसबाट आईसीसीले आफ्ना १० स्थायी सदस्य (भारत, पाकिस्तान, अष्ट्रेलिया, न्यूजिल्याण्ड, इङल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, वेष्टइण्डिज र जिम्बाब्बे) लाई ५-५ करोड र बाँकी देशका लागि कुल १२ करोड रकम बाँडेको थियो ।

२०१५ देखि २०२३ सम्मको प्रसारण अधिकारबाट मिल्ने करिब डाइ अर्बमध्ये भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आफ्ना खेलहरुबाट बढी रकम उठ्ने भन्दै जुन २०१७ मा ४० करोड रकम माग गर्यो ।

बीसीसीआईलाई ४० करोड दिनका लागि स्थायी सदस्यको कोटाबाट तीन करोड डलरभन्दा ज्यादा र र एसोसिएट देशको कोटाबाट चार करोड डलर कम गरियो । भारतीय अखबार ‘द मिन्ट’ ले आफ्नो अप्रिल २०१८ को एक लेखमा लेखेको छ कि कुन टिमले १० वटा देशको विश्पकप आयोजना गर्ने दबाब दियो र यसको कारण के थियो ?

कुन विश्वकपमा कति देश थिए ?

विश्वकपको पहिलो संस्करण सन् १९७५ देखि २०१५ को विश्वकपसम्म टेस्ट देशबाहेक कुनै न कुनै एशोसियट्स देशले खेल्ने मौका पाएका थिए । तर, २०१९ को विश्वकपमा एकमात्र विश्वकप हो, जहाँ कुनै पनि एशोसियट राष्ट्र सहभागी छैनन् ।

पहिलो चार विश्वकपमा ८ वटा राष्ट्रले प्रतिनिधित्व गरेका थिए । १९९२ मा ९ टोलीले सहभागिता जनाए । यस्तै १९९६ र १९९९ मा यो संख्या बढेर १२ पुग्यो । सन् २००० मा बंगलादेशले स्थायी सदस्यको मान्यता पाएपछि विश्वकप खेल्ने देशको संख्या १० पुग्यो । जसमा अन्य चार एशोसियट्स सदस्यहरु रहेका थिए । २००७ को विश्वकपमा १६ टिमले सहभागिता जनाए । जसमा ६ एशोसियट्स राष्ट्र थिए । तर २०११ को विश्वकपमा दुईवटा संख्या घटाइयो र १४ टोलीले मात्रै सहभागिता जनाए । जसमा ४ एशोसियट्स थिए । जुन २०१५ को विश्वमपमा पनि लागू भयो ।

२०१९ मा भने १० वटा टेस्ट राष्ट्रले मात्रै खेल्ने मौका पाए । दुई वटा टेस्ट राष्ट्र (जिम्बाब्बे र आयरल्याण्ड) र अन्य एशोसियट्स राष्ट्रहरु विश्वकप खेल्नबाट बञ्चित भए ।

आईसीसीको निर्णयमाथि प्रतिक्रिया

आईसीसीले आफ्नो वेबसाइटमा लेखेको छ कि उसको उद्देश्य भविष्यमा क्रिकेटलाई विश्वमाझ लोकप्रिय बनाउनु हो र यसको सुरुवात २०१९ बाट सुरु भइसकेको छ ।

चार वर्ष पहिले टिमको संख्या घटाएपछि आइसीसीका प्रमुख डेव रिचर्डसनले विश्वकप क्रिकेटको सबैभन्दा ठूलो प्रतिस्पर्धा भएकाले त्यहाँ पुग्ने सबै टिमको स्तर समान हुन आवश्यक रहेको दाबी गरेका थिए । गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटमा उत्कृष्ट खेलाडीको पुरस्कार थाप्दै जिम्बाब्वेका खेलाडी सिकन्दर राजाले आइसीसीको टिम घटाउने निर्णयप्रति खेद प्रकट गरेका थिए । जिम्बाब्बे विश्वकपमा छनोट हुन नसकेपछि त्यतीबेला उनले उत्कृष्ट खेलाडीको ट्रफीलाई ‘विडादायक स्मरण’ भनेका थिए ।

‘संसारका हरेक ठूला खेल हुर्नुभयो भने तपाईले यसका प्रशासक यसलाई बढाएर अझ लोकप्रिय बनाउन लागीपरेका देख्नुहुन्छ । तर, क्रिकेटमा यस्तो किन भइरहेको छैन ?’ उनी प्रश्न गर्छन्, ‘जब कुनै सक्षम खेलाडी वा टिमलाई सबैभन्दा ठूलो प्रतिस्पर्धा खेल्नबाट बञ्चित गरिन्छ भने कसरी लोकप्रिय बन्छ त्यो खेल ?’

सुफयान शरीफ आइसीसीको यो फैसला दुःखद रहेको बताउँछन् । उनी भन्छन्, हामीलाई थप मौका मिल्नुपर्छ । विश्वकप खेल्ने टिमको संख्या बढाइनुपर्छ ।’ संयुक्त अरब इमिरेट्स (युएई)का अहमद राजा बताउँछन् कि उनको टिम आउने वर्षहरुमा केही एकदिवसीय खेल खेल्दैछ तर, आवश्यकता ठूला प्रतिस्पर्धामा मौका दिनु रहेको छ ।

उनले भने, ‘क्रिकेटलाई ओलम्पिकमा किन समावेश गरिएको छैन ? यदि क्रिकेटलाई संसारभर चिनाउनु छ भने यसमा फुटबलको शैली अपनाउनु पर्छ ।’ बीबीसी