दुर्गा देवकोटा, कैलाली– सशस्त्र द्वन्द्वको समयमा कैलालीको टीकापुर नगरपालिकाबाट विस्थापित भएका आधा दर्जन बढी सरकारी कार्यालय अझै पुनःस्थापना हुन सकेका छैनन् । सशस्त्र द्वन्द्वका समयमा कैलालीको सत्तीबाट विस्थापित भएका राष्ट्रिय वाणिज्य बैंक, खाद्य संस्थान, पशु क्वारेन्टाइन चेकपोष्ट, चौगुर्दी छोटी भन्सार कार्यालय, अस्थायी प्रहरी पोष्ट चौगुर्दी, अस्थायी प्रहरी पोष्ट खक्रौला र सटही काउण्टरलगायतका कार्यालय अझै पुनःस्थापना हुन सकेका छैनन् ।


ADVERTISEMENT


नेपालमा द्वन्द्व चर्किएपछि विसं २०५८ मा साविकको धनसिंहपुर र नारायणपुर गाविसमा रहेका यी कार्यालय विस्थापित भएका थिए । साविकको धनसिंहपुर गाविसका पूर्वअध्यक्ष जङ्गबहादुर साउदले द्वन्द्वकालमा भत्काइएको सत्ती प्रहरी चौकी अझै पुनःनिर्माण नभएको बताए । “प्रहरी चौकी पुनःनिर्माण नभएका कारण सत्ती प्रहरी चौकी पशु क्वारेन्टाइनको कार्यालयमा बसेको छ ।” द्वन्द्व सकियो, देशमा शान्ति छ तर यहाँ अझै द्वन्द्वका घाउ बाँकी नै छन्”, पूर्वअध्यक्ष साउदले भने, ‘त्यो बेला विस्थापित भएका कार्यालय शान्ति स्थापना भएको १३ वर्ष पुगिसक्दासमेत पुनःस्थापना हुन नसक्नु दुःखद् कुरा हो ।’


ADVERTISEMENT

# # #


यहाँका नागरिकले लामो समयदेखि राष्ट्रिय वाणिज्य बैंक पुनःस्थापनाका लागि पहल गरिरहेका छन् । ‘बैंक पुनःस्थापना नभएका कारण वाणिज्य बैंकमा कारोवार गर्ने व्यापारीले ३५ किलोमिटर टाढा लम्कीबाट सेवा लिन जानुपर्ने बाध्यता छ ।’ नेपाली काङ्ग्रेसका नेता देवेन्द्र ढुङ्गानाले भने, ‘सटही काउन्टर विस्थापित भएपछि नेपाली भारतीय रुपैयाँ साट्दा ठगिने गरेका छन् । नेपालका धेरै मानिस भारतमा रोजगारी गर्छन् । काउण्टर नभएका कारण भारतीय रुपैयाँ साट्दा नेपाली ठगिने गरेका छन् ।’

टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले पशु क्वारेन्टाइन कार्यालय पुनःस्थापना नहुँदा पशुपक्षीको आयात, निर्यात बन्द भएको बताए । उनले भने, ‘यहाँबाट आउनुपर्ने पशुपक्षी धनगढी भएर आउने गरेका छन् । विनाजाँच अवैधरुपमा निकासी हुँदा मानिसको स्वास्थ्यमा असर परेको छ ।’

सत्ती नाकाबाट अवैध भारतीय माछा भने नेपाली बजारमा आउने गरेको छ । स्थानीय प्रशासनले यसमा कडाइ गर्न भने सकेको छैन । द्वन्द्वकालमा सत्ती छोटी भन्सार कार्यालय भवनसमेत भत्काइएको थियो । भत्काइएको सो कार्यालय भवन भने निर्माण भएको छ । त्यसबाहेकका अन्य कार्यालय पुनःस्थापना हुन सकेको छैन । रासस