काठमाडौं – जारी प्रधानमन्त्री कपमा आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशले जित हात पारेको छ । सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


मंगलबार मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले २०.४ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमात्र बनाउन सक्यो । ९० रनको सामान्य चुनौति पच्छ्याएको सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेटको क्षतीमा ९३ रन बनायो । सुदूरपश्चिमका लागि आकाश चन्दले सर्वाधिक २९ रन बनाए । नटआउट रहेका उनले ४३ बलमा २ चौका र २ छक्का प्रहार गरे । यस्तै नरेन्द्र साउदले २३ रन जोडे । लोकेश बमले १५ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


गण्डकीका लागि किशोर महतोले ३ विकेट लिए । ८ ओभरमा एक मेडेन राख्दै उनले २३ रन खर्चिए । यस्तै विपीन खत्रीले २ विकेट लिए भने दिपेश श्रेष्ठले १ विकेट लिए ।

यसअघि गण्डकीका लागि राहुल शर्माले सर्वाधिक ४१ रन बनाए । ४९ बलमा उनले ४ चौका र एक छक्का हाने । किशोर महतोले १४ रन जोड्दा आकाश थापाले १२ रनको योगदान दिए अन्यले दोहोरो अंक छुन सकेनन् ।

गण्डकीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका विनोद लामाले सर्वाधिक ५ विकेट चट्काए । ६ ओभरमा २ मेडेन राख्दै उनले २५ रन खर्चिए । यस्तै कप्तान शेर मल्ल र महेश अधिकारीले समान २ २ विकेट लिए । नरेन्द्र साउँदका नाममा १ विकेट रह्यो ।जारी प्रतियोगितामा यी दुबै टोली दोस्रो चरणमा पुग्न सकेनन् ।