काठमाडौं– विश्व बैंकले चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विश्व बैंकले बिहीबार काठमाडौंमा सार्वजनिक गरेको नेपालको आर्थिक अवस्थासहितको प्रतिवेदनमा चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको हो ।


ADVERTISEMENT


नेपालको अर्थतन्त्र दू्रत गतिमा अघि बढिरहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्वका दुई शक्तिशाली अर्थतन्त्र भएको दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिन सके नेपालको आर्थिक विकासले झनै फड्को मार्ने देखिएको पनि बैंकका दक्षिण एशीयाका वरिष्ठ अर्थशाष्त्री हान्स टिम्मेरले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैंकले पर्यटकको आगमनमा वृद्धि, विद्युत आपूर्तिमा सहज तथा निजी क्षेत्रको लगानीमा भएको विस्तारका कारण व्यापार घाटा बढ्दै जाँदा पनि नेपालको आर्थिक वृद्धिदरमा कमी हुन आउने सम्भावना नदेखिएको पनि स्पष्ट पारेको छ । सरकारी खर्च भने यो वर्ष निराशाजनक हुने विश्व बैंकको ठहर छ । प्रतिवेदनमा तीनवटै तहमा बलियो सरकार बन्नु नेपालको आर्थिक क्षेत्रको विकासका लागि अवसर भएको पनि उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा।युवराज खतिवडाले नेपालको व्यापार घाटा बढदै गएपनि चिन्तित हुनुपर्ने अवस्था नरहेको बताए । उनले आर्थिक गतिविधि बढाउँदा हुन गएको व्यापार घाटाबाट देशलाई घाटा नभई लाभ नै हुने पनि स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले सीमित स्रोत भित्र रहेर सरकारले असीमित दायित्व पूरा गर्न लागि परेपनि वित्तिय अनशासनलाई पूर्ण पालना गरेको दावी गरे ।

अर्थमन्त्री खतिवडाले सरकारले आन्तरिक उत्पादनलाई जोड दिएको उल्लेख गर्दै त्यसबाट केही वर्ष भित्र व्यापार घाटा अन्त्य गर्ने दावी पनि गरे । निरन्तर रुपमा भइरहेको आर्थिक वृद्धिदरलाई कायम राख्न सरकारले विशेष ध्यान दिने अर्थमन्त्री खतिवडाको भनाई छ । अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासमा जोड दिन सरकारले कृषि क्षेत्रमा आधारित उद्योग र विद्युत उत्पादनको कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे ।