काठमाडौं– पश्चिममा विकास भएको न्यून चापीय प्रणाली र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको संयुक्त प्रभावले बिहीबार बेलुका कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


बिहीबार साँझ कैलाली र कञ्चनपुरमा विकसित भएको प्रणाली बिस्तारै सर्दै आज बिहान काठमाडौँसम्म आइपुगी हावाहुरीसहित वर्षा भएको महाशाखाका वरिष्ठ मौसमविद् मौसमविद् बरुण पौडेलले बताए । उक्त प्रणाली विस्तारै मध्य क्षेत्र हुँदै पूर्वतिर सर्दै गइरहेकाले क्षमता कमजोर भई घाम लागेको मौसमविद् पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बेलुकापख भने पुनः प्रि–मनसुनको गतिविधि दोहोरी हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । मनसुन सक्रिय भएपछि मात्र प्रि–मनसुन कमजोर हुँदै जाने मौसमविद्को भनाइ रहेको छ ।

मौसमविद् पौडेलका अनुसार यस वर्ष मनसुन एक साता ढिलो गरी भित्रिने भएको छ । जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन शुरु हुने गर्छ ।

हालसम्म यो प्रणाली विकसित नभएकाले मनसुन ढिलो भित्रिने सम्भावना रहेको हो । सामान्यतया नेपालमा मनसुन शुरु हुने समय जुन १० हो । गत वर्ष जुन ८ मा भित्रिएको थियो ।

आज राति देशको पूर्वी र मध्य भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागहरुमा आंशिक बदली रही मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि पूर्वी तथा मध्य भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागका स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भाग एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

आइतबार देशको पूर्वी तथा मध्य भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागका स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा र मध्य तथा पूर्वी भू–भागका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव शून्य डिग्री, अधिकतम तापक्रम २८ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा धेरै दीपायलको अधिकतम तापक्रम ४१ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । रासस