बिस्केक किर्गिस्तान – सङ्घाई सहयोग सङ्गठन (एससीओ)को शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्रीले पाकिस्तानी समकक्षी इमरान खानसँग भेट हुँदा हात पनि मिलाएनन् । इमरान दुईपटक नजिकिएका थिए । तर, मोदीले उनीतर्फ हेर्नपनि चाहेनन् । बरु, आफ्नो सम्बोधनका क्रममा मोदीले नाम नलिइकनै पाकिस्तानतर्फ इसारा गर्दै आतङ्कवादमाथि कडा टिप्पणी गरे । उनले एससीओको सदस्य देशहरुले आतङ्कवादविरुद्ध एकजुट भएर लाग्न आह्वानसमेत गरे ।


ADVERTISEMENT


उपस्थित सबैले मोदीको इशारा कता थियो भन्ने बुझिहाले । उनले भने, ‘‘आतङ्कवादलाई समर्थन, प्रोत्साहन तथा आर्थिक मद्दत गर्ने मुलुकलाई जिम्मेवार ठान्नु जरुरी छ । एससीओ सदस्यहरुले एकसाथ उभिएर यसका विरुद्ध काम गर्नु आवश्यक छ ।’’


ADVERTISEMENT

# # #


संसार आतङ्कवादबाट आक्रान्त भएकाले यसविरुद्ध सबै मिलेर काम गर्नु अनि आतङ्कवादलाई प्रोत्साहन गर्न भइरहेको आर्थिक सहयोग (फन्डिङ)मा रोक लगाउनु जरुरी रहेको प्रधानमन्त्री मोदीको भनाइ थियो । उनले आफू भर्खरै श्रीलङ्काको भ्रमणमा गएको र त्यहाँ पनि आतङ्कवादको खतरनाक रुप देखेको उल्लेख गरे । सम्बोधनका क्रममा उनले ‘टेररिज्म फ्रि सोसाइटी’को नारा पनि दिए । आतङ्कवाद विरुद्ध भारतले अन्तरराष्ट्रिय सम्मेलनको आह्वान गर्ने पनि उनले बताए ।

आतङ्कवादमाथि आफ्नो कडा टिप्पणीपश्चात् उनले भारतमा रुसी भाषामा पर्यटन हेल्पलाइन सुरु हुने जानकारी दिए । एससीओका सबै सदस्य देशका लागि भारतमा ई–भिसा उपलब्ध भएको पनि उनले बताए । अफगानिस्तानमा शान्ति र स्थिरतका लागि हुने सबैखाले प्रयासमा भारतको साथ हुने उनको भनाइ थियो ।

‘‘हामी सबैको भिजन हाम्रो क्षेत्रमा स्वस्थखाले सहयोगलाई मजबुत गर्नु रहेको छ । स्वास्थ्य सुविधा, आर्थिक, वैकल्पिक ऊर्जाजस्ता कामका लागि हामीले अघि सर्नुपर्छ । भारत मेडिकल टुरिज्मलाई बढावा दिन तत्पर छ । बहुपक्षीय व्यापार प्रणालीको आवश्यकता छ,’’ उनले भने ।

एससीओको शिखर सम्मेलन मोदी र इमरानलगात अन्य देशका सरकार प्रमुखहरु । तस्बिर : एजेन्सी

भारत–पाकिस्तान सम्बन्ध इतिहासकै तल्लो स्तरमा : इमरान

एससीओमा सहभागी हुन जानुपहिले पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एक अन्तर्वार्तामा भार र पककिस्तानबीचको सम्बन्ध सबैभन्दा तल्लो स्तरमा रहेको बताए । उनले भारतीय प्रधानमन्त्री मोदीलाई मिलेको बहुमतको सदुपयोग काश्मिर मुद्दामा गरिने अपेक्षा गरेका थिए ।

‘सांघाई समिट हाम्रालाई भारतका साथै अन्य छिमेकी देशसंगको सम्बन्ध बढाउने सुनौलो मौका हो ।’ उनले भने, ‘पाकिस्तान छिमेकी देशका साथ शान्तिपूर्ण सम्बन्धलाई लिएर कुनैपनि किसिमको मध्यस्थता गर्न तयार छ ।’

उनले भारत र पाकिस्तानबीच भएका तीन युद्धबाट दुबै देशलाई ठूलो नोक्सान पुगेको र हाज दुबै देशले गरिबीको समना गर्नुपरेको उनको भनाई थियो ।

साहित्यिक कृतिको अनुवाद र कनेक्टिभिटी

प्रधानमन्त्री मोदीले आफ्नो देशमा लेखिएका १० श्रेष्ठ कृतिलाई एससीओ देशका भाषाहरुमा अनुवाद गर्ने जानकारी दिए । संस्कृति र साहित्यले समाजमा एकताको भावना उत्पन्न गर्ने बताउँदै उनले साहित्यले कट्टरतामाथि लगाम कस्नेसमेत तर्क गरे । आधुनिक समयमा उत्कृष्ट कनेक्टिभिटी अत्यावश्यक भएको उनको भनाइ थियो । ‘‘फिजिकल कनेक्टिभिटीका साथै पिपुल टु पिपुल कन्ट्याक्ट निकै महत्वपूर्ण हुन्छ,’’ प्रधानमन्त्री मोदीले भने ।

वर्तमान समयमा एससीओ एउटा निकै प्रभावशाली, शक्तिशाली र कुशल क्षेत्रीय सङ्गठनका रुपमा अगाडि आएको छ । यसको शिखर वार्तामा करिब २० देशका राष्ट्राध्यक्ष र तीन ठूला बहुराष्ट्रिय संस्थानका प्रतिनिधि सामेल छन् । यसपटकको शिखर सम्मेलन भारत र चीनका लागि विभिन्न कारणले अहम् रहेको विश्लेषकहरुको भनाइ छ ।

एससीओमा चीन, कजाकस्तान, किर्गिस्तान, रुस, तजाकिस्तान, उज्बेकिस्तान, भारत र पाकिस्तान गरी आठ मुलुक सदस्य छन् । यसका अतिरिक्त चार पर्यवेक्षक मुलुक अफगानिस्तान, बेलारुस, इरान र मङ्गोलिया रहेका छन् । अर्मेनिया, अजरबैजान, कम्बोडिया, नेपाल, श्रीलङ्का र टर्कीचाहिँ डायलग सहयोगीका रुपमा रहेका छन् ।

शिखर सम्मेलनमा यी मुलुकका अतिरिक्त बहुराष्ट्रिय संस्थाहरु– आसियान, संयुक्त राष्ट्र तथा सीआईएसका प्रतिनिधिलाई समेत निम्त्याइएको छ ।

चीन र भारतसमेत विश्वका कतिपय उदाउँदा अर्थतन्त्र भएका मुलुक यसका सदस्य छन् । यी मुलुकबीचको व्यापार सम्बन्धले नेपालजस्ता कम विकसित मुलुकले बढी फाइदा लिन सक्ने अवस्था छ । तर त्यसका निम्ति नेपालले तयारीमा भरपूर ध्यान दिनुपर्नेछ ।

पछिल्लो समय दुई दक्षिण एसियाली मुलुक भारत र पाकिस्तानबीच सम्बन्ध निकै चिसिन पुगेको छ । एससीओमा यी दुवै देशका प्रमुखहरु एउटै मञ्चमा रहने हुनाले पनि यस पटकको सम्मेलन बढी महत्वको मानिएको हो । सन् १९९६ मा एससीओको आरम्भ पाँच देशले सङ्घाई इनिसियटिभका नाममा गरेका थिए । एजेन्सी