नवीनबाबु अधिकारी, काठमाडौँ– बिपी राजमार्गअन्तर्गत सिन्धुली सडकखण्डको चियाबारी, खुर्कोटका होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टासेको हो ।


ADVERTISEMENT


राजमार्ग भएर सवारी भित्रने र बाहिरिनेको सङ्ख्या बढेसँगै अस्वस्थ प्रतिस्पर्धामा होटल खुल्ने क्रम बढ्दै जाँदा उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै खाद्य स्वच्छता स्टिकर टाँसिएको हो । स्टिकरमा थोरैले मात्र खाद्य स्वच्छतामा राम्रो अङ्क प्राप्त गर्दै उक्त स्टिकर पाएका छन् । अधिकांश होटलले भने पहेँलो रङको स्टिकर पाएका छन् ।


ADVERTISEMENT

# # #


डिभिजन कार्यालय सिन्धुलीले चियाबारीका २१ र खुर्कोटका २५ वटा होटलमा अहिलेसम्म खाद्य स्वच्छता स्टिकर टाँसेको कार्यालय प्रमुख प्रेम अर्यालले जानकारी दिनुभयो । पटक पटकको अनुगमन पछि खाद्य स्वच्छता स्टिकर टाँसिएको हो ।

उनले भने, ‘सिन्धुली चियाबारीका २१ होटलले पहेँलो स्टिकर पाएका छन् जुन होटलमा लगाइएको स्टिकरले खाद्य स्वच्छताको दृष्टिकोणले सरसफाइ र होटलको व्यवस्थापनमा कमी भन्ने अर्थ लगाउँछ, हरियो रङको स्टिकर पाउने होटलमा उपभोक्ताले निर्धक्क खान सक्छन् ।’

खुर्कोटमा होटलको अनुगमन गर्दा २५ होटलमा स्टिकर टाँसिएको र १५ वटा दर्ता बिना सञ्चालनमा रहेको पाइएको थियो । अब १५ वटा होटलमा स्टिकर टाँस्न बाँकी छ । ‘खुर्कोटका होटलमा भने पहिलाको अवस्थाभन्दा अहिले उल्लेख्य सुधार आएको पाएका छौँ’, कार्यालय प्रमुख अर्यालले भने । खुर्कोटमा सात होटलले दुई स्टार भएको हरियो, १० वटाले एउटा स्टार भएको हरियो र आठ वटा होटलले पहेँलो रङको स्टिकर पाएका छन् ।

तीनवटा हरियो स्टिकर खाद्य स्वच्छताको स्तरमा क–अति उत्तम, ख–उत्तम, ग–सन्तोषजनक र पहेँलो रङको घ– सामान्य स्टिकर हुन् । तीनवटा हरियो स्टिकर रहेका होटलमा खाना निर्धक्कसाथ खान सकिने र पहेँलोमा खाना खान सोचेर मात्र खानुपर्ने भन्ने जनाउँछ ।

स्टिकर टाँस गर्न होटलको स्तरीकरण ५० वटा सूचकका आधारमा तयार गरिएको छ । डिभिजन कार्यालयले होटल स्तरीकरणसम्बन्धी निर्देशिका २०७४ बमोजिम गरेको मूल्याङ्कनमा होटलले सरसफाइ र खाद्य स्वच्छतामा सुधार गर्नुपर्ने देखिएको बताइएको छ । मूलकोट र भिमानलगायत अन्य क्षेत्रका होटलमा स्टिकर टाँस्ने जनाइएको छ ।

होटल व्यवसायी सङ्घ सिन्धुलीका अध्यक्ष अमृतबहादुर श्रेष्ठको संयोजकत्वमा जेठ १ गते खाद्य स्वच्छतास्तरीकरण समिति गठन गरिएको थियो । समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ, घरेलु तथा साना उद्योग विकास समिति सिन्धुली, स्थानीय जनप्रतिनिधि सदस्य र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली सदस्य सचिव छन् ।

सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले होटलमा स्टिकर टाँस गर्दै स्तर सुधार गर्न आग्रह गरे । मापदण्डमा सञ्चालन नभएका होटललाई स्तर सुधार गर्न केही समय दिइने र त्यसपछि पनि सुधार नगरे कारवाही गर्ने उनले बतए । पछिल्लो समयमा राजमार्गको विस्तारसँगै सवारीको चाप बढ्दै जाँदा दिन प्रतिदिन होटलको सङ्ख्यामा वृद्धि भएको र गुणस्तरहीन खाना, खाजा खुवाएको भन्ने गुनासो आएकाले विभिन्न निकायसँग सहकार्य गरेर अनुगमन गरिएको उनको भनाइ थियो ।

होटल व्यवसायी सङ्घ सिन्धुलीका अध्यक्ष श्रेष्ठले होटल व्यवसायीको हितका लागि होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएको बताए । व्यवसाय सञ्चालन गर्दै गर्दा नियममा रहेर गर्नुपर्ने भन्दै उनले व्यवसायीले गुणस्तरीय व्यवसायको सन्दर्भमा काम गर्न आग्रह गर्दै कम्तीमा पनि खाद्य स्वच्छताको मापदण्ड पूरा गर्न व्यवसायीलाई आग्रह गरे । रासस