काठमाडौँ – नेकपाका सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई अनुशासनको कारबाही गरिनुपर्ने माग गरेका छन् ।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै बाजुराबाट प्रतिनिधिसभाका लागि प्रतिनिधित्व गर्ने सांसद थापाले मन्त्री महासेठले पदीय दुरुपयोग गरेको भन्दै राजीनामा माग गरेका हुन् । उनले मन्त्री महासेठले आफ्नो जिल्लामा मात्रै योजना लिएको, बजेटका विषयमा अन्य सांसद र जिल्लाप्रति पूर्वाग्रही भएको, दुर्गम तथा हिमाली जिल्लाहरुलाई बिर्सेको आरोप लगाए ।


ADVERTISEMENT

# # #


भौतिक पूर्वाधारका क्षेत्रमा बाजुरालाई मन्त्री महासेठले कुनैपनि योजना नछुट्याएको र योजनाको माग गर्दा उल्टै हप्की खानुपरेको आरोप लगाए । सांसदले आफ्ना जिल्लामा विकास निर्माणका लागि बजेट विनियोजन गर्न माग गर्दा मन्त्री महासेठ जनप्रतिनिधिसँग हुकुमी शैलीमा प्रस्तुत हुने गरेको आरोप समेत उनले लगाए ।

‘धनुषामा मात्रै ७९ वटा नयाँ र क्रमागत आयोजनाहरु छन् । पक्की पुलका नयाँ र क्रमागत आयोजना पनि ७९ वटा छन् । तर, बाजुराका लागि नयाँ सडक र पुलका योजनामा मन्त्रीले कतै ठाउँ दिनुभएको छैन ।’ उनले भने, ‘यसरी एउटा पूर्वाग्रही व्यवहार गर्ने, राज्यको वित्तीय स्रोतलाई मनोमानी र स्वेच्छाचारी ढंगले आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित गर्ने मन्त्रीलाई अनुशासनको कारबाही गरेर पदमुक्त गर्नुपर्छ भनेर म दृढ माग गर्दुछु ।’

यस्तै उनले आफ्नो जिल्लाका लागि बजेट नै विनियोजन नगरेको भन्दै उनले वार्षिक बजेट‍ तथा कार्यक्रम (रातो किताब) नलिने घोषणा गरे । ‘यो किताब लिन सक्दिनँ । आफ्नो जिल्लामा योजना नभएको किताब बाजुरेली जनतामाझ कसरी लैजानु ?’ उनले भने, ‘यो लियो भने त्यहाँका जनतामाथि अपमान हुन्छ ।’