– दीपक पाठक, सञ्चालक समिती सदस्य, रेडियो नेपाल एवं अध्यक्ष तथा सम्पादक मार्गदर्शन मिडिया


ADVERTISEMENT


तपाई अहिले रेडियो नेपालको सञ्चालक समिति सदस्य हुनुहुन्छ । तपाई आईसकेपछि रेडियो नेपालमा के परिवर्तन आयो ?


ADVERTISEMENT

# # #


रेडियो नेपाल एउटा इतिहास बोकेको संस्था हो । रेडियो नेपालमा विकृति, विसंगती भए, त्यसको अन्त्य गर्नुपर्यो भनेर मलाई जसरी बोलाईएको थियो । तर, एउटा सञ्चालक समतिको सदस्यको काम भनेको नीतिगत कुरामात्रै गर्ने हुन्छ । त्यो बाहेक सबै काम कार्यकारीले गर्ने हो । एउटा कार्यकारीको हैसियतमा म त्यहाँ गएको भए सरकारले चाहेको जस्तो रेडियो नेपाल बनाइसक्थेँ । तर, पनि बोर्डमा भएका हिसाबले भन्नुपर्दा अहिले सातै प्रदेशमा प्रादेशिक कार्यालयहरु सञ्चालन भइसकेका छन् । अर्को, यो वर्ष रेडियो नेपालले उत्कृष्ट सरसफाइको पुरस्कार प्राप्त गरेको छ । सरकारले लागू गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन भएको छ । सातै प्रदेशका कार्यालयहरु सुव्यवस्थित बनाउँदै स्टुडियोहरुको पुनर्निर्माण गर्ने काम तीव्र गतिमा भइरहेको छ । एउटा नीतिगत ठाउँमा रहेर गर्न सक्ने काम मैँले राम्रो किसिमले गरिरहेको छु ।

यस समयमा तपाई रेडियो नेपालका प्रादेशिक स्टेसशनहरुमा जानुएको थियो । के पाउनुभयो अवस्था ?

एउटा सुदूरपश्चिमबाहेक ६ वटा प्रदेशमा म पुगेको छु ।

रेडियो नेपालका कार्यालयको अवस्था देख्दा मलाई अत्यन्तै रुन मन लागेको थियो । २००७ सालमा स्थापना भएको एउटा सरकारी मिडिया रेडियो नेपाल यस्तो अवस्थामा छ भन्ने मैँले कल्पना पनि गरेको थिइनँ । रेडियो नेपालका कार्यालयहरु हेर्नुस् यति दर्दनाक छन् की कार्यालयमा काम गर्ने अवस्था पनि छैन । टेबल कुर्सीहरु भाँच्चिएका छन्, स्टुडियो भत्किएको अवस्थामा छ, ट्रान्समिटरले राम्रो काम गरिरहेको अवस्था छैन ।

केन्द्रीय कार्यालयमा पनि त्यस्तै अवस्था थियो । अहिले म आईसकेपछि कार्यालय सुधारउन्मुख भएको छ । मर्मत सम्भारका कामहरु बढाएको छु । भग्नाबशेष बनिरहेको रेडियोको पोखरीलाई आकर्षक ढँगले पुर्ननिर्माण गरेर मनमोहक बनाईरहेको छु । सबैलाई काम गर्ने वातावरण मैँले त्यहाँ सिर्जना गरेको छु । रेडियो नेपाललाई बचाउनका लागि, यसलाई अझ लोकप्रिय बनाउनका लागि मैँले थुप्रै काम गरिरहेको छु । रेडियो नेपाललाई सञ्चार माध्यमको मन्दिर बनाउन म लागेको छु, सबैलाई साथ दिन आह्वान पनि गर्छु ।

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई ‘मर्ज’ गरेर पीएसबी (सार्वजनिक प्रशारण सेवा)मा लैजाने भन्ने कुुरा पनि उठिरहेको छ । त्यसको नेतृत्वमा तपाई पनि चर्चामा हुनुहुन्छ । के छ तपाईको भनाई यसमा ?

म पत्रकारितामै स्नातकोत्तर गरेको मान्छे । कानुनमा पनि एलएलबी गरेको मान्छे । रेडियोमा मात्रै म ७ वर्ष काम गरेको छु । यो पेसामा म २२ वर्षदेखि सक्रिय छु ।

यस हिसाबले के भन्छु भने रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गरेर सार्वजनिक प्रशारणमा गएर मलाई सरकारले कुनैपनि कार्यकारी पदको जिम्मेवारी दिईयो भने दुई वर्षभित्र उत्कृष्ट सार्वजनिक प्रशारण सेवाको रुपमा यसलाई प्रमाणित गरिदिन्छु । म काम गर्ने मान्छे हुँ, गफ गर्ने मान्छे होइन ।

कहिले सम्ममा जान्छ त पीएसबीमा ?

आगामी वर्षको बजेटमा पनि यसलाई पीएसबीमा लैजाने कुरा गरिएको छ । कहिले जान्छ भन्ने त टुंगो छैन । तर मन्त्रीले जतिसक्दो चाँडो लैजान्छौँ भन्नुभएको छ । दुईचार महिनामा टुंगिनसक्ला ।

अर्को अहिलेको महत्वपूर्ण कुरा । सरकारले मिडिया काउन्सिल विधेयक संसदसम्म पुर्याएको छ । पत्रकार महासंघले त्यसको विरोध गर्दै विभिन्न चरणका आन्दोलन थालेको छ । यो विधेयकलाई तपाईले कसरी हेर्नुभएको छ ?

पत्रकार महासंघको आन्दोलन त आन्दोलनका नाममा गरिएको आन्दोलन मात्रै हो । यसको कुनै अर्थ र औचित्य छैन । पत्रकार महासंघलाई मैँलेपनि लामो समयदेखि बुझेको छु । म पनि महासंघको महासचिव र उपाध्यक्षको उम्मेदवारका रुपमा लड्दै आएको मान्छे हुँ । मुलुकभरका पत्रकारको नेटवर्क मसंग पनि छ । त्यसकारण पत्रकार महासंघ कहाँको एजेण्डा बोकेर हिंड्छ ? वास्तविक रुपमा पत्रकारको एजेण्डा महासंघले बोक्छ कि बोक्दैन ? महासंघमा गएकाहरु पत्रकार छन् कि छैनन् भन्ने कुरा गम्भीर हो । त्यसकारण पत्रकार महासंघले गरेको आन्दोलनको कुनै औचित्य छैन ।

जहाँसम्म मिडिया काउन्सिल विधेयकको कुरा छ, यो अत्यन्तै उपयुक्त, अत्यन्तै स्वागत योग्य र राम्रो छ ।

यो विधेयकले पत्रकारलाई जिम्मेवार, मर्यादित र व्यवस्थित बनाउँछ । पत्रकार भन्ने बित्तिकै जे पायो त्यही गर्ने भन्ने हुँदैन । पीत पत्रकारिता गर्ने, चरित्रहत्या गर्ने, पत्रकारिताका नाममा धन्दा सञ्चालन गर्नेका लागि यो टाउको दुखाईको विषय बनेको छ । उनीहरु यसबाट आत्तिएका छन् ।

बाहिरबाट बोकिएका मान्छेहरुले यसको विरोध गरेका हुन् । यो विधेयक जस्ताको त्यस्तै पारित गर्नुपर्छ भन्ने मेरो भनाई हो । यो विधेयक आयो भने पत्रकार र मिडिया जिम्मेवार किसिमले चल्छन् ।

तर, सिंगो महासंघ र पत्रकारहरु नै विरोधमा उत्रिएका छन् । तपाईले राम्रो छ मात्रै भएन नि ?

मैँले अघि पनि भनेँ, रत्नपार्कमा आएर जुलुस लगाउँदैमा सिंगो महासंघ हुँदैन । यहाँ १३ हजार पत्रकार छन् । जुलुसमा कतिजना आएका छन् भन्ने कुराले अर्थ राख्छ । तपाईले टाउका गन्न थाल्नुभयो भने एक सय जनापनि पुग्दैनन् । सय जना नै सिंगो महासंघ हो भन्ने मलाई लाग्दैन । प्रेस काउन्सिल खारेज भएर मिडिया काउन्सिल आएपछि आफ्नो जागिर खुस्किने भयो, लामो समयदेखिको रजाईँ अन्त्य हुनेभयो भनेर कसैलाई टाउको दुखेको होला । आफ्नो मृत्युपत्रमा कोही पनि हस्ताक्षर गर्न चाहँदैन । त्यसैको टाउको दुखाई हो यो ।

भनेपछि, तपाईको बुझाईमा मिडिया काउन्सिल विधेयक मिडियाको हितमा छ !

संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिसकेको छ । यो अवस्थामा ऐनमा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने भन्ने कुरा त आउँदै आउँदैन नि । ऐन त मिडियालाई व्यवस्थित गर्ने गरी आउँछ नि ।

तर, प्रेसलाई नियन्त्रण वा व्यवस्थित गर्ने नाममा सरकार कतै निरंकुश पो हुने हो कि भन्ने शंका पैदा गरिएको छ ।

संविधानमै व्यवस्था गरिसकेपछि दायाँबायाँ गर्ने कुरा आउँदैन । अहिले तपाईले लेखेकै भरमा कहाँ थुनिनु भएको छ ? नेपालभन्दा प्रेस स्वतन्त्रता भएको मुलुक मलाई देखाउनुस् त ? तर, जे मन लाग्यो त्यही लेख्नेलाई थुन्नु नै पर्छ । यो व्यवस्था जुनसुकै देशमा पनि छ । पत्रकार संविधानभन्दा माथि जान पाउँछ ? पत्रकारलाई नियम कानुन लाग्दैन ? त्यसकारण त्यस्त विकृतीहरुलाई समाप्त पार्नका लागि यो ऐन कोशेढुंगा हो भन्ने मलाई लाग्छ ।

पछिल्लो समय पाँच वर्षका लागि भनेर दुई तिहाई बहुमतसहितको सरकार आएको छ । तर, यो सरकार आएदेखि जुन किसिमका निर्णयहरु भइरहेका छन् । ती आलोचित बन्दै गएका छन् । सरकारको कामप्रति तपाईको टिप्पणी के छ ?

‘सरकारले समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि ल्याएको छ । जुन अत्यन्तै सुन्दर नारा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो देशमा केही कुरा गर्न खोज्नु भएको भन्ने कुरा देखिन्छ ।

तर, प्रधानमन्त्रीलाई कर्मचारीतन्त्र, कुटनीतिक नियोगले अवरोध गर्ने, आफ्नै पार्टीका नेताहरुले असहयोग गर्ने काम भइरहेको छ । प्रधानमन्त्रीको गतिमा मन्त्री, कर्मचारी वा सचिवालयका कर्मचारीले काम गर्न सकेका छैनन ।

सबैले प्रधानमन्त्रीलाई पाँच वर्ष साथ दिने हो भने यो मुलुक समृद्ध बन्छ । पाँच वर्षको लागि यो सरकार टिक्छ र टिक्नुपर्छ भन्ने मेरो मान्यता हो ।

नयाँ ऐन आइसकेपछि अहिलेको प्रेस काउन्सिल खारेज हुने भन्ने कुरा छ । त्यसपछि बन्ने मिडिया काउन्सिलको स्वरुप कस्तो हुनुपर्छ ?

प्रेस काउन्सिल अहिलेसम्म छ भन्ने मलाई लाग्दैन ।

अपवाद बाहेक अहिलेसम्मका मान्छेहरुले प्रेस काउन्सिललाई ठगीखाने भाँडो बनाए । प्रेस काउन्सिलको इज्जत प्रतिष्ठा अहिले छ ? प्रेस काउन्सिल प्रत्रकार र मिडियाको संरक्षण र संवर्द्धन गर्ने संस्था हो । तर अहिले त्यसले आफ्नो जिम्मेवारी निभाएको छ ? त्यसकारण सबै मिडियालाई मोनिटरिङ गर्नसक्ने काउन्सिलको आवश्यकता छ भन्ने मेरो १० वर्षदेखिको लडाईँ अहिले मिडिया काउन्सिल आएर पूरा भएको छ ।

मिडिया काउन्सिलमा आउने मान्छे मिडिया बुझेको, मिडियामा अनुभव हासिल गरेको र पत्रकारिता पढेको व्यक्ति आउनुपर्छ भन्ने मेरो मान्यता हो ।

अन्त्यमा, प्रधानमन्त्री ओलीको बिश्वासिलो पत्रकार भनेर तपाईलाई बुझ्ने गरिन्छ । प्रधानमन्त्री र तपाईबीचको सम्बन्ध खासमा के हो ?

म विगत २२ वर्षदेखि प्रधानमन्त्री ओलीसंगको निकटमा छु । किनभने एक त गृह जिल्ला र निर्वाचन क्षेत्र पनि एउटै भयो । । प्रेस चौतारीको पनि सदस्य भएको हुनाले नजिक हुनु स्वभाविक नै हो । एउटा दूरदर्शी र विकासप्रेमी छवी देखेर नै मैँले उहाँको व्यक्तित्वलाई पत्रकारितामार्फत उठाउँदै आएको हो । जुन अहिले देखिएको पनि छ ।

१० वर्षअघि मुलुकले खोजेको प्रधानमन्त्री भनेर लेख्दाखेरि दीपक पाठक बौलायो भनेर भने । तर, अहिले उहाँहरुको बोलि बन्द भएको छ । 

केपी ओली जस्तो प्रधानमन्त्री न त विगतमा थिए, न त भविष्यमा आउने छन् । उहाँलाई साथ दिने हो भने काम गरेर देखाउने मान्छे हो । प्रधानमन्त्री ओलीसंग मेरो कर्म र विश्वासको सम्बन्ध छ ।