काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका राजपाका निलम्बित सांसद रेशम चौधरीलाई अस्पतालमा भर्ना गर्दा लगाइएको नेल (सिक्री) तत्काल फुकाउन निर्देशन दिएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मी मार्फत् सम्बन्धित निकायलाई नेल फुकाउन निर्देशन दिएका हुन् । अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको तस्बिरसहितको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले शनिबार घटनाबारे चासो राख्दै निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


धानमन्त्री ओलीले नेल लगाउन निर्देशन दिने सम्बन्धित व्यक्तिलाई समेत कारबाही गर्न रेग्मीलाई भनेका छन्। ओलीले अस्पतालमा हुँदा नेल लगाउनु मानवीय नभएको र मानवअधिकार विरुद्ध भएको बताएका छन्। ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ुपहिला कुनै व्यक्ति खराब आचरण हुँदा नेल लगाउने चलन थियो। तर अहिले त्यस्तो अवस्था छैन। चौधरीलाई नेल फुकाएर उपचार गराउनु।ु
फोक्सो र ढाडमा समस्या देखिएपछि चौधरीलाई बिहीबार अस्पताल भर्ना गरी उपचार थालिएको थियो।

चौधरीको खुट्टामा प्रहरीले मोटो नेल लगाइएको थियो। दुई सातादेखि बिमार चौधरीलाई जेल प्रशासन र चिकित्सकको सल्लाहमा बिहीबार अस्पताल भर्ना गरिएको हो। फोक्सोमा समस्या उत्पन्न भएपछि चौधरीलाई सास फेर्न गाह्रो हुने गरेको छ। ढाडको बोनम्यारोमा पनि समस्या देखिँदा उनी हिँडडुल गर्न नसक्ने भएको पारिवारिक स्रोतको भनाइ छ।

चौधरीलाई अस्पतालमा परिवारका सदस्य र जेल प्रशासनबाट खटिएका हतियारधारी प्रहरीले कुरिरहेका छन्। उनलाई कम्तीमा १० दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएको पारिवारिक स्रोतको भनाइ छ। चिकित्सकले चौधरीलाई दैनिक थेरापी गर्न र बेड रेस्ट गर्न सुझाएका छन्।

संविधानसभाबाट संविधान जारी हुनुअघि २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा एसएसपी र नाबालकसहित नौ जनाको हत्या भएको घटनामा चौधरी संलग्न रहेको निष्कर्षसहित जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको फैसला सुनाएको छ। टीकापुर घटनापछि भारतमा लुक्दै आएका चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा कैलाली–१ बाट सांसद निर्वाचित भएका थिए।