काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले पृथक धावक तथा हिमाल आरोही सञ्जय पण्डितको पार्थिव शरीरमा आज राष्ट्रिय झण्डा ओढाई सम्मान गरेका छन् ।


ADVERTISEMENT


श्रद्धाञ्जलिका लागि पण्डितको शव राखिएको स्थल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् परिसरमा पुगी प्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि व्यक्त गरे । अमेरिकाको अलास्का राज्यमा अवस्थित डेनाली हिमाल आरोहणका क्रममा २९ वर्षीय आरोही पण्डितको गत असार २ गते लेक लागेर निधन भएको थियो । एक महिनाभन्दा बढी समयपछि उहाँको शव गए राति काठमाडौँ ल्याइएको थियो । आज बिहान १० बजे पण्डितको शव श्रद्धाञ्जलिका लागि राखिएको थियो ।


ADVERTISEMENT

# # #


सो अवसरमा प्रधानमन्त्री देउवाले प्रतिभाशाली पण्डितको निधनले राष्ट्रलाई क्षति पुगेको बताए । “सञ्जय पण्डितजीको नेपालको पहिचानलाई चिनाउने आरोहणका क्रममा अमेरिकाको अलास्कामा दुःखद निधन भयो । यसले सबै नेपालीलाई चोट पुगेको छ । उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु,”, उनले भने ।

सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता डा रामशरण महत तथा नेकपा(माओवादी केन्द्र)का वर्षमान पुनले पण्डितलाई श्रद्धाञ्जलि दिएका थिए। पण्डितलाई श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता, शुभेच्छुक, सर्वसाधारण, राष्ट्रिय खेलाडी तथा खेलप्रेमी र आरोहणमा संलग्न व्यक्तिहरु त्रिपुरेश्वर पुगेका थिए ।

लेक लागेर बिरामी हुनुभएका पण्डितको डेनाली आरोहण गर्ने क्रममा निधन भएको थियो । उनी पहिलादेखि नै चिसोका कारण बिरामी परेकाले परिवारले आरोहण नगर्न भने पनि आरोहणमा गएको पण्डितका भाइ देवेन्द्र वर्माले बताए । वर्माका अनुसार पण्डितले दुई हजार ४०० किमी म्याराथन र सात वटै महादेशका प्रमुख हिमाल आरोहण गरेका थिए । डेनाली हिमालको उचाइ २० हजार १५६ फिट अर्थात् छ हजार १४४ मिटर छ । पण्डितको १७ हजार २०० फिट उचाइमा निधन भएको थियो । पण्डितले यसअघि पनि एक पटक उक्त हिमाल चढिसकेका थिए । मौसम खराबीले पण्डितका शव ल्याउन ढिलो भएको बताइएको छ ।

विसं २०६५ देखि साहसिक यात्रा सुरु गर्नुभएका पण्डितले प्युठानको स्वर्गद्वारीबाट काठमाडौँको दूरी ४७ घण्टा २० मिनेटमा पार गरेका थिए । उनले अन्य थुप्रै दौड पूरा गरेका छन् । नेपाल–चीन सिमाना तातोपानी खासादेखि काठमाडौँ तथा गोरखादेखि काठमाडौँसम्म पनि उनले दौड पूरा गरेका थिए।

त्यसपछि हिमाल आरोहण शुरु गरेका पण्डितले सगरमाथा दुई पटक सफल आरोहण गरिसकेका थिए । सातै महादेशका सर्वोच्च शिखर चढ्ने निर्णयअनुरुप पण्डितले अफ्रिकाको छानाका रुपमा चिनिएको माउन्ट किलिमान्जेरोको सफल आरोहण गरेका थिए । दक्षिण एशियाकै तीव्र गतिका आरोही सञ्जयले युरोपको सर्वोच्च शिखर माउन्ट एल्बरुसको सफल आरोहण गर्दै चुचुरोमा छ मिनेट तीन सेकेन्ड अर्धनग्न बसी नयाँ कीर्तिमान कायम गरेका थिए। रासस