काठमाडौं – दुर्लभ वन्यजन्तु गैंडाको खागसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी काठमाडौं महानगरपालिका–१७ ढल्कुबाट दुर्लभ वन्यजन्तु गैंडाको खाग जस्तो देखिने वस्तु १ थान र सेतो सिसाको पत्थर जस्तो देखिने वस्तु १ थान सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा गोरखा सिर्दिबासका लाल बहादुर गुरुङ, मकवानपुरका अष्ट बहादुर थिङ र धादिङ महादेव वेशि थाक्रे गाउँपालिका गोविन्द प्रसाद मोक्तान रहेका छन् ।


ADVERTISEMENT

# # #


उक्त स्थानमा डेरा गरी बस्ने लाल बहादुर गुरुङ लगायतका व्यक्तिहरुले दुर्लभ वन्यजन्तु गैंडाको खाग ५५ लाख रुपैयाँमा कारोबारको सूचना पाएपछि महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । लालबहादुरको डेराकोठा खानतलासी गर्दा उनीहरुलाई उक्त बस्तु सहित फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।