काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।


ADVERTISEMENT


नेपालको ४०औँ प्रधानमन्त्रीका रुपमा गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाले जेठ २४ गते आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए। मन्त्री चयनमा आफ्नै पार्टीको आन्तरिक समस्या झेल्दै आएका देउवाले दोस्रो चरणको स्थानीय चुनावको व्यस्ततालाई कारण देखाउँदै मन्त्रिपरिषद बिस्तार गरेका थिएनन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले बुधबार मध्याह्नसम्ममा मन्त्रिमण्डल विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए । बुधबार नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), नेपाल लोकतान्त्रिक फोरम र नेकपा(संयुक्त)लगायत दलबाट मन्त्रिमण्डलमा सहभागी हुने उनले बताए ।

काँग्रेसबाट यज्ञबहादुर थापा, सञ्जय गौतम, रामकृष्ण यादव, राजन केसी, भीमसेनदास प्रधान, अम्बिका बस्नेत, मोहन बस्नेत, वीरबहादुर बलायर, मीनबहादुर विश्वकर्मा र अर्जुन जोशी मन्त्रिमण्डलमा सहभागी हुने चर्चा छ ।

यसैगरी माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, श्यामकुमार श्रेष्ठ, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही र सीता नेपालीलगायतको नाम चर्चामा छ । यस्तै फोरम लोकतान्त्रिकले जितेन्द्रनारायण देवलाई सरकारमा पठाउने तयारी गरेको छ । यस्तै नेकपा (संयुक्त) ले सांसद मिथिला चौधरीलाई पार्टीका तर्फबाट सरकारमा पठाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित काँग्रेसका तीन, माओवादी केन्द्रका तीन र नेपाल लोकतान्त्रिक फोरमबाट एक जना गरी आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए ।

फोरमका विजयकुमार गच्छदारले उपप्रधान र सङ्घीय मामिला तथा स्थानीय विकास, माओवादी केन्द्रका कृष्णबहादुर महराले उपप्रधान र परराष्ट्र साथै काँग्रेसका गोपालमान श्रेष्ठले उपप्रधान र शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।

त्यसैगरी काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ, फरमुल्लाह मंसुरले श्रम तथा रोजगार, माओवादी केन्द्रका जनार्दन शर्माले गृह र प्रभू साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।