स्याङ्जा– जिल्ला अस्पतालको एम्बुलेन्स झण्डै एक वर्षदेखि बिग्रिएर थन्किएपछि बिरामी मारमा परेका छन् । एम्बुलेन्स थन्किए पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।


ADVERTISEMENT


बिरामीलाई एम्बुुलेन्समा अक्सिजन लगाएर अन्यत्र लैजानुपर्ने हुन्छ । अरु सवारीसाधनमा यसका लागि गाह्रो हुन्छ । पुतलीबजार नगरपालिका–३ का रवीन्द्र श्रेष्ठ एम्बुलेन्स नहुँदा पटक पटक सास्ती भोग्नुपरेको बताउँछन् । जिल्ला अस्पतालका प्रमुख चिकित्सक डा.अमृत पोख्रेलले बिरामीले ट्याक्सीको भर पर्नुपरेको बताए । ‘अहिलेसम्म कतैबाट सहयोग पाउन सकेका छैनौँ’, उनले भने ।


ADVERTISEMENT

# # #


अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माले विगतमा बिग्रिएको एम्बुलेन्स बेलाबेलामा मर्मत गरेर सञ्चालन गरे पनि एक वर्षयता मर्मत गर्न नसकिएको बताए । ‘मर्मत गर्दागर्दै हैरान भएपछि एम्बुलेन्स थन्क्याएका हौँ’, उनले भने ।

दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटना हुँदा पुतलीबजार नगरपालिका–१३ का कोसिन्दर क्षेत्रीको मृत्यु भएको छ । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आज उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

मङ्गलबार भिरकोट नगरपालिका–१ लामाचौरस्थित सिद्धार्थ राजमार्गमा ग १६ प ९१२४ को स्कुटर दुर्घटना हुँदा त्यसमा सवार क्षेत्री र चालक राजेश केसी घाइते भएका थिए । स्कुटर अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।