काठमाडौं – मलेसियामा जारी यू-१९ एसिया कप क्रिकेटको पूर्वी क्षेत्र छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार समूह ‘ए’मा रहेको नेपालले चीनमाथि १० विकेटको जित निकालेको हो । ५४ रनको लक्ष्य नेपालले पाँच ओभरमा नै पूरा गरेको हो ।


ADVERTISEMENT


मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गर्न आएको चीन २३.१ ओभरमा ५३ रन बनाएर अलआउट भयो । उसका लागि गाउहाओ गाओ र लियाङ चेनले समान १३-१३ रन बनाउनु बाहेक अन्यले दोहारो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालका सागर ढकालले घातक बलिङ गरे । ९.१ ओभरमा ३ मेडेन राख्दै १९ रन मात्र खर्चिएका उनले ६ विकेट चट्काए । यस्तै तिलक राज भण्डारीले ७ ओभरमा ३ मेडेन राख्दै १५ रन खर्चिएर ३ विकेट लिए ।

यस्तै कमलसिंह ऐरीका नाममा १ विकेट रह्यो ।

५४ रनको सामान्य लक्ष्य पच्छ्याउँदै जवाफी ब्याटिङमा आएको नेपालले ५ ओभरमा नै बिनाविकेटको क्षतीमा ५७ रन बनायो । नेपालका लागि पवन सर्राफले आक्रामक ब्याटिङ गरे । पवनले २१ बलमा अविजित ४६ रन प्रहार गरे । त्यसक्रममा उनले ३ छक्का र ६ चौका प्रहार गरे । साथै रित गौतमले एक चौकाको मदतमा १० बलमा १० रन बनाए ।

खेलका म्यान अफ दि म्याच सागर ढकाल चुनिए ।

आजको जितसंगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ भने चीन लगातार दुई हारसंगै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि चीन सिंगापुरसंग पराजित भएको थियो ।

दोस्रो खेल नेपालले शुक्रबार सिंगापुरसँग खेल्नेछ । पूर्वी क्षेत्रीय छनोटको यो प्रतियोगिता जितेर अगस्ट २८ देखि श्रीलंकामा हुने यू-१९ एसिया कपमा खेल्ने नेपालको लक्ष्य छ ।