बाजुरा – जिल्लाको ठूलो नदी बूढीगङ्गा थुनिने सम्भावना छ । बूढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको बीच भएर बग्ने सो नदी त्रिवेणी नगरपालिका–९ पैंमाबाट खसेको पहिरोका कारण नदी थुनिने सम्भावना बढेको हो । उक्त नदी अघिल्लो वर्ष पनि सात दिनसम्म थुनिएको थियो ।


ADVERTISEMENT


१० दिनदेखि पैंमाबाट पहिरो निरन्तर खसिरहेकाले नदी थुनिने अवस्थामा पुगेको त्रिवेणी नगरपालिका प्रमुख रामसिंह रावलले बताए । वर्षा भइरहेका कारण पहिरो नियमित बग्न थालेको छ ।


ADVERTISEMENT

# # #


नदी थुनिनसक्ने भएकाले गृह मन्त्रालयमा यसबारे जानकारी दिइसकिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए । उक्त नगरपालिकाको पहाडबाट खसेको पहिरोले पानीको बहाबलाई रोकेर बूढीगङ्गा नगरपालिकाको पहाडको छेउबाट पानी बग्न थालेकाले विस्तारै पानी थुनिने सम्भावना देखिएको उनको भनाइ थियो ।

हामीले सबैतिर खबर गरेका छौँ, सङ्घीय सरकारले पूर्वसूचना प्रणाली राख्न र दिगो व्यवस्थापनका लागि केही पहल शुरु गरेको प्रजिअ न्यौपानेले जानकारी दिए । उनका अनुसार तत्कालका लागि भने सचेत हुन सूचना गर्नुबाहेक अरु प्रक्रिया अघि बढाउन सकिएको छैन ।

चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले नदी नियन्त्रण तथा व्यवस्थापनका लागि रू एक करोड बजेट विनियोजन गरेको थियो । नदी थुनिएसँगै साँफे मार्तडी सडकखण्ड पूर्णरुपमा क्षति हुने अनुमान यहाँका बासिन्दाले गरेका छन् ।

पहिरोले पैंमाको बस्तीसमेत जोखिममा पारेको छ भने नदी थुनिएमा बूढीगङ्गा नगरपालिका–१ अम्कोट र बल्देको बस्ती सार्नुपर्ने स्थानीयवासी नवराज पाध्यायले बताए । नदी बग्ने बाटो साँघुरिँदै गएको र जतिबेला पनि नदी थुनिन सक्ने भएकाले सेना र प्रहरीलाई तयारीमा अवस्थामा राख्नका साथै स्थानीयवासीलाई समेत सचेत गराइएको जिल्ला प्रशासनले जनाएको छ ।

नदी थुनिए नजिकै रहेको खेतीयोग्य जमीन, झोलुङ्गे पुल र साँफे मार्तडी सडकखण्डमा समेत असर पर्ने जनाइएको छ । नदी थुनिने खतरासँगै छिमेकी जिल्ला अछामको बुढाबगर, साँफेबगरमा पनि उच्च सर्तकता अपनाइएकाले त्यहाँका बासिन्दा पनि त्रास बनेको साँफेबाट तपेन्द्र कुँवरले जानकरी दिए ।रासस