काठमाडौँ – सिङ्गापुरमा आयोजना हुने आइसीसी टी-२० विश्वकप एशिया छनोट फाइनल खेल्ने जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ ।


ADVERTISEMENT


कप्तान पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिर्दै आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेश सिलवालले बिदाइ गरेका छन् ।


ADVERTISEMENT

# # #


नेपाली टोली आज दिउँसो १ बजे मलेसिया प्रस्थान गरेको हो । सिङ्गापुरमा आयोजना हुने उक्त आइसिसी टी-२० विश्वकप एशिया छनोट फाइनल प्रतियोगिता तयारीको लागि नेपाली टोली सिङ्गापुर जानुअघि मलेशिया गएको हो ।

मलेसियामा नेपालले घरेलु टोलीसँग दुई खेलको टी-२० सिरिज खेल्नेछ । नेपाल र मलेसियाबीचको सिरिज यही असार २८ र २९ गते हुनेछ । टी-२० सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिङ्गापुर जानेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले आफ्नो पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

त्यस्तै साउन ८ गते मलेसिया, ११ गते कुवेत र १२ गते सिङ्गापुरसँग खेल्नेछ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन् । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना हुँदैछ ।

यस्तो छ नेपाली टोली

पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
वसन्त रेग्मी
विनोद भण्डारी
दीपेन्द्रसिंह ऐरी
करण केसी
शरद भेषवाकर
ललितनारायण राजवंशी
अविनाश बोहरा
प्रदीप ऐरी
रोहितकुमार पौडेल
सन्दीप लामिछाने
पवन सर्राफ
सोमपाल कामी

वैकल्पिक

सुशन भारी
कुशल भुर्तेल
आरिफ शेख
जितेन्द्र मुखिया