काठमाडौं – पाँच पटकको विजेता अस्ट्रेलियालाई ८ विकेटले पराजित घरेलु टिम इंग्ल्यान्ड आइसिसी क्रिकेट विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ। इंग्ल्यान्ड सन् १९९२ पछि पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो।


ADVERTISEMENT


अब उपाधिका लागि इंग्ल्यान्डले न्युजिल्यान्डसँग आइतबार भिड्नेछ। गत संस्करणको उपविजेता न्युजिल्यान्डले बुधबार भारतलाई हराएको थियो।


ADVERTISEMENT

# # #


यससँगै क्रिकेट विश्वकपमा नयाँ विजेता बन्ने पक्का भएको छ। यसअघि इंग्ल्यान्ड तीन पटक फाइनलमा पुगेर उपाधिविहीन बनेको थियो।

न्युजिल्यान्डले गत संस्करणमा पहिलो उपाधि जित्ने मौका गुमाएको थियो।

२७ वर्षपछि फाइनलमा पुग्ने क्रममा इंग्ल्यान्डले बिहीबार बर्मिङघममा भएको खेलमा अस्ट्रेलियाले दिएको २२४ रनको सामान्य लक्ष्य २ विकेटको क्षतिमा ३२.१ ओभरमा पार गर्यो।

इंग्ल्यान्डका लागि ओपनर जासन रोएले सबैभन्दा बढी ८५ रन जोडे। उनले ६५ बलमा ९ चौका र ५ छक्का हिर्काए। जोनी बायस्टोले ३४ रन जोडे। उनले ४३ बलमा ५ चौका प्रहार गरे।

कप्तान इयान मोर्गानले नटआउट ४५ रन र जोए रुटले नटआउट ४९ रन जोडे। मोर्गानले ३९ बलमा ८ चौका प्रहार गरे। रुटले ४६ बलमा ८ चौका नै हिर्काए।

बलिङमा मिचेल स्टार्क र पाट कमिङ्ग्सले १-१ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाँच पटकको विश्व विजेता अस्ट्रेलिया ४९ ओभरमा २२३ रनमा अलआउट भयो।

अस्ट्रेलियाका लागि स्टेभिन स्मिथले ८५ रनको योगदान दिए। उनले ११९ बलमा ६ चौका हिर्काए। एलेक्स क्यारीले ४६ रन जोडे। उनले चिउँडोमा घाउँ भए पनि ब्याटिङ गरेको थिए। उनलाई इंग्ल्यान्डका जोफ्रा आर्चरको बाउन्सर बल लागेको थियो ।

बलिङमा इंग्ल्यान्डका क्रिस ओएक्स र अदिल रसिदले ३-३ विकेट लिए। जोफ्रा आर्चरले २ विकेट हात पारे भने मार्क उडले १ विकेट आफ्नो नाममा लेखाए।