काठमाडौं – दुई/तीन दिन देखिको लगातारको वर्षाले देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानका साथै सडक अवरुद्ध भएका समाचारहरू प्राप्त भएका छन् ।


ADVERTISEMENT


मौसमविदहरूले विहीबार र शुक्रबार देशभर विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना भएकाले बाढी पहिरोप्रति सजग रहन आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


कहाँ के भयो ?

यति एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लियो

यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । शुक्रबार नेपालगञ्जबाट आएको यतिको एटीआर जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार जहाजभित्र चालक दलका सदस्यसहित ७० जना थिए र सबै सकुशल रहेका छन् ।

काभ्रेमा सडक अवरुद्ध

काभ्रेका ग्रामीण भेगमा सञ्चालनमा रहेका सडकहरूमा आएको पहिरोका कारण अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगेका छन । जिल्ला सदरमुकाम जोडिएका सडक भन्दा माथि खनिएका नयाँ सडक ट्याक भत्किएर पहिरो जाँदा अधिकांश ग्रामीण सडकहरु अबरुद्ध भएको स्थानीयले बताएका छन ।

बेथानचोक गाउँपालिकाको ढुङर्खक–च्याम्राङबेशी–मिल्चेबोरङबेशी सडक एक हप्ता देखी अबरुद्ध भएको स्थानीयले बताएका छन । बेथानचोक गाउँपालिका वडा न १ का नबराज सापकोटाले निरन्तर चलिरहेको ढुङर्खक–च्याम्राङबेशी–मिल्चेबोरङबेशी सडक भन्दा माथि खनिएको नयाँ ट्याकका कारण आएको पहिरोका कारण सडक बन्द हुँदा स्थानीयको जनजीवन कष्टकर भएको बताए ।

त्यस्तै जिल्लाको महाभारत गाउँपालिकामा पनि यातायात सञ्चालन अवरुद्ध भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले जानकारी दिए । जिल्ला सदरमुकामसँग अझै सिधैँ सडक नजोडिएको उक्त गाउँपालिकामा सिन्धुली जिल्ला भएर जानुपर्ने बाध्यता रहेको छ ।

त्यस्तै तेमाल, रोशी, चौँरीदेउराली, भुम्लु गाउँपालिकामा वडा वडामा जाने सडकहरु अवरुद्ध भएका छन । असारे विकासका कारण खनिएका सडकहरु भत्किने गर्दा भएका पुराना सडकहरु पुनःबन्द हुन पुगेको स्थानीयको भनाई छ ।

मनाङको हुम्डे र ङावल जोड्ने पुल बग्यो

हिमाली जिल्ला मनाङको हुम्डे र ङावल जोड्न बनाइरहेको स्टील गर्डर ब्रिज मस्र्याङ्दी नदीमा खसेको छ ।मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्डे र ३ ङावल जोड्न मस्र्याङदी नदीमाथि मोटर हिँड्न मिल्ने पुल बनाउँदै गर्दा खसेको स्थानीयले बताएका छन् ।

स्टील जोड्ने कार्य अन्तिम चरणमा पुगेको उक्त पुल मस्र्याङ्दी नदीमा झुण्डिएको अवस्थामा रहेको मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाबहादुर गोदारले बताए । उनका अनुसार पुलको स्टील जोड्न नदीमै राखिएको टेको बुधबार दिउँसोतिर बाढीले बगाएपछि पुल खसेको हो ।

उदयपुरमा बरुवा नदीले बाँध भत्काउन थाल्यो

निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेको छ । बाँध भत्कन थालेपछि गाईघाट बजारलगायतका क्षेत्र जोखिममा परेका छन् ।

तीन दिनदेखि आएको निरन्तर वर्षाका कारण बरुवा नदीको बहावले पुराना बाँधको ढुङ्गा खस्न थालेपछि शिवालयटोल, साकेलाटोल र गाईघाट बजार क्षेत्र नै जोखिममा पर्न थालेको साकेलाटोलका राजकुमार राईले बताए ।