काठमाडौँ – सिंगापुरमा जारी टी-२० विश्वकप क्रिकेटको एशिया कप छनोटमा कतार र मलेसियाले दोस्रो हार ब्यहोरेका छन् । शुक्रबार भएका खेलमा कुवेतले कतारलाई र आयोजक सिंगापुरले मलेसियालाई पराजित गरेको हो ।


ADVERTISEMENT


१९८ रनको विशाल लक्ष्य दिएको कुवेतले कतारलाई १० रनले हराएको छ भने मलेसियालाई ९२ रनमै समेटेको सिंगापुरले ८ विकेटको जित निकालेको छ । मलेसिया र कतारको हारले नेपाललाई फाइदा पुर्याएको छ । नेपालले अब कुवेत र सिंगापुरसंग खेल्न बाँकी छ ।


ADVERTISEMENT

# # #


यता प्रतियोगितामा नेपालसंग खेल्नुअघि कुवेतले पहिलो जित हात पारेको छ । यस्तै नेपाललाई हराएको कतारले दोस्रो हार ब्यहोरेसंगै लगभग प्रतियोगिताको विजेता बन्ने लक्ष्य टुंगिएको छ ।

कतारले दुई खेलमा एक जितसहित २ अंक जोडेको थियो । यदि आज जितेको भए उसको ४ अंक हुनेथियो र मलेसियालाई जिते ६ अंक हुने थियो । २ खेलमा एक जित र एक हारसहित २ अंक बटुलेको नेपालले पनि आफ्ना बाँकी दुई खेल जितेमा समान ६ अंक हुनेथियो । यस्तो अवस्थामा रनरेट राम्रो हुने टिम अगाडि जान्थ्यो ।

यता कतारको जस्तै दुई खेलमा १ जितसहित रनरेटका आधारमा अंक तालिकाको दोस्रो स्थानमा रहेको मलेसियाले सिंगापुरसंग हारसंगै उसको पनि प्रतियोगितामा उपाधीमाथिको दाबी लगभग समाप्त भएको छ । यदि सिंगापुरमाथि जित हात पारेको भए उसको ३ खेलमा दुई जित सहित ४ अंक हुने थियो र बाँकी रहेको कतारसंगको खेलमा पनि जित निकाले मलेसियाको पनि ६ अंक हुने थियो । यो अवस्थामा पनि नेपालले ६ अंक पुर्याए पनि रन रेटका आधारमा विजेता टुंगो लाग्ने थियो । तर आजको पराजयसंगै दुबै टोली बाहिरिएका छन् भने नेपाललाई ठूलो राहत मिलेको छ ।

अब कसरी छनोट हुन्छ नेपाल ?

यद्दपी नेपाल सुरक्षित भने छैन । ग्लोबल छनोटमा पुग्नका लागि शनिबार कुवेतसंग र आइतबार सिंगापुरसंग हुने खेलमा नेपालले जित्नै पर्नेछ । बाँकी दुई खेल जितेमा नेपालको ४ खेलमा ३ जितका साथ ६ अंक हुनेछ । यता सिंगापुरले हारेमा उसको ४ खेलमा एक हार र एक बराबरीसहित ५ अंक हुनेछ । यस्तै शनिबार हुने मलेसिया र कतारबीचको खेलको विजेता टोलीको चार खेलमा दुई जितसहित ४ अंक हुनेछ भने हार्ने टोलीको चार खेलमा १ जितसहित २ अंक हुनेछ ।

यता कुवेतले शनिबार नेपालसंग हारेमा उसको ४ खेलमा १ जित र १ बराबरीसहित ३ अंक हुनेछ । प्रयोगिताको शीर्ष स्थानमा रहने टोली मात्रै ग्लोबल छनोटमा पुग्ने भएकाले यस्ते अवस्थामा नेपाल विजेता बनेर युएईमा हुने विश्वकप छनोटको यात्रा तय गर्नेछ । तर, बाँकी दुई खेलमध्ये एउटामात्र खेल हारेमा वा बराबरी भएमा पनि नेपालको सम्भावना पनि समाप्त हुनेछ ।

सिंगापुरको ३ खेलमा २ जित र एक बराबरीसहित ५ अंक भएकाले नेपालको कुनै एक खेल मात्रै तलमाथि भयो भने पनि सिंगापुर अगाडि बढ्नेछ । यस कारण नेपालका अघि दुई खेलमा जितबाहेक अर्को विकल्प छैन । चाहे एक विकेट वा एक रनकै किन नहोस् ।