काठमाडौँ – सिंगापुरमा जारी टी–२० विश्वकप क्रिकेटको एशिया कप छनोटमा नेपालले शनिबार कुवेतसंग प्रतिस्पर्धा गर्दैछ । दुई खेलमध्ये एकमा हार र अर्कोमा जित हात पारेको नेपाल प्रतियोगिताको उपाधी जित्नका लागि शनिबार कुवेतलाई हराउनै पर्ने दबाब रहेको छ ।


ADVERTISEMENT


प्रतियोगिताको विजेता सन् २०२० मा अष्ट्रेलियामा हुने टी २० विश्वकपका लागि युएईमा हुने ग्लोबल छनोटका लागि छानिनेछ । जारी प्रतियोगितामा सिंगापुर ३ खेलमा दुई जित र एक बराबरीसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । यस्तै कुवेत समान ३ खेलमा एक जित, एक हार र एक बराबरी गरेर ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।


ADVERTISEMENT

# # #


यस्तै नेपाल दुई खेलमा एक जित र एक हारसहित २ अंकका साथ तेस्रो स्थानमा रहेको छ । अब नेपालले कुवेत र सिंगापुरसंग गरी दुई खेल खेल्न बाँकी छ । दुबै खेलमा जित हात पारेमा नेपाल विजेता बन्दै ग्लोबल छनोटमा पुग्ने छ । यदि दुईमध्ये कुनै एक खेल हारेमा वा बराबरी मात्रै भएपनि नेपालको सम्भावना सकिनेछ ।

प्रतियोगिताबाट सिंगापुरको इण्डियन एशोसिसन मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ । ५ टिम सहभागी प्रतियोगिताबाट मलेसिया र कतार बाहिरिसकेका छन् भने नेपालसहित सिंगापुर र कुवेत उपाधी होडमा रहेका छन् ।

पारस फिट, कुवेतविरुद्ध खेल्ने

ढाडको समस्याका कारण टिम बाहिरि रहेका कप्तान पारस खड्का फिट भएका छन् । पहिलो खेलमा कतार विरुद्ध पहिले ब्याटिङ गर्दा नै घाइते भएका पारसले दोस्रो इनिङमा फिल्डिङ गर्न सकेका थिएनन् । उक्त दोस्रो इनिङ ज्ञानेन्द्र मल्लले कप्तान गरेका थिए । नेपालले कतारसंग अप्रत्यासित हार ब्यहोरेको थियो ।

यस्तै दोस्रो खेलमा मलेसियाविरुद्ध पनि पारस फिट हुन सकेनन् । पारस खेल्न नसकेपछि ज्ञानेन्द्र मल्लले कप्तानी गरेका थिए । नेपालले उक्त खेलमा मलेसियालाई ७ विकेटले हराएको थियो । तर, पारस कुवेतविरुद्ध भने मैदानमा उत्रिनेछन् । उनी पूर्णतः फिट भइसकेका छन् ।