हेटौँडा – मकवानपुरगढी गाउँपालिका–७ स्थित चेतनशील महिला समूहले जुवातास, क्यारेमबोर्ड र ढ्याकर खेल्ने खेलाउनेलाई कारवाहीको निर्णय गरेका छन् । उनीहरुले जुवातास खेल्ने र खेलाउनेलाई रु ५० हजार जरिवानाको व्यवस्था गरेका छन् ।


ADVERTISEMENT


क्यारेमबोर्ड र ढ्याकर खेल्ने, खेलाउनेलाई रु २० हजार जरिवाना गरिने समूहका अध्यक्ष ज्ञानीमाया मोक्तानले बताए । सो नियम वडा नं– ७ का सुकौरा, अम्बोटे, स्कुलटोल, न्यौपानेटार र पाङ्टोलमा लागू हुनेछ । समूहले जारी गरेको सार्वजनिक सूचना अनुसार जुवातास र मादक पदार्थ सेवनबाट समाजमा विकृति फैलिएको तथा महिला हिंसाका घटना हुने भएकाले समूहले पहल गरेको हो ।


ADVERTISEMENT

# # #


मकवानपुरगढी गाउँपालिकाले ५१ जनाभन्दा बढी जन्ती लैजान नपाउने ऐनमा व्यवस्था गरेको छ । गाउँपालिकाले सामाजिक व्यवहार ऐन २०७५, गाउँसभाबाट पास गरी गाउँपालिकाभित्र ऐन लागू गर्न कदम चालेको छ । विद्यालयका प्रधानाध्यापक, टोलविकास समितिका अध्यक्ष, सञ्चारकर्मी, सहकारी सङ्घ संस्थाका प्रतिनिधि, विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधिलगायत राखेर ऐनबारे छलफल गरिएको वडा नं ५ का वडाध्यक्ष जीतबहादुर घिमिरेले बताए ।

चौथो गाउँसभाबाट पारित गरी गाउँपालिकाभित्र लागू गर्नेगरी ऐन तयार पारेर कार्यान्वयनतर्फ लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम परियारले जानकारी दिए । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंका अनुसार बालविवाह, महिला हिंसा, बलात्कारलगायत घटनालाई अन्त्य गर्न सो ऐन ल्याइएको हो । भदौदेखि ऐन सबै वडामा लागू हुनेछ ।

गाउँपालिकाले जारी गरेको ऐनमा विवाहमा दाइजो लिन दिन नपाइने, विवाह समारोहमा सहभागी हुँदा रु एक हजारभन्दा बढीको जिन्सी वा नगद लिनुदिनु नहुने उल्लेख छ । जुनसुकै कामका लागि महिला र पुरुषलाई ज्याला समान दिनुपर्ने व्यवस्था गरिएको छ । यस्तै मनहरि गाउँपालिकाले समेत सामाजिक व्यवहार सुधार ऐन जारी गरेको छ । रासस