काठमाडौं – नेपालले आगामी अक्टोबरमा पाँच देशको सहभागिता रहने टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ । ओमान क्रिकेट संघको आयोजनामा हुने उक्त सिरिजमा आयोजक ओमानसँगै आयरल्यान्ड, नेदरल्यान्ड र हङकङ छन् । त्यस्तै, नेपालले पनि खेल्ने टुंगो लागेमा पाँच राष्ट्र हुनेछन् ।


ADVERTISEMENT


अक्टोबरमै युएईमा हुने विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै ओमान क्रिकेटले टी–२० सिरिजको आयोजना गर्न लागेको हो । ग्लोबल छनोट खेल्ने टिमलाई समेटेर प्रतियोगिता आयोजना गर्ने ओमानको योजना नेपालले एशिया फाइनल छनोट खेल्नुअगावै बनेको थियो । तर, नेपाल भने ग्लोबल छनोटमै पुग्न असफल भएपछि केही असहज बनेपनि नेपालले खेल्ने सम्भावना उच्च रहेको छ ।


ADVERTISEMENT

# # #


तर, नेपाल क्रिकेट संघ निलम्बनमा रहेकाले नेपाली क्रिकेटको सम्पूर्ण काम अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नै हेर्दै आएको छ । त्यसैले प्रतियोगितामा नेपाललाई खेल्न अनुमति दिने वा नदिने आइसीसीको हातमा छ । नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन शिवाकोटीका अनुसार आइसीसीसंग प्रतियोगिता खेल्नका लागि अनुमतिको प्रयास भइरहेको छ ।

गत साता सिंगापुरमा सम्पन्न एशिया छनोटमा नेपालले कतार र सिंगापुरसंग पराजित भएसंगै ग्लोबल छनोटमा पुग्न असफल भएको थियो । सिंगापुर पहिलो पटक टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको छ ।