कावासोती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा २४ घण्टादेखि राजमार्ग अवरुद्ध रहेको छ । अरुणखोला पुल भाँचिएपछि यातायात सञ्चालनका लागि बनाइएको ‘डाइभर्शन’ आइतबार साँझ बाढीले बगाएकाले राजमार्ग अवरुद्ध भएको हो । अहिले पनि खोलामा पानीको मात्र बढिरहेकाले ‘डाइभर्शन’ मर्मतको काम प्रभावित भएको छ ।


ADVERTISEMENT


यातायात अवरुद्ध हुँदा राजमार्गमा सवारी साधनको लामो लाइन भएको छ । चौबिस घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ । डाइभर्शन निर्माण गरी यातायात सहज हुन अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । पानीका कारण मर्मतमा समस्या हुँदा यातायात सञ्चालन कतिबेला हुने हो अनिश्चित जस्तै बनेको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


डाइभर्शन निर्माण भए पनि रोकिएका यातायात वारपार गराउन घण्टौँ समय लाग्ने प्रहरी निरीक्षक अधिकारीले बताए । उनले नारायणगढ–बुटवल खण्ड भएर यात्रा गर्ने यातायातलाई वैकल्पिक बाटो भएर यात्रा गर्नका लागि अनुरोध गरेका छन् ।

उनका अनुसार काठमाडौँबाट छुटेका यातायातलाई मुग्लिङ्ग–पोखरा–स्याङ्जा हुँदै बुटवलतर्फ जान र बुटवलबाट पूर्वका लागि छुट्ने सवारीलाई समेत पोखरा हुँदै जानका लागि सम्बन्धित जिल्लाका प्रहरीमार्फत समेत खबर गरिएको छ ।

यस्तै २४ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा झण्डै १० किलोमिटर दुवैतर्फ सवारीको लाम लागेको छ । प्रहरीले राजमार्ग अवरुद्ध भएको स्थानमा सवारीको धेरै लाम लाग्ने हुँदा पूर्वबाट आउने यातायातलाई कावासोती र पश्चितर्फबाट आउने यातायातलाई बर्दघाटतर्फ नै रोकिराखेको छ ।

डाइभर्शन मर्मत गरी आजै सवारी सञ्चालन गर्न सक्ने सम्भावना कम रहेको छ । पानीको सतह कम हुँदा केही हलुका सवारी खोलाबाटै आवतजावत गर्ने गरेका छन् । गत साउन २९ गते बुधबार पुलमा ट्रक ठोक्किएर भाँचिदा यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको छ ।