काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभजन प्रस्तोता रवि लामिछाने आज पनि हिरासतमै रहने भएका छन् । बयान नसकिएपछि जिल्ला अदालत चितवनले रवि लामिछानेलाई हिरासतमा पठाएको हो ।


ADVERTISEMENT


चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।


ADVERTISEMENT

# # #


आइतबार रुकुको बयान भएको छ । तर लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको छ । भोलि १० बजेबाट पुनः बयान सुरु हुने जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीले बताए ।

तीनै जनाको बयान सकिएपछि उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ ।

माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । घटना हुनुअघि उनले पत्रकार रवी लामिछाने, उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीको नाम लिएर आफूलाई यो अवस्थामा पुर्‍याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो फेला परेको थियो ।

त्यही भिडियोलाई आधार मानेर लामिछानेसहित तीनै जना अघिल्लो विहीबारदेखि प्रहरी हिरासतमा रहेका छन् ।