गरिमा विकास बैँकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द ढकालसंग बैँकको विविध विषयमा गरिएको कुराकानी :


ADVERTISEMENT


गरिमा विकास बैँकले छोटो समयमै आफ्नो पहिचान स्थापना गर्न सफल भएको छ । बैँकले आफ्नो पछिल्लो गतिलाई कसरी अगाडि बढाइरहेको छ ।


ADVERTISEMENT

# # #


हामी ११ वर्ष पार गरेर १२ वर्षमा हिँडिरहेका छौँ । एउटा ग्रामिण जिल्लामा स्थापना भएर पनि यो समयमा एउटा स्थानमा पुग्नु राम्रो कुरा हो । स्याङ्गजामा स्थापना भएर पोखरा हुँदै हामी काठमाडौँ आएको झण्डै तीन वर्ष भयो । हामीसंग व्यापारमात्रै छैन, त्यसमा गुणस्तर पनि छ । अन्य वित्तीय संस्थाले गर्ने सेवाको हिसाबमा हामी अगाडि नै छौँ । आजका मितिसम्म हामीले ८० वटा शाखा सञ्चालन गरिसकेका छौँ । हामीसंग झण्डै ८ सय जना कर्मचारी कार्यरत छन् भने २ अर्ब ८० करोड हामीसंग अहिले पूँजी छ । गत आर्थिक वर्षमा ३३ अर्ब हामीले निक्षेप संकलन गर्यौँ भने २८ अर्ब ६० करोडजति हाम्रो लगानीमा रहेको रकम छ । साधारण सभाका लागि नेपाल राष्ट्र बैँकमा हामीले फाइल पनि पेस गरिसकेका छौँ । शेयर धनीलाई १८ प्रतिशत बोनस दिनेगरी हाम्रो कमाई भएको छ ।

एउटा गुणस्तरको व्यापार गरेकोमा हामी सन्तुष्ट छौँ । गत वर्ष हामीले शाखा विस्तारलाई जोड दियौँ । अब झण्डै ५-१० शाखा आउने सम्भावना छ । यो वर्ष हामीले विशेषगरी व्यापारलाई जोड्ने गरी एउटा योजना बनाएका छौँ । स्थापनादेखि आजसम्म हाम्रो वृद्धिदर ५० प्रतिशत रहेको छ । हामीले ग्रामिण क्षेत्रलाई अहिले बढी फोकस गरेका छौँ । जहाँ बैँक पुगेपनि बैकिङ्ग सेवामा अधिकांश मानिस आइसकेका छैनन् । ती संख्यालाई पनि समेट्नका लागि हामीले योजना बनाइरहेका छौँ ।

विकास बैँक भन्ने बित्तिकै मानिसले गरिमा सम्झिन्छन् । यो सफलताको राज के हो ?

सबैभन्दा महत्वूर्ण कुरा हाम्रो सेवा नै हो । हामीले हाम्रा कर्मचारीलाई राम्रोसंग ट्रनिङ दिएका छौँ । जसले गर्दा कर्मचारीहरु एक भएर सेवामा उत्कृष्टता दिइरहेका छन् । अहिले बैँक तथा वित्तीय संस्थामा कर्मचारीको २०-३० प्रतिशत ‘टर्न ओभर’ छ । सबैभन्दा कम ‘टर्न ओभर’ भएको वित्तीय संस्था भनेकै गरिमा विकास बैँक हो । जुन हाम्रो ३ प्रतिशत पनि छैन । कर्मचारी आवद्ध भइसेकपछि उनीहरुलाई सेवा सुविधा पुग्ने हिसाबले दिनुपर्छ । यहाँ काम गरिसकेपछि आफ्ना सामान्य आवश्यकताहरु परिपूर्ती गर्न बाहिर जानु नपरोस् भन्ने हिसाबले कामको जिम्मेवारीका हिसाबले तल्लोक्रमका कर्मचारीलाई सबैभन्दा राम्रो तलब सुविधा छ । त्यो हिसाबले कर्मचारीहरु खुसी छन् । जसले सेवाको गुणस्तर बढाउने हो । अर्को कुरा, बोर्डले कुनैपनि हस्तक्षेप नगरी हामीलाई स्वतन्त्र रुपले काम गर्न दिएको छ । यसले गर्दा पनि गरिमाले फरक किसिमको परिणाम र गरिमा दिएको हो ।

अरु विकास बैँक भन्दा गरिमा विकास बैँक कुन कुराले फरक छ  ?

कमर्सियल बैँक, विकास बैँक वा फाइनान्स जे भन्नुहोस्, सबैको काम लगभग एउटै हो । तर, फरक के कुरामा छ भने कुनैपनि कमर्सियल बैँकले प्रयोग गरेको प्रविधि हामीले प्रयोग गरेका छौँ । भिजा कार्डको लागि होस् वा मोबाइल बैंकिङ्गको लागि वा अन्य सुविधानका लागि हामीसंग आएका प्रत्येक ग्राहकलाई गरिमा विकास बैँकले ती सुविधा उपलब्ध गराएको छ । अर्को कुरा हामीले हाम्रो ग्राहकसंग पारिवारिक वातावरणमा सेवा दिनुपर्छ भनेर धेरै प्रशिक्षण आयोजना गरेका छौँ । त्यही अनुसार हामीले आफ्ना काम अगाडि बढाएका कारणले यहाँसम्म पुगेका हौँ । पूराना ग्राहकलाई हामीले संकटको अवस्थामा पनि ब्याजदरमा वृद्धि गरेनौँ । ग्राहकसंगको प्रतिवद्धतालाई तलमाथि गर्नु हुँदैन भनेर हामी अगाडि बढ्यौँ । गरिमाका शाखाहरुमा छिरेपछि ग्राहकले नकारात्मक अनुभव लिएर फर्किँनुपर्दैन । यही कारणले नै आकर्षण बढेको हो जस्तो लाग्छ ।

आज देशमा दर्जनौँ कमर्सियल बैँक र अन्य वित्तीय संस्था छन् । यो अवस्थामा विकास बैँक नेपालमा केका लागि ? यसको महत्व के हो ?

नेपालमा वाणिज्य बैँकको सुरुवात नेपालमा वि.सं १९९४ सालदेखि भयो । प्रजातन्त्र आइसकेपछि नेपालमा प्रशस्त मात्रामा वाणिज्य बैँकहरु स्थापना भए । त्यती हुँदा पनि बैकिङ्ग क्षेत्र २५ देखि ३० प्रतिशतमा मात्रै सीमित थियो । तर, ६३/६४ को आन्दोलनपछि तत्कालीन कानुनमा रहेर नेपालमा प्रशस्त विकास बैँकहरु सञ्चालनमा आए । अहिले बाध्यकारी नीति नियम भएर कमर्सियल बैँक गाउँमा गएका छन् भने कति व्यापार गर्न पनि गएका छन् । तर, विकास बैँकले गाउँगाउँमा गएर बैकिङ्ग क्षेत्रभन्दा बाहिर रहेका समुदायलाई बैँकिङ्ग सेवामा जोड्न महत्वपूर्ण भूमिका खेलेका छन् । साहुमहाजनसंग होइन, बैकिङ्ग कारोबार गर्नुपर्छ भनेर सिकाउने नै विकास बैँक हुन् । त्यसकारण विकास बैँकमा ग्राहक सजिल्यै छिर्छन भने वाणिज्य बैँकमा अहिले पनि हिच्किचाउने अवस्था छ ।

विकास बैँकले सबैलाई कर्जा प्रवाह गर्छ भन्ने कुरा एउटा हो भने अर्को, कमर्सियल बैँकको भन्दा विकास बैँकको बचतमा ब्याजदर सँधै बढी भयो । म रिस्क नलिई मेरो पैसा मुद्धतीमा राख्छु भन्यो भने उसले बाँच्न त पाउनुपर्यो । त्यस्ता मान्छेलाई पनि विकास बैँकले साथ दिए । कर्जामा पनि हामीले सहुलियत गरेको छौँ । यसले पनि आम मानिसले विकास बैँक रोजेका छन् । त्यसकारण पनि काठमाडौँ बाहेकका सहरमा विकास बैँकको उपस्थिति कमर्सियलको भन्दा बढी छ । यस हिसाबले हेर्दा नेपालमा अब कुनै विकास बैँक डुब्ने अवस्था छैन ।

अन्त्यमा, आफ्नो कार्यकालभरि यो बैँकलाई कुन स्तरसम्म पुर्याउने योजना बनाउनु भएको छ ? त्यसका लागि आफ्ना ग्राहक, स्टाफ, बोर्डलाई के भन्नुहुन्छ ?

बैँकलाई अगाडि बढाउन एउटा सीइओको मात्रै भूमिका हुँदैन । सीइओको भिजनलाई बोर्डले पनि सहयोग गर्नुपर्छ, कर्मचारीको साथ चाहिन्छ । गरिमा विकास बैँकका कर्मचारीहरुमा ‘चेन अफ कमाण्ड’ र अनुशासनमा प्रश्न उठाउने ठाउँ नै छैन । स्थापना भएको ६ महिनापछि मैँले यो बैँक सम्हालेको हो । म आउँदा ३ वटा शाखा थिए । आज झण्डै १०० शाखा पुग्न लागेको स्थिति छ । आजभन्दा चार पाँच वर्षअघि अन्तर्वार्ता दिँदैगर्दा मैँले गरिमा विकास बैँकलाई एउटा राष्ट्रिय स्तरको शसक्त विकास बैँक बनाउँछु भनेर भनेको थिएँ । त्यो पूरा भएको छ ।

अब मेरो चाहना के छ भने हामी अहिले जुन गुणस्तरमा गएका छौँ, त्यसमा प्रश्न गर्ने ठाउँ नै छैन । गरिमा विकास बैँकलाई अबको पाँच वर्षभित्र एउटा कमर्सियल बैँकको रुपमा खडा गर्ने हाम्रो बोर्डको पनि सोचाई छ भने मेरो पनि त्यही सोचाई छ । यो तीन वर्षभित्र व्यापारलाई ठूलो साइजमा लैजाने, पूँजी बढाउँदै लैजाने हो । नेपाल सरकार र राष्ट्र बैँकका नीति लगायतका बाह्य परिस्थितले फरक पारेमा बेग्लै कुरा हो नत्र अन्तिम लक्ष्य गरिमा बैँक बनाउने  हो । त्यसै अनुसार हामीले प्रविधिलाई परिवर्तन गरेका छौँ । सफ्टवेयर परिवर्तन गर्दैछौँ, आइटीमा ठूलो खर्च गरेका छौँ ।