– गगन थापा


ADVERTISEMENT


प्रधानमन्त्रीज्यू अहिले उपचारका लागि सिंगापुरमा हुनुहुन्छ । नेपाली कांग्रेस उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । हामीले अथक प्रयास गरेर संसदबाट केही समय अघि एउटा कानुन पारित गर्‍यौँ, कुनै व्यक्तिलाई विदेशमा उपचार गराउनु पर्यो भने उसको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध हुनेछैन । यो कानुनको पालना गर्नुभएकोमा प्रधानमन्त्रीप्रति हार्दिक आभार प्रकट गर्दछु ।


ADVERTISEMENT

# # #


नागरिकको यस विषयका अन्य चासोहरुलाई प्रधानमन्त्रीले उपयुक्त समयमा बताउने कुरामा म विश्वस्त छु ।  प्रधानमन्त्रीको उपचारको बारेमा यर्थाथ जानकारी सरकारले संसदलाई गराएको छैन । जनताले आफ्ना प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा जान्न पाउनुपर्छ । प्रधानमन्त्रीको निजी चिकित्सकलाई उद्धृत गरेर छापाहरुमा आएको सीमित सूचनाको आधारमा यो अनुमान लगाउन सकिन्छ कि प्रधानमन्त्रीको स्वास्थ्य सुधारन्मुख छ । हामी चाहन्छौँ पूर्ण सुधार होस् ।

मिर्गौला प्रत्यारोपण गराउनु भएका प्रधानमन्त्रीको इच्छाशक्ति, क्रियाशीलता, योग्यता, संसारका लागि नमूना बनोस् । तर केही चिकित्सकहरुले संकेत गर्नुभएजस्तो प्रधानमन्त्रीलाई अहिलेको जस्तो उपचार अर्थात् पटकपटक विदेशमा गएर केही समय विश्राम गरेर उपचार गनुपर्ने भयो भने चाही के गर्ने ? संविधानको धारा ७५ अनुसार नेपालको कार्यकारिणी अधिकार मन्त्रीपरिषद्मा नीहित छ र मन्त्रीपरिषद्को प्रमुख प्रधानमन्त्री हुनुहुन्छ । संसदीय पद्धतीमा संसदको कामको सिर्जना पनि प्रधानमन्त्रीबाटै हुन्छ । प्रधानमन्त्री ‘सेरिमानियल पोजिसन’ होइन । ‘डे टु टे’ जिम्मेवारी प्रधानमन्त्रीले निर्वाह गर्नुपर्छ ।

पछिल्ला दिनमा प्रधानमन्त्रीको कार्यक्षेत्र बढाइएको छ । हाम्रो प्रधानमन्त्रीज्यूले यी सबै कुराको इच्छाशक्ति राख्नुहुन्छ भन्ने कुरामा दुई मत छैन । तर, इच्छाशक्ति मात्रै सबै कुरा होइन । शारीरिक स्वास्थ्यले पनि धेरै कुरा निर्धारण गर्छ । प्रधानमन्त्री राष्ट्रिय सुरक्षा, अखण्डता, सावैभौम सत्ताको रक्षामा अग्रजिम्मेवारीमा हुनुहुन्छ । कार्यकारी प्रमुख एकैपटक लामो समय समयसम्म देश बाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा, कुटनीतिक मर्यादा आदिमा जोखिमको प्रश्न त छँदैछ । प्रत्येक दुई तीन महिनामा १०-१२ दिन विदेश गएर टेलिप्रिजेन्समार्फतबाट मन्त्रीहरुको ब्रिफिङ लिएर देश चलाउने कुराबाट शासकीय जिम्मेवारी पूरा हुन सक्दैन ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था भएको भए फेरि निर्वाचनमा जानुपर्ने अवस्था आउँछ भनेर कष्ट दिएर भए पनि प्रधानमन्त्रीको निरन्तरताको अपेक्षा राख्ने कुरा स्वभाविक हुन्थ्यो । तर यस्तो अवस्था छैन । यहाँ नेपाल कम्यूनिस्ट पार्टीको बहुमत छ । सजिल्यै संसदले नयाँ प्रधानमन्त्री छान्न सक्छ । एसेएक प्रधानमन्त्री हुनुभएको व्यक्तिहरु यो पार्टीमा हुनुहुन्छ ।

प्रधानमन्त्री हुने इच्छा राख्ने व्यक्तिहरु यो ठाउँमा हुनुहुन्छ । यस्तो बेलामा हामी उहाँलाई विश्राम दिन किन चाहिरहेका छैनौँ ? मैँले धेरै पटक नेपाल कम्युनिस्ट पार्टीका युवा सांसदहरुले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गरेको सुनेको छु । उहाँ हाम्रो पनि बा सरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौँ ? बा ! धपेडी नगर्नुहोस्, बा ! आराम गर्नुहोस् । बा ! विश्राम लिनुहोस् । हामी हाम्रो बालाई त्यसो भन्छौँ । तर हामी प्रधानमन्त्री ‘बा’लाई यसो भन्न किन सक्दैनौँ ?

यो म कसैलाई मात्रै भनिरहेको छैन । यो गल्ती हिजो हामीले पनि गर्‍यौँ । यो अन्याय हिजो हामीले पनि गर्‍यौँ र सबैभन्दा बढी नजिक बस्ने मान्छेले अन्याय गर्‍यो । यो अन्याय तपाईहरु नगर्नुहोस् । यो गल्ती तपाईंहरु नदोहोर्‍याउनुहोस् । प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुहोस् । किनकी नेपालको आन्दोलनमा त्यत्रो ठूलो योगदान पुर्‍याउनु भएको, नेपालको शान्ति प्रक्रियामा यत्रो ठूलो योगदान पुर्‍याउनु भएको, यत्रो ठूलो राष्ट्रिय जिम्मेवारी निर्वाह गर्नुभएको । यतिमात्र होइन, स्वाभिमानको लडाईंमा एउटा अथक योद्धाको रुपमा काम गर्नुभएको प्रधानमन्त्री हामी लामो समयसम्म हाम्रो बीचमा अभिभावकको रुपमा देख्न चाहन्छौँ ।

तर, यो कुरा त्यतिखेर मात्रै सम्भव छ, शरीर सबैको शरीर हो । मन पनि सबैको मन हो । प्रधानमन्त्रीको मनको इच्छाशक्तिको म प्रसंशा गर्छु । म फेरि पनि कामना गर्छु, त्यहाँबाट फर्केर आइसकेपछि सम्मानीय प्रधानमन्त्रीले यस रोष्ट्रममा उभिएर हामीलाई बताइदिने अवस्था बनोस्, हामी सबै प्राथना गर्छौँ, कामना गर्छौँ कि म लगातार विश्राम नलिइ काम गर्ने अवस्थामा छु । म आवश्यकता पर्दै गर्दा २४/७ भएर काम गर्न सक्छु भनेर भन्नुहोस् भन्ने प्राथना गर्छु ।

तर, यस्तो अवस्था आउँदैन भने म सबैलाई आग्रह गर्न चाहन्छु, यो कुरा सुन्दै गर्दा कतिपयलाई रिस उठ्ला । तर, यो कुनै व्यक्तिगत कुरा होइन । यो देशको कुरा पनि हो । देशभन्दा पहिला यो मानवियताको कुरा पनि हो । हामी प्रधानमन्त्री एउटा मान्छे हुनुहुन्छ भन्ने कुरालाई नबिर्सौँ ।

(नेपाली कांग्रेसका सांसद थापाले  बुधबार प्रतिनिधिसभाको विशेष समयमा राखेको धारणामा आधारित)